१ मंसिर २०८१, शनिबार

ड्राइभर दाइ मन पर्यो मलाइ, एक्पल्ट फेरी ब्रेक हान्देउन !


“साला!! आँखा फुट्या हो की काल आको हो!” ड्राइभरले तिनसय साठीमै स्टेरिङ्ग घुमाए। यात्रुहरुको टाउको ठोकाठोक भयो। एक घण्टा देखी छेउमा बसेरपनि नबोलेकी मैयाँ सङ्ग नमज्जाले ठोकियो टाउको।
“व्हाटअ ननसेन्स?” मैयाँले कडै रिस देखाइन्।
“सिधा बस्न सक्दैन?” फेरी फुलिन उनि।
झ्याप्प बाटो काट्ने यात्रु सङ्गको रिस मरेछ क्यार मैयाँको रिस देखेर ड्राइभरदाइ मुसुमुसु हाँस्दै थिए।

“मान्छे हेर्दा रिसाउने खाल्की त होइन, जेन्टल पो देखिनुहुन्छ किन रिसाको त्यसरी?” मुख फेर्दिएँ मैले पनि।
“केटी छेउमा देखेपछी ठोक्किन आउने त?” पुलुक्क हेरेर भनिन् उन्ले।
“घुम्तीनेर सोल्टीनी मिनी बसै कोल्टिनी,
म त जता मायाँ उतै ढल्किने” अलि रोमान्टिक भैदिएँ म ।
ड्राइभरले खित्का छोडे तर मैयाँले ओठ खोलिनन्। उल्टै भनिन् “कस्ता कस्ता मान्छे हुन्छन्? दिमाग खराब भैसक्यो मेरो त” झनै पो फन्किइन् उनि त।

अजै दिमाग खराब गर्ने मुड चल्यो मेरो ड्राइभर तिर हेर्दै भनिदिएँ
“ड्राइभर दाइ मन पर्यो मलाइ, एक्पल्ट फेरी ब्रेक हान्देउन”।अब त मार्छिन् कि जस्तो पो लागेको थियो, तर झ्याल बाट बाहिर पो हेरिराको रछिन्।

“खासमा मैलेपनि धेरै गाडी चलाएँनि गुरु जी! काठमाण्डौ पोखराको” ड्राइभरतिर हेरेर भने।
“मान्छे हेर्दा खलासी जस्तो छ” फेरी ठुस्किइन् उनि ।
रिसाएकी महिलालाइ डिप्लोम्याटिक तरिका बाट खुसी बनाउने कोसिस गर्दै थिएँ।

“सिम सिम पानी पर्यो तर उनि रुझिनन्
म सङ्गै छाता थियो तर उन्ले सोधिनन्,
मेरो छाता ढल्कियो उनि तिरै पल्कीयो
गल्ती मेरो थिएन, उन्ले कुरा बुझिनन्।”

वा! ड्राइभर लाइ कबिता पनि आउँदो रैछ, उन्ले मुख खोलिन् ।

“पैला मुख खोलिन, म पनि केही बोलिन
पानी खल्लो भाको थ्यो, तर चिनी घोलिन,
पैले तितो कुरो भो, गफै गफमा भुलियो
चिनी हाल्नै परेन, पानी भयो गुलियो।”

“गुलियो भए खाए भैगोनी त!” अलि नरमपो भइन नानी त।
साँच्चै अब खुसी कसरी बनाउने सोचिरहनै परेन। फेरी अर्को धर्को फोर्दिएँ ” अर्थ छैन यात्राको,
मान्छे बिना जात्राको ,
हल्का भारी बिसाए,
राम्रा मान्छे रिसाए।”

हल्का मुस्कान देखियो मुहार मा।मौका छोपेर फेरी फाल्दिएँ अर्को लाइन्
“चन्द्रमा झैँ टल्केको
राम्री तिरै पल्केको,
फेसमा ग्रहण लागेछ
रुप रङ्गै भागेछ,
मायाँ साट्नै सारो भो
दिन काट्नै गारो भो।”
“वाओ!आँसु कवी हो कि क्या हो?” अब त साँच्चै हेरी उस्ले, त्यो पनि मन्द मुस्कानका साथ।
ड्राइभर दाइ ट्वाल्लै परे। कहिले मलाइ त कहिले उन्लाइ हेर्दै, तर बाटो हेर्नपनि भुलेका थिएनन्।
“बल्ल ग्रहण भागेछ,
चन्द्रमा पो लागेछ
अब हाँसो खस्छकी?
मायाँ प्रीती बस्छकी ?”
मेरो लाइन् सकिन नपाउँदै दिल खोलेर हाँसिन् उनि ।
“सरको गल्तीनै थिएन, तपाँइ त्यसै सरसङ्ग रिसायो, गाडी एक्कासी मोडिँदा त्यस्तो भाको,तपाइ ले कुरै बुझेन” गुरुजीले थपिदिए।
“ए!हो! सरी ल! तपाइ साँच्चै ड्राइभर हो?” हाँसेर सोधिन उन्ले ।
“म ड्राइभर हो तर गाडी चैँ चलाउँदिन,तर आफ्नो जिन्दगी आरामले चलाउन सक्छु” नहाँसीकन भन्दिएँ मैले।
“आफ्नो मात्र? अरुको जिन्दगी नचलाउने हो कि के हो?” खुबै मस्केर सोधिन् उन्ले ।

“तपाइँ म देखी रिसाएको चैँ किन?, जान्न मन लाग्यो मलाइ” सोधेँ मैले ।
“प्राय लङ्ग ट्राभलमा सिटमा केटी देखेपछी केटाहरु यसै गर्छन्, हल्का ब्रेक लाग्दा गाडी थोरै कोल्टिन्छ तर केटाहरु बढी ढल्कन्छन्, त्यही भएर हो।”

“छेउमा बस्ने सबै केटा खराब हुँदैनन् बैनि! खराब त सोचाइ हो,आफु बालियो बन्नु पर्छ, आफु ठाउँ दिने अनि बस्यो भनेर रिसाउने हरु पनि छन् यहाँ, एउटा कुरा बुझी राख कि ठाउँ पाएपछी बस्न खोज्ने सबै हुन्छन् यहाँ फरक त्यत्ती हो कि कोही ठाउँ हेरेर बस्छन् कोही नहेरी।”

कलङ्की आइसकेको जानकारी ड्राइभर बाट पाएपछी उनि कलङ्की झरिन् बाइ भनिन् कि भनिनन् थाहा भएन तर मलाइ भने रिसाएकी केटी लाइ हँसाउन सफल भएकोमा खुसी लगीरहेको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !