भद्रपुर, २० फागुन । ‘दुई–दुईवटा एक्सन भइसकेको र अब एक्सन गरिने सामन्तहरुको सूचीको हल्लाले झापा जिल्ला त हल्लिएको थियो थियो, देश नै एक प्रकारले थर्कमान थियो । ‘सामन्तलाई नगिँडे सैनिकसँग नभिडे आउँदैन है जनवाद छमछम नाचेर’ भन्दै खुकुरी बोकेर निस्कनेको पनि हविगत हुँदैनथ्यो । जङ्गल मासिँदै गएको बेलाको बाघका जस्तो सेल्टरहरु खुल्दैनथे । यो अप्ठेरो बेलामा तालिमप्राप्त कुकुरहरुका सहायताले पुलिसहरु नक्सलाइट खोज्ने कामलाई तीव्रता दिँदैनथे ।’
यो ‘झापा विद्रोह’ को ऐतिहासिक घटनामा केन्द्रित रहेर आख्यानकार पुण्यप्रसाद खरेलले आफ्नो उपन्यास ‘झापाली गर्जन’ को दशौँ अध्यायमा लेख्नुभएको एउटा अनुच्छेद हो । उहाँले ‘झापा विद्रोह’ र त्यसक्रममा भएका घटनालाई पात्रको नाम बदलेर पुस्तकमा दुरुस्तै उतार्नुभएको छ । हत्या गरिएका एक क्रान्तिकारी योद्धाका बारेमा प्रहरीले गरेको मुचुल्कालाई कृतिकारले उपन्यासको २६ औँ अध्यायमा यसरी उल्लेख गर्नुभएको छ, “यहाँ भोटेटारको जङ्गलमा प्रहरीले गस्ती गर्दै गर्दा खुकुरी बोकेर प्रहरीमाथि आइलागेको आतङ्ककारीको ग्याङसँग प्रहरीले प्रतिकार गरी घुँडामुनि गोली हान्दा माथि लागी प्रधान नामको आतङ्ककारी पक्राउ परेको कुरा हामीले देखीजानी लियौँ ।”
झापा विद्रोहलाई विषयवस्तु बनाएर ‘झापाली गर्जन’ जस्तै एक दर्जन विभिन्न विधाका कृति प्रकाशित छन् । ती पुस्तकले नेपालको कम्युनिष्ट आन्दोलनमा पहिलो सशस्त्र विद्रोहको घटना ‘झापा विद्रोह’ लाई साहित्यको माध्यमबाट बुझ्न मद्दत पु¥याएको छ । इतिहासको गर्भमा रहेका तथ्यको उजागर गर्दै र घटनाको तिलस्मी चर्चा गर्दै सो विद्रोहका बारेमा साहित्य लेखिने क्रम जारी छ । केही पुस्तक प्रकाशोन्मुख छन् ।
झापाका युवा कम्युनिष्ट कार्यकर्ताले साम्यवादी सत्ता स्थापना गर्ने लक्ष्यका साथ विसं २०२८ मा शुरु गरेको वर्गशत्रुविरुद्धको आन्दोलनका क्रममा २०२९ फागुन २१ गते सुखानीको जङ्गलमा पञ्चायती सत्ताद्वारा युवाहरुको सबैभन्दा ठूलो हत्या भएको थियो । कारागार सार्ने निहुँमा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेललाई सुखानीमा प्रहरीले गोली हानी हत्या गरेको थियो । कृतिमा सुखानी घटनालाई विशेष महत्वका साथ उठाएको पाइन्छ ।
झापाका पत्रकार तीर्थ सिग्देलले लेखेको ‘पूर्वको राजनीति’ नामक पुस्तकमा २०२८ जेठदेखि २०३० साल कात्तिकसम्म चलेको झापा विद्रोहमा सात जनामाथि ‘एक्सन’ भएको र तत्कालीन शासकले ११ योद्धाको हत्या गरेको उल्लेख छ । ‘यसरी शुरु भएको थियो झापामा विद्रोह’ नामक अध्यायको पृष्ठ ६६ मा विद्रोहको अवस्थाबारे यस्तो लेखिएको छ, “त्यतिबेलाका क्रान्तिकारीहरुले सङ्गठनको पकड बलियो बनाएर, पहिले नै हतियार जम्मा पारेर, सैन्य तालिम लिएर वा दिएर झापा विद्रोह शुरु गरेका थिएनन् । आक्रमणअघि स्क्वायडलाई कतै पनि सैन्य तालीम दिइएको थिएन । उनीहरुको साङ्गठनिक आधार पनि त्यति बलियो थिएन । केवल १५० को हाराहारीमा सङ्गठित युवा थिए । रातबिहान सघाउने किसानसहित कार्यकर्ताको सङ्ख्या ३०० भन्दा बढी थिएन । ती नेतृत्वको हिसाबले पनि आन्दोलनको राप र अनुभवले खारिएर परिपक्व थिएनन् । सुखानीको विद्रोहअघि र धर्मप्रसाद ढकाललगायतको हत्यापछि झण्डै ५०० जना जतिलाई गिरफ्तार गरियो । तीमध्ये ९५ जनालाई मुद्दा लगाइयो भने १० जनाभन्दा बढीलाई दश वर्षभन्दा बढीको कैद सजाय सुनाइयो ।”
झापा सङ्घर्षमा लागेकामध्येमा सरिसृप वैज्ञानिक प्राडा केआर खम्बु पनि पर्नुहुन्छ । मेची बहुमुखी क्याम्पसका प्रा खम्बुले हालै ‘छायाको लस्कर’ नामक आत्मवृत्तान्त प्रकाशन गर्नुभएको छ । सो पुस्तकमा झापा आन्दोलन र त्यसका मुख्य पात्रको प्रवृत्ति र आन्दोलित मनोविज्ञानलाई उजागर गरिएको पाइन्छ । सुखानीमा पाँच क्रान्तिकारीको हत्या भएको दिनबारे उहाँले पुस्तकको पृष्ठ १२२ मा यसरी लेख्नुभएको छ, “फागुन २१ गते । रेडियोले सामाचारको थालनीमै रामनाथ दाहाल, वीरेन राजवंशी, कृष्ण कुइँकेल, नेत्र घिमिरेहरु मारिएको खबर फुक्यो । उनीहरु धर्मप्रसाद ढकालको हत्या अभियोगमा पक्राउ परेका थिए । कान थापेर समाचार सुनेँ । धेरैजसो अभियुक्त रिगरफ्तार भइसकेको, केही भारततिर पलायन भएको, लुकेर बसेकाहरुलाई गिरफ्तार गर्न प्रहरी धुइँधुइँती लागेको रेडियोले भन्यो । स्तब्ध भएँ । घरबाहिर निस्कन छाडेँ । केपी ओली र सिपी मैनालीसँग मेरो चिनाजानी छ भनेर थाहा पाउनेहरु नानाथरी उपदेश दिन्थे । जेल सार्ने बहानामा इलाम र झापाको सीमावर्ती जङ्गल सुखानी पु¥याएर रामनाथहरुको हत्या गरिएको थियो । त्यसपछि गाउँगाउँमा निर्मम दमन शुरु भयो । पञ्चहरु क्रान्तिकारी पक्राउन सक्रिय भए । आतङ्क फैलियो । एकपटक गाउँ पञ्चायतका पियन मैतराज दाइ घर फर्किँदा एकछिन हाम्रो घरमा निस्केका थिए । मेरो आँखा उनले बोकेको ‘सूर्योदय पत्रिका’मा प¥यो । त्यसमा ती चार क्रान्तिकारी लडाकुका नाम ठूल्ठूला अक्षरमा लेखिएको थियो । त्यसमुनि ‘झापाका आतङ्ककारी मारिएकाले अब शान्ति कायम हुँदैछ’ भन्ने उल्लेख थियो । मैले त्यो खबर पूरा पढ्न सकिन, टाउको भाउन्न भएर आयो । त्यसदिन साँझ भातै खाइन । रातभर निद्रा लागेन ।”
पञ्चायती शासकद्वारा ‘झापा विद्रोह’लाई दमन गर्न सुखानी हत्याकाण्ड रचिएको थियो । सुखानीमा हत्या गरिएकाहरुकै सहयोद्धाहरु अहिले नेपाली राजनीतिको शीर्ष स्थानमा छन् । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली झापा विद्रोहका नायकमध्ये एक हुनुहुन्छ । नेकपा(माले)का महासचिव सिपी मैनालीलगायत कैयाँै नेता सत्तामा पुगिसक्नुभएको छ । साहित्यकारहरुले कथा, कविता र उपन्यासमार्फत विद्रोहको इतिहासमा प्रकाश पार्दै आएका छन् । राधाकृष्ण मैनालीले पनि ‘नलेखिएको इतिहास’ शीर्षकमा आत्मवृत्तान्त लेख्नुभएको छ । झापा विद्रोहमा लाग्नुभएका प्रमुख योद्धामध्ये गौरा प्रसाईँको ‘मेरो जीवनका पाना’ प्रकाशित छन् । अर्का योद्धा नरेश खरेलको आत्मवृत्तान्त प्रकाशोन्मुख छ । झापा विद्रोहका विभिन्न राजनीतिक पाटो खोतल्दै युवा लेखक निरोज कट्टेलले लेख्नुभएको अनुसन्धानमूलक कृति प्रकाशोन्मुख छ ।
झापा विद्रोहपछि एक दशकभन्दा बढी कारागार जीवन बिताउनुभएका मोहनचन्द्र अधिकारी, केपी शर्मा ओली, नरेश खरेल, सिपी मैनाली, दुर्गा अधिकारी (सानो र ठूलो), घनेन्द्र बस्नेत, मनकुमार गौतमलगायतको आत्मवृत्तान्त आउन बाँकी नै छ । शहीद रामनाथ दाहालका बारेमा स्मृति ग्रन्थ ‘सहिद’ प्रकाशित छ भने विद्रोही पक्षबाट हत्या गरिएका ढकालका बारेमा ‘इतिहासका पन्नामा धर्मप्रसाद ढकाल’ नाम स्मृतिग्रन्थसमेत प्रकाशित छ ।
‘ लेखक प्रा डा खम्बु आफूले सुखानीका शहीदलाई तत्कालीन पञ्चायती निरङ्कुश सरकारले निर्ममतापूर्वक हत्या गर्दाको परिवेशलाई पुस्तकमा उतारेको बताउनुहुन्छ । “दुई शहीदहरु रामनाथ दाहाल र वीरेन राजवंशीसँग केही महिनाअघि मात्र भेटघाट भएको र क्रान्तिकारी सहकर्मीहरु आरके मैनाली, केपी ओली, सिपी मैनाली, केपी पकुवाल, एमसी अधिकारी आदिसँगका अवस्मिरणीय संस्मरणहरु कृतिमा उल्लेख गरेको छु”, उहाँ भन्नुहुन्छ, “पुस्तकमा झापा सङ्घर्षको प्रारम्भिककालको जुन विश्लेषण गरेको छु, त्यो मैले सुनेको वा कसैले भनेको आधारमा होइन, आफैँले भोगेका अनुभवहरुलाई राखेको हुँ ।’
सुखानीका योद्धाले शहादत प्राप्त गरेको दिन फागुन २१ आउँदा सबैलाई खबरदारी गरेजस्तो लाग्ने बताउँदै उहाँ शहीदको रगतले लेखिएको इतिहासलाई वर्तमान सरकार र नेकपाले भुल्न नहुने धारणा व्यक्त गर्नुहुन्छ । ‘झापाली गर्जन’का लेखक खरेल देश र जनताका लागि हाँसीहाँसी गोली थाप्न तयार हुने बलिदानी योद्धाको पङ्क्ति जन्माउने ‘झापा विद्रोह’ जे उद्देश्यका लागि भएको थियो, त्यही विषयलाई प्रकाश पार्न आफूले उपन्यास रचना गरेको बताउनुहुन्छ ।
“सतहीरुपले हेर्दा शहीदले चाहेअनुसारको परिवर्तन भएको हो कि जस्तो लाग्छ, उनीहरुले प्रतिक्रियावादी सत्तालाई ध्वस्त पार्न चाहेका थिए”, लेखक खरेल भन्नुहुन्छ, “तर अहिले शहीदका सहयोद्धा कमरेडहरु नै सत्तामा पुग्नुभएको अवस्था छ, आफ्नो वर्गको हितमा राज्यतहबाट कामहरु नभएको देख्दा र शासनसत्तामा उही पारा देख्ता बोतल मात्रै फेरियो जस्तो पनि लाग्छ ।”