नेपालको विकासमा कसैको ध्यान नपुग्नु दुर्भाग्य Nepalpatra नेपालको विकासमा कसैको ध्यान नपुग्नु दुर्भाग्य
२ बैशाख २०७८, बिहिबार

नेपालको विकासमा कसैको ध्यान नपुग्नु दुर्भाग्य


वर्तमान अवस्थालाई नियालेर हेर्दा नेपालको विकासमा कुनैपनि राजनीति पार्टीको ध्यान नपुगेको देखिन्छ । हरेक नेपालीको चाहना भनेको देशको विकास हो र युवा स्वरोजगार हो । हिजो राजसंस्थाका पालामा कामदार विदेशबाट झिकाएर काग गराउने प्रचलन थियो तर अहिले नेपाली विदेशमा गएर काम गरेको देखिन्छ ।

अहिले नेपालको अवस्था हात थापेर कामचलाउने गरेको पाइन्छ । देशको विकासमा धर्म संस्कृतिको हात बढी हुन्छ । तर आफ्नो धर्म संस्कृति त्याग्दै पैसाका लागि परधर्म र जस्तोसुकै सम्झौता गर्न नेतृत्वपछि नपर्ने आफ्नो दुनो सोझाउन लागेको अनुभव वर्तमान अवस्थाले देखाएको छ ।

देश र जनताको भावनालाई कुल्चेर जुन काम यहाँ हुदैछ यसले नत देशको भलो हुन्छ नत जनताको नै यदि हुन्छ भने दाता राष्ट्रको हुने निश्चित छ । आज हरेक नेपाली विदेशी सामान खरिद गर्न बाध्य भएको अवस्था छ । देश उत्पादनमुखी भन्दा परनिर्भरमुखी बन्दै जानु दु:खद हो भन्दा खासै फरक छैन ।

आज छिमेकीले आफ्नो व्यवसाय नेपालमा फैलाउदै गएका छन् । नेपाली उत्पादन धरासायी अवस्थामा पुग्दैछ । जसरी औषधि कम्पनीले आज देशको आवश्यकतालाई विदेशी मेटिरियल ल्याएर भएपनि युवालाई रोजगार दिन सक्षम भएका छन् त्यसरी नै अन्य व्यवसायलाई पनि चाहेमा गर्दै जान सक्छौं तर यता कसैको ध्यान पुग्न सकेको छैन ।

नेपालीको पसिना डलर बनेर विदेशमा जादैछ । हिजो राजसंस्थाले सीमित करबाट देशमा उद्योग स्थापना गर्दै आफ्नो व्यापार देश तथा विदेशमा फैलाउदै गएका थिए तर अहिले प्रतिसोधमा भएका सवै उद्योग समाप्त पार्दै सिङ्गो राष्ट्रलाई नै परनिर्भरमा राख्दै गए । परिवर्तनको नाममा भएका सवै उद्योग समाप्त पारिए ।

आज एमसीसी जस्ता विदेशी समस्था नेपालमा भित्राएर नेपालका बहुउपयोगी खनिज र जडिबुटी माथिको कूदृष्टि बुझ्न नसकी जुन समझौता हाम्रा नेतृत्वले कमिसनको लोभमा सिङ्गो नेपालीलाई गुलामको जनजीरमा बाध्ने दुष्ट प्रयास गर्नु भनेको छ । यो सरासर निन्दनीय छ । हामीले चाहेमा देशलाई स्विजरल्याण्ड बनाउन सक्छौं यसका लागि विदेशीसंग हार गुहार गर्नुपर्ला जस्तो लाग्दैन ।

आज नेपालको हित विपरित देशलाई घात हुने खालका थुप्रै सम्झौता गर्दै आएको छ । यो आफैमा राम्रो पक्कै होइन । देशमा विकास हुन सके कसैसंग हात फैलाउनु पर्ने थिएन । राजाहरू छिमेकीसंग कहिलै झुक्न चाहेका होइनन् जति पनि सम्झौता गरे सवै जनताका छोराले गरे यसमा दुईमत छैन ।

राजाहरूले यो देशका लागि ठूलो योगदान दिएका थिए । आज छिमेकीसंग नझुक्ने बानीका कारणले गर्दा राजालाई जनताले नभई स्वार्थी नेताका कारण नागरिक बन्नुपरेको थियो । आज राजा भइदिएको भए यस्तो अवस्थामा नेपाल पुग्ने थिएन । स्वार्थमा लागेका कारण आज राजनीतिक व्यक्तिहरूलाई छिमेकीले समेत टेड्न छोडेको देखिन्छ । यस्तो अवस्थामा नेपाल पुग्नुको कारण लोकतन्त्रको मर्मलाई बुझेर विकासमा जोड दिन नसक्नु स्वार्थको राजनीति शुरु गर्नुले देशको इज्वत धमिलो हुदै गएको देखिन्छ ।

आफ्नो देशमा सवैभन्दा ठूलो समस्याप्रति ध्यान दिन नसक्नु परनिर्भरमा रहेर काम गर्नु सहयोगको राशीलाई हिनामिना गर्नु जस्ता क्रियाकलापले गर्दा देशको अवस्था दिन प्रतिदिन खस्कदो अवस्थामा पुग्दैछ । यो राष्ट्रको लागि दूरगामी विचार भएका देशको माया गर्ने खालको नेतृत्वको अभाव खड्किएको छ ।

उद्योग पब्लिकले होइन सरकारले लगाउन सक्नु पर्छ । नेपाली भू-भागमा भएका थुप्रै खानी उत्खनन्का समस्या छन्, जडिबुटीका समस्या छन्, जलस्रोतका समस्या छन्, अमेरिकाले आफ्ना नागरिकले गाजा खान नेपाल पुगे भनेर गाजामा प्रतिबन्ध लगाए, अहिले आफ्नै थुप्रै राज्यहरूमा गाजा रोपेर डलर भित्राउदैछन् नेपाल भने गाजा नष्ट गर्दै हिड्दैछ ।

विकास भनेको गरेर हुने हो के बाट सरकार र जनतालाई फाइदा हुन सक्छ भन्ने कुराको अनुसन्धान गरेर उत्पादनमा लाग्न सके देशले विकासमा फड्को मार्ने थियो । जलविद्युत मात्र उत्पादन गरेर देशलाई धनीको सूचीमा राख्न सक्ने प्रयाप्त सम्भावना थियो ।

नेपालमा आम्दानीका राम्रो स्रोत हुँदा पनि हामी धेरै पछाडि छौं । नेपाल जलस्रोतले धनी छ त्यसबाट जलविद्युत उत्पादन गर्ने राम्रो सम्भावना छ । नेपालका थुप्रै नदीहरुबाट ठूलो परिमाणमा पानी बगेर खेर गइरहेको छ । जुन हाम्रो प्राकृतिक सम्पत्ति हो । यद्यपि हामीले यसलाई राम्रो तवरले प्रयोगमा ल्याउन सकेका छैनौं ।

हामीसँग उपलब्ध जलस्रोतलाई सम्पत्तिको रुपमा बदल्नको लागि केही साहस त गर्नैपर्छ । यसको लागि सबैभन्दा पहिले उपलब्ध जलस्रोतलाई कुन स्वरुपमा बदलेर राम्रो लाभ लिन सकिन्छ भन्नेबारे राम्रो तवरले अध्ययन हुनु जरुरी छ ।

नेपालको भौगोलिक परिस्थिति अनुसार हामीसँग उपलब्ध जलस्रोतलाई जलविद्युत उत्पादनमा नै लगाउन सकेको खण्डमा राम्रो लाभ लिन सकिने सम्भावना देखिन्छ । अहिले ठूलो सङ्ख्यामा नेपाली जनशक्ति रोजगारीको लागि अवसरको खोजीमा विदेशिएको अवस्था छ ।

तर नेपालमा भएको स्रोतको उपयोग गर्न नसक्दा जुन तवरले मुलुक विकासको गतिमा अगाडि बढ्नुपर्ने थियो, त्यस किसिमले प्रगति गर्न सकेको छैन । नेपालमा उपलब्ध जलस्रोतको सही व्यवस्थापनको माध्यमबाट नेपाललाई समृद्ध बनाउन अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।

अरूले उत्पादन गरि दिएर देश अघि बढ्ने सपना देख्नु नेपालीको बानी भइसकेको छ । छिमेकीले स्वार्थपूर्ति गर्न राजालाई सफाइ गरे यति पनि नबुझ्ने हामी नेपाली देशलाई कसरी अघि बढाउन सक्छौं यस्कायसका लागी जंगबहादुर बन्नुपर्छ । काम गरेर सानो भइन्छ भन्ने सोचले नेपाल धेरै पछाडि धकिलेको छ ।

हामीले पढेर प्राप्त गरेको शिक्षा प्रयोग विहिन छ । के यो तालले देश अघि बढ्न सक्ला त ? काम गरे यहाँ जे पनि उत्पादन गर्न सकिन्छ । सरकारले बजार दिन सक्नुपर्छ । अहिले नेपाली बजार सवै भारत र चिनियाँ सामानले ओगटेको छ । नेपाली पसिना डलरको रूपमा बाहिर जादैछ ।

अब हामीले नेपाली बजार नेपाली उत्पादनले भरिएको हुनुपर्छ । सिमामा पर्खाल लगाउने भिसाको पर्बन्ध गर्ने जस्ता परिवर्तनकारी काममा सरकारले ध्यान पुर्याउन सक्नुपर्छ । विदेशीले बोर्डर सिल होइन नेपालीले सिल गरेर आफैमा निर्भर हुने खालका काम गर्नुपर्ने समय आएको छ ।

हरेक नागरिकलाई जिम्मेवारी बोध हुने खालको काममा लगाउन सक्नुपर्छ । नेपाली वैज्ञानिकहरूलाई सरकारले विकासका काममा खटाउन सक्नुपर्छ । उत्पादनको क्षेत्रमा सरकारले बढी ध्यान केन्द्रित गरेर अघि बढाउन सके परिवर्तन टाढा छैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !