सर्वप्रथम त महान जनयुद्धका घाईते, अपाङ्ग र बेपत्ता अनि हाँसीहाँसी बलिदानी दिनुहुने ती महान शहिदहरुप्रति भावपुर्ण श्रद्धाञ्जली । “बिद्रोह गर्नु जनताको नैसर्गिक अधिकार हो” भन्दै नयाँ जनवादी क्रान्तिको लक्ष्यसहित बन्दुक उठाएको माओवादीले २०६३ मंसिर ५ गते हतियार बिसाएको थियो ।
रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकी तथा सरकारी बैंकमा एकसाथ आक्रमण गरी सशस्त्र युद्ध थालनी भएको थियो । १० बर्षसम्म चलेको युद्धमा राज्य र विद्रोही दुबै पक्षबाट १३ हजार भन्दा बढी नागरिक मारिए भने हजारौं व्यक्ति घाइते र अंगभंग भए छन् ।
हजारौंको संख्यामा नागरिक वेपत्ता पारिए । माओवादी पूर्वलडाकुहरू नेपाली सेनामा समायोजन भई राष्ट्रिय सेनाको अङ्ग पनि बनिसकेका छन् । तर विस्तृत शान्ति सम्झौतासँगै शान्तिपूर्ण राजनीतिमा आएको बर्षौं बितिसक्दा पनि नेताहरुले विगतमा गरेका बाचा पूरा नगरेको भन्दै जनता र पार्टी कार्यकर्ता निराश भएका छन् ।
दस वर्षको आँधीमय जनयुद्ध महान् ऐतिहासिक परिघटना थियो । केन्द्रीय सत्ताको नजिक-नजिक पुग्नै लाग्दा तत्कालीन नायकमा भयानक विचलन आयो । तत्कालीन नायकमा आएको विचलन र त्यसले पैदा गर्ने विचारहीन, सिद्धान्तहीन र घोर दक्षिणपन्थको खतराबाट जोगाउन प्रचण्ड-बाबुरामहरूबाट सम्बन्ध-विच्छेद गरेर मोहन वैद्य ‘किरण’ को नेतृत्वमा नयाँ पार्टी निर्माण पनि भयो ।
मोहन वैद्य ‘किरण’ को नेतृत्व पनि अकर्मण्यतावाद एवम् मिहीन संशोधनवादमा फस्ने प्रवल सम्भावना बढेपछि त्यहाँबाट पनि सम्बन्ध-विच्छेद गरेर विप्लवको नेतृत्वमा पुनः नेपाल कम्युनिस्ट पार्टी निर्माण भयो । त्यही नेपाल कम्युनिस्ट पार्टी एकीकृत जनक्रान्ति राजनीतिक कार्यदिशाका साथ वैज्ञानिक राज्य सत्ताको स्थापनार्थ यतिबेला नेपालको वर्गसङ्घर्षको विशिष्ट विन्दुमा आइपुगेको छ ।
यसबाट विश्वभरका उत्पीडित तथा श्रमजीवी जनता उत्साहित भइरहेका छन् भने साम्राज्यवादी तथा सबैखाले प्रतिक्रियावादी फासिवादीहरू यतिबेला आतङ्कित हुन पुगेका छन् ।
२१ औँ शताब्दीको आजको दसकमा महान् जनक्रान्ति, त्यसको नेतृत्वकर्ता र आजको परिवेशको विषयमा हुने बहसहरू स्वाभाविक छन् । हामीले ती बहसलाई सकारात्मक संश्लेषण गर्न सक्नुपर्दछ । हामीलाई थाहा छ कि कसैको पूजा गरेर वा कसैलाई घृणा थुपारेर मात्र कुनै पनि परिवर्तनगामी अभियान पूरा हुन सक्तैन ।
महान् जनयुद्धको जगमा खडा भएको मालेमावादी सिद्धान्तबाट आलोकित एकीकृत जनक्रान्तिले आज बाह्य कोणबाट आउने प्रहारका विविध रूपहरूलाई निस्तेज तुल्याउँदै अगाडि जानु छ भने आन्तरिक रूपमा विकास हुने गैरकम्युनिष्ट-गैरसर्वहारावर्गीय चिन्तनका विरुद्धमा पनि निर्मम सङ्घर्ष गर्नुछ ।
यी दुवैका विरुद्धमा हुने निरन्तर सङ्घर्षले मात्र जनताले चाहेको, खोजेको र रोजेको आफ्नै वैज्ञानिक समाजवादी राज्यसत्ता प्राप्त गर्नेछन् । जनयुद्धको महान् अनुभवहरूद्वारा समृद्ध नेतृत्व र सिङ्गो पार्टी पङ्क्तिले मालेमावादलाई सैद्धान्तिक रूपमा आफ्नो मार्गदर्शक सिद्धान्त जसरी मानेको छ, त्यसको त्यो व्यावहारिक रूपमा पनि आलोकित हुन जरुरी छ ।
दश वर्षे जनयुद्धको राप, तापका बीचमा करिब १३ हजार नेपाली छोरा-छोरीले आफ्नो रगत बगाएका हुन् । क्रान्तिलाई, क्रान्तिकारी पार्टीलाई, क्रान्तिकारी सौन्दर्यलाई, क्रान्तिकारी विचारलाई बचाउँदै ऐतिहासिक दायित्व पूरा गर्नु नेपाल कम्युनिस्ट पार्टीको सामु ठूलो चुनौती छ ।
यो चुनौतीलाई नेपाल कम्युनिस्ट पार्टीले आत्मसात् गर्नुपर्छ २६ औँ जनयुद्ध दिवस मनाइरहँदा हामीले यो कुरा मनन गर्नैपर्दछ कि हामीलाई क्रान्तिकारी आदर्शलाई मार्ने, महान् शहिदका सपना बिर्सने तथा क्रान्तिकारी बिम्बलाई गल्र्यामगुर्लम ढाल्ने कुरालाई अस्वीकार्य छ ।
हामीले यो कुरामा पनि निरन्तर जोड दिनुपर्दछ कि एकीकृत जनक्रान्तिको कार्यदिशाबाट विचलित हुने, मुक्तिको सपना छोड्दै सुधारवाद र आत्मसमर्पणवाद-सामाजिक फासिवाद अपनाउने, क्रान्ति असम्भव ठान्ने र साम्राज्यवादी शक्तिलाई अपराजेय देखाउने तथा त्यसको अतिशयोक्तिपूर्ण बयानबाजी गरी क्रान्तिकारी मन-मस्तिष्कमा भ्रम सिर्जना गराई राष्ट्रिय आत्म समर्पणवादी बाटो पक्रने, दासता र दलाली गर्नेहरूप्रति घोर असहमति प्रकट गर्नु छ ।
संसारका न्यायप्रेमी, मुक्तिकामी सर्वहारा एक हौं ।
रामचन्द्र तिम्सिना
(आवाज)