७ असार २०८१, शुक्रबार

प्रत्येक वर्ष सभ्य बन्दै फागु पूर्णिमा वा होली पर्व


कोरोना महामारीले देशभर यो वर्ष होलीको रौनक कम

काठमाडौँ । फाल्गुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा (होली) पर्व राजधानीलगायत हिमाली र पहाडी जिल्लामा प्रत्येक वर्ष क्रमश : सभ्य रुपमा मनाउन थालिएको छ । केही वर्षअघिसम्म फागु पूर्णिमा (होली) मा मानिसको इच्छाविपरीत रङ दल्ने पानीका लोला हान्ने गरिन्थ्यो ।

तीन चार वर्ष त्यस्तो काम रोकिएको छ । केही वर्षदेखि नै फागु पूर्णिमामा तडकभडक रोकिँदै आएको थियो । गत वर्षदेखि नै नेपाल कोरोनाको उच्च जोजिममा रहेकाले प्रशासनले शान्त रुपमा पर्व मनाउन आह्वान गरेको थियो ।

पर्वका अवसरमा आज फागु खेल्ने प्रायः बालबालिका भेटिए । बालबालिकाले पनि विगतमा जस्तो सडकमा हिँड्ने मानिसलाई रङ दल्ने र पानीका लोला हान्ने गरेनन् । गाडी रिजर्भ गरेर होली खेल्दै हिँड्ने मानिसको भीड नगन्य देखियो । गौशाला चोकमा फागु पर्व मनाइरहेका युवा सुरेश नेपाल चिनजानका साथीभाइबीच मात्र पर्व मनाउने सडकमा सवारी र पैदल यात्रा गर्नेलाई केही नगरेको बताए ।

चिसो कायमै रहेका कारण पानी छ्याप्दा कोरोनाका जीवाणुले असर गर्न सक्ने भएकाले पनि आम मानिस गत वर्षदेखि नै फागु खेल्न सचेत भएका देखिन्छन् । उपत्यकामा वायु प्रदूषण बढेकाले पनि धेरै मानिस घर बाहिर निस्किएनन् । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देशका रुपमा फागु मनाउने गरिएको हो ।

विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिक रुपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागु पर्वकै दिन पनि सहज रुपमा हिँडडुल गर्न सकेको वीर अस्पतालमा बिरामी भेटेर फर्कनुभएकी सानु चालिसेले बताए ।

यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।

फाल्गुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मयलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु भएको थियो । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु