८ आश्विन २०८१, मंगलबार

अनि पो दशैँ आउँथ्यो


bharat bhandari

अनि पो दशैँ आउँथ्यो ।
निस्लोट बर्षातको बारुत बोकेको काला बादलहरु,
बिस्तारै बिस्तारै क्षितिजबाट गायव हुन थाल्दथे,
घनघोर बर्षातसंग युद्द गर्दागर्दै थाकेका पहाडहरु
पराजित भएर लुकेका बादल हरुलाइ नियाल्दै
पुनर्ताजगी ले जुरुक्क उठ्दथे।

सँधै छचल्किएका पहाडी आँशुहरु,
तृप्त भएर ओभानो हुँदै मन्द मुस्कान छर्न थाल्दथे,
राहुचुलीबाट बगेको चिसो शितल पवनले
गैरिखेतका सुनौला धानका बोटहरुलाइ बहेली खेलाउँथे,
आँगनको डिलबाट सुनौला धानको बहेली हेर्दै
मुसुक्क मुस्कुराउनु हुन्थ्यो “बा” र पो दशैँ आउँथ्यो ।

दोर्खुको पानीमीलमा झिनुवा धान पेलेपछी
खँद्कुलोमा चिउराको धान उसिनेपछि,
खरानिटारको रातो माटो, धोबीखोलाको कमेरो,
ओडारे खेतको कालो माटो घरमा भित्रन्थे,
चुप्पामा कमेरो, भित्तामा रातो माटो र झ्याल ढोकामा कालो माटो
आहा! घर दुलही झैँ सिँगारिन्थ्यो र पो दशैँ आउँथ्यो ।

बा ले आँगन को छेउमा दुइ खाँबा गाडी,
बाबियोको डोरी बाटेर झुण्ड्याइदिनुहुन्थ्यो पिङ्ग,
तँ पैला कि म पैला भन्दै
हामिहरु खुब लड्थ्यौँ,
उस्ले उस्लाइ लडाउने,
उस्ले उस्लाइ पच्छार्ने,
कोही काम्रो लुकाउने,
अनी, कोही रुँदै आमालाइ कुरा लागाउने,
त्यो बेजोडको लडाइँ हेरेर बा मुसुक्क हाँस्नुहुन्थ्यो र पो दशैँ आउँथ्यो ।

हाते कल नाम्लाले बोकी दमाइदाइ घरमा आउँथे,
फित्ताले शरिर नापेर,
बलबान छाप खैनी हातमा माँडेर,
तल्लो ओठ भित्र घुसाउँथे,
पिच्च पिच्च आँगन मा थुक्दै,
हामिलाइ जिस्क्याउँदै,
कल घुमाउँथे,
कस्को पैला सिउने भन्दै हामी रुवाबासी गर्दै,
तँछाड मछाड गर्दै उनि छेउ पुग्दा
सियो देखाएर तर्साउँथे
तेरो लुगा सिलाउँदिन भन्थे,
म अझ बेजोडले रुन्थेँ,
आमाले हाँस्दै फुल्याउनु हुन्थ्यो र पो दशैँ आउँथ्यो ।

तर, अब त्यो दशैँ कहिलेआउँछ खोइ?
त्यो घर रातो माटोले कहिले पोतिन्छ र?
अब आँगनिमा पिङ्ग कस्कालागी हाल्ने?
अब गैरिखेतको धान कहिले झुल्नु ?

किनकि,

घरको त अस्तित्वै बाँकी छैन,
गैरी खेत पनि बाँझै छ,
आकाशमा बादलहरु अझै युद्द गर्दै छन्,
पहाडहरु अझ आँशु बगाउँदै छन्
झिनुवा धानका सन्तती हरु सबै बर्णशङ्कर भए,

अनी?

अब दशैँ कहाँ बाट आउनु? के फरक छ र अरु दिन र दशैँमा,

केवल,

फेरी त्यो घर उठिदिए,
फेरी धान झुलिदिए,
बारीमा सयपत्री फुलिदिए,
एक पटक, सिर्फ एक पटक,
ती दिनहरु फर्किदिए,
तब न दशैँ आउँथ्यो । ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !