१२ पुस २०८१, शुक्रबार

बर पिपलको पातहरु


Story

 १०८ वटा गेडा रुद्राक्ष मालाको जप सिद्दिए पछी पण्डित बाजेले तुलसीकै मठ्को खोपी बाट सानो पुरानो एना झिकेर हेर्दै चन्दन टिका निधारमा लगाए । छेउमै उभिएकी पण्डितनी बज्यैलाई पनि लगाइ दिए । पण्डितनी बज्यै ले खुट्टा ढोगी दीइन, बाजेले “आयुष्मान भब !” आशीर्बाद दिए ।

कान्छा छोरा हरीशरण पिढींको खाटमाथि छाम-छाम, छुम-छुम गर्दै रेडियो मिलाउदै थिए , उनलाई पनि ललाटमा चन्दन टिका लगाइ दिए । बिहानी को पूजा कर्म सिद्दियो ।

तोरिको कून्युमाथि उल्टो पारेर राखेको मान्द्रो लाई आँगन मा फैलाए पण्डित बाजेले । “ओसीएछ शितले…, घामको तातो लागोस अनी फिजाम्ला कून्यु लाई …” पिढींमा रेडियो सुन्न बसेका छोरातिर हेर्दै पण्डित बाजेले भने ।

आँगनमै खुइलिएको बाक्लो पुरानो खाटमा बस्दै डाके पण्डित बाजेले “आ! साना, किन बस्छस चि’ साँ, ह्या ताता घाम पर्‍याछन, आइज ! ”

हरीशरण एक हातले रेडियो र अर्को हातले लौरो समाउँदै ट्याक ट्याक को भरमा बा को छेउमा आएर बसे । पण्डितनी बज्यै ले एकै छिनमा तातो दुध काँसको गिलासभरी ल्याएर बाजेलाई दिइन । गिलास हातमा समाउदै पण्डित बाजेले भने “खोइ त साना लाई ? ”, पण्डितनी बज्यैले “सारोबारो गर्दैछु, ल्याइ हालेँ …” भन्दै भान्सामा गएर दूध ल्याउदै दुई गिलास मा राखेर सेलाउन थालदै थिइन, हरीशरण ले भने “आमा दिनोस मै सारोबारो गरुला ” । पण्डितनी बज्यैले “ तातो छ है साना! पोल्ला नि!” भन्दै हातमा गिलास जतनले थमाइ दिइन ।

हरीशरण जन्मदै आँखा नदेख्ने अन्धो जन्मिए । लट्ठी, बा- आमा नै उन्को सहारा भएको छ यो २४ बर्से उमेर सम्म पनि, अनी रेडियो मन बहलाउने साथी । रेडियो सुन्दा सुन्दा उन्ले संसारमा कती महादेश छन, कुन महादेश मा कती देश छ, ति देशहरुको नाम के-के छन, कुन कुन देशमा कती कती जनस्न्ख्या छ, कुन देशमा महिलाको संख्या कती – पुरुष को सन्ख्या कती छ, संसार मा कती वटा हिमाल-पहाड छन, कती उचाइका छन , तिनका नाम के-के हुन, नेपालमा कती अञ्चल छ, जिल्ला कती, नाम के- के, कहाँ कुन भुभागमा के कस्तो खेती पाती हुन्छ, के कस्ता पशुपंक्षि हुन्छन, कुन देशका राष्ट्रपती – प्रधान मन्त्रिका नाम के के हुन जस्ता सामान्य ज्ञान सम्बन्धी कुराहरु जानिसकेका थिए । उनी सुनेको भरमा खररर भन्न सक्थे । मस्तिष्क तिक्ष्ण थियो ।

उनको यही क्षमतालाई गाउँका स्कुले केटाकेटीहरु स्कुलको हाजिरी जबाफ प्रतियोगितामा प्रयोग गर्थे अर्थात सामान्य ज्ञान सम्बन्धी जानकारी लिन हरीशरणसँग सोध्न आइपुग्थे । हरीशरण पनि खुशी भएर सम्झी सम्झी बताइ दिन्थे । केटाकेटिसँग उनी पट्टकै झिँजो मान्दैनथे । केटाकेटी पनि उनलाई ‘ सान्दाइ ‘ भनेर खुब झ्यामिन्थे ।

पण्डितनी बज्यै, छोरा यसरी भुलेको देखेर सन्तोष लिन्थिन र कहिले काही आँगनमा झुम्मिएर बसेका केटाकेटिहरुलाई मेबा काटेर खान दिन्थिन , कहिले छोराको लागि बनाउँदै गरेको पुवामा पिठो थपेर धेरै बनाइ सबैलाई बाँडिदिन्थिन ।

हरीशरण लट्ठीको सहराले टेक्दै गाउँको बर पिपलको चौतारी सम्म पुग्थे, जुन चौतारी गाउँका मान्छेहरुको गफ गर्ने – छलफल गर्ने थलो थियो, घाँस-दाउराको भारी बोकेर आउनेहरुको बिश्रामको चौतारी थियो त्यो, चट्पटे दाईले चट्पटे बेचेर गुजारा गर्ने चौतारी थियो त्यो, फूल मायाकि आमाले काँक्राको चिरा बेचेर आफ्ना ५ लालाबालाहरुको पेट भर्ने थालो थियो त्यो , अनी मगर्नी साँहिलीको बादाम बेचेर आबारा दाई र बुढी आमालाई पाल्ने थालो थियो त्यो । तिजमा नारायणी नुहाएर फर्केकाहरुले नाच्ने थालो थियो त्यो बर पिपल को चौतारी । झन हरीशरण को त के कुरा ! उसको खुशी नै थियो त्यो चौतारी ।

उनी लट्ठीको सहाराले दिनको २-३ पटक त्यहाँ पुग्थे । घर देखी १०- १५ मिनेटको बाटो लट्ठीको सहाराले ट्याक ट्याक गर्दै जब जब चौतारीको नजिक पुग्थे तब तब बर पिपल का पातहरु सररर सर्सराएर स्बागत गरेको भान हुन्थ्यो हरीशरणलाई । चौतारी मा गफ गर्न बस्नेहरुले काँक्रा-बदाम, चट्पटे किन्दा हरीशरणलाई पनि दिन्थे । त्यसोत कहिले काही कोही नहुँदा (किनेर दिने मान्छे नहुँदा) चट्पटे दाइले “सानो दाई ! चट्पटे खाइलिनोस !” भन्दै दिन्थे, फूलमायाकि आमाले “सान्कान्छा ! लु’ खा शितालो काग्रा ” भन्दै काँक्रा दिन्थिन, बदाम बेच्ने साहिलिले यताउता हेर्दैँ कसैले नदेखेको मौका पारेर जिस्काउँदै “लु, खोस्ल्याउँदै खाउ है बदाम” भन्दै हातमा दिँदा चुटुक्क चिमोटेर दिन्थीन् । हरीशरणलाई साहिलीको यो चिमोट्याइ खुब मिठो लाग्थ्यो ।

हरीशरण बेला बेलामा चौतारीको हिरो हुन्थ्यो रेडियो मा सुनेको कुरा सुनाएर। झन अझ चुनाव को बखत मा त के चाहियो र ! कहाँ कुन नेताले कती भोटले जित्यो – हार्‍यो सबै खररर रेडियोले बोलेझैँ गरी भनिदिन्थ्यो । अनी सबै बाट बाह ! बाह ! को ताली पाउँथ्यो । गफ गर्नेहरुले चौतारी नजिकैको चिया पसलबाट चिया मगाएर खुवाँउथे रामशरणलाई । रामशरण साहिलीले मेरो ‘बाह ! बाह !’ सुनी कि सुनिन होली भन्दै कान ठाडो पारेर साहिलिको स्वरमा ध्यान दिन्थ्यो ।

यि दुई बिच अमूक प्रेम थियो। साइली “म तिमीलाई प्रेम गर्छु” भन्न जान्दिनथि तर बदाम दिएर मायाले चिमोट्दै प्रेम दर्शाउँथी, हरीशरण पनि आँखाले नदेख्ने भए पनि मनले देख्ने ज्ञानी थियो । त्यसैले “साहिली ! म सँग बिहे गर्छ्यौ ?” भन्न सक्दैनथ्यो, आफ्नो जिन्दगी को भार उमाथि थोपर्न चाह्दैँन थियो । यती हुँदाहुँदै पनि साहिली को चिमोट्याइ सँग उ बेहत खुशी थियो ।

कहिले काही उरेन्ठेउला छिमेकी गाउँका केटाहरुले चौतारी मा बस्दै बदाम खाने निहुँमा साइलीलाइ जिस्काउँदा हरी शरण भित्र भित्रै रिसले कामेर सुनिरहन्थ्यो । साइली मुखाले थी । त्यस्ता लाई हदै सम्मको जबाफ फर्काउँथी । हरी शरण डराउथियो त्यतीखेर, कतै तिनिहरुले नराम्रो व्यबहार त गर्ने होइन्न साहिलीलाइ भनेर । अनी मनमनै सोच्थ्यो ‘ बरु एउटा गतिलो मान्छे सँग पोइल गए हुन्थियो साहिली ‘ । आँफैले माया गरेको साहिलीलाई यती सम्म सोच्न बिबश थियो उ । आफू अन्धो भएको महशुस गरेर यतिखेर बेस्मरी दुख्थ्यो उ । अनी भगवान सँग असाध्यै चित्त दुखाएर मन मनै भन्थ्यो “हे भगवान ! मेरो के दोष थियो जन्मदै अन्धो बनायौ ?? ” चित्त दुखेको अर्को मनले भन्थ्यो “छैनन् भगवान!”

पण्डित दम्पतीलाई कान्छा छोराको भबिष्यप्रती असाध्यै चिन्ता थियो ।’हुने हार दैब नटार’ मन बुझाएर बस्नु बाहेक अहिले सम्मलाई अरु कुनै उपाय थिएन उनिहरुसँग ।

पण्डित दम्पती का जेठा छोरा को नाम रामशरण थियो । रामशरण सानै देखी पढ्न मा तेज थिए । पण्डित दम्पतिले आफ्नो बुताले भ्याएसम्म खर्च गरेर रामशरणको पढाई मा लगानी गरेका थिए । उनी अमेरिकामा थिए । अमेरिका पठाउन पनि भाग्य ले साथ दिएको थियो । एका तिर उत्कृष्ट पारीणाम त थियो नै अर्को तिर काठमाण्डौमा सरकारी उच्च ओहदा मा आफ्ना चिनेका मान्छे थिए पण्डित बाजेको । उनैबाट छात्रबृत्ती सुबिधा मा अमेरिका पढ्न पठाएका थिए रामशरण लाई ।

माटो बिज्ञान मा पि .एच् .डि . गरे रामशरणले । तत्पश्चात अमेरिकि सरकारले दिने सुबिधा अनुसार उनी २ बर्षको लागि अमेरिकामा नै जागीरे भएका थिए । २ बर्ष पछी नेपाल फर्किने योजना थियो रामशरणको । यही जागिर अबधिमा उनी थोरै समय मिलाएर नेपाल आएका थिए, बा-आमा, भाई गाउले सबै लाई भेट्न् ।

पण्डित बाजेको घरमा खुशी छाएको थियो रामशरण आउने दिन ताका । २ तले काठ- ढुङ्गा – माटोले बनेको घरका झ्यालहरु हरिया रङ्गका थिए । माटो का भित्ताहरु रातो र सेतो माटोले पोतिएको थियो । गाउले छिमेकी आईमाईहरुले पण्डितनी बज्यैलाई घर पोत्न सघाएका थिए । घर शुन्दर चहकिलो देखिएको थियो । बारीमा मेबा, कागती, आप, अंबा, काफल, केराका बोट बुट्यान थिए । आँगनमा तुलसिको मोठ , नजिकै बाह्रमासे फूल्ने घन्टी फूल ढक्मक्कै रातै भएर फूलेको थियो, आँगनको डिलभरी बाबरी र चमेली का फूलहरु सेताम्मे फूलेको थियो । धेरै बर्ष पछि पण्डित बाजेको घरमा आएको यो खुशीको बातावरणमा आज पण्डित बाजेले यि सम्पूर्ण सौन्दर्यको स्वाद पाएका थिए । उनको मन कविमय भएको थियो । उनी खुशीले गुनगुनाउन लागे:-

” न धुलो न धुवाँ, न हतार न चटार

शान्त थपक्क गमक्क गमक्क

रातो माटो हरियो झ्याल सुन्दर यो चमक

कसरी न गुनगुनाउ ! देखी यो सौन्दर्य झमक !

बोट बुट्यान झुम्म झुम्म हरित हर्ष

खुशी बनी झर्छन यहाँ बादल बर्षा

झ्याङिएर मात्तिएर फक्रिन्छे तरु लता

मोहित हुनेछ राम शरण देखेर यो सुन्दरता

°°°°°                  °°°°°

अहा! फूल वरिपरि सुमधुर चमेली

टाढा सन्सनाउँछे बग्दै नारायणी शुसेली

रात उज्यालो मुस्कुराउँदा शितल जुनेली

हास्छे यहाँ मसक्क मस्की बिहानी उजेली ……

पण्डित परिवारको यो खुशी गाउलेहरुलाई पनि लागेको थियो । गाउलेहरुले पनि स्बागत गरे । सबै खुशीले फूलेल भए । रामशरण आए । उन्ले भाईलाई छत्रे टोपी र हातैले छोएर समय थाहा पाउन सकिने घडी ल्याइ दिएका थिए । आफूले अमेरिकामा भाईको लागि सक्दो बुझ्दै गरेको पनि बताए । पण्डितनी बज्यै भगवान भरोसामा थिईन । सधैं मंगल चौथीको ब्रत लिन्थिन । मन मनै ‘ ठुला अम्रिका मा छ , त्याँ त बडे बडे जान्ने डाग्डर हुन्छ्न रे, कुनै दिन हाम्रा सानाको पनि दिन आउँला कि ! ठुलाले केही त गर्ला ! ‘ आमाको मन सधैं आशाबदी हुन्थ्यो । भाकल पनि गरेकी थिन उन्ले । आँफैले कातेको धागोले लाख बत्ती बालेर भगवान लाई खुशी बनाउन दत्त चित्त परेर लागेकी थिन उनी । त्यसैले फुर्सद भो कि कपास र चोखो खरानी समाइ हाल्थिन ।

राम शरण अमेरिका फर्कने फर्कने बेला भएको थियो । एक दिन साँझ पण्डितनी बज्यैले धागो कात्दै रामशरण लाई भनिन “ठुला ! बे गर बाबु !, म त डाँडा माथिको घाम हुन लागि सकेँ, बुहारी को मुख देख्न पाए, बुहारी ले चुलो चौका धानिदिए कती सुख ले मर्दी हुँ म् ! ”

“आमा ! अब एकै बर्ष त बाँकी छ, उताबाट फर्केपछी गरुँला, अहिले फुर्सद पनि छैन , फेरी जिन्दगी बिताउने कुरा हो, हातार गरेर पनि भएन नि आमा” रामशरणले भने ।

पण्डितनी बज्यैले भनिन “ल है बाबु ! अर्को साल त बुहारीको मुख देख्न पाम्ला नै मैले ? ‘

छोराले आज्ञाकरी बालक ले झै टाउको हल्लाए स्विकृतिमा । छेउमै बसेर आमा छोराको गन्थन सुनिरहेका पण्डित बाजेको अनुहार सूर्यदोयको उज्यालोझैँ धपक्क भो ।

पण्डित बाजेले ४ बिगाहा बन्धकिमा राखेको जग्गा पनि निखानेका थिए छोराको आगमन संगै । अमेरिका फर्कने बेलामा छोराले बा-आमा बुढाबुढी भाईसकेकाले अब खेतिपतिमा जोतिनु भन्दा बरु ४ बिगाहा जग्गा भरीनै रुख-बिरुबा लागाइदिनु मान्छे राखेर, म फर्के पछी बागबानी केन्द्र खोल्छु गाउलेहरुसँग मिलेर अरु जग्गा पनि जोडेर , भने ।

रामशरणको सपना थियो गाउँमै बागबानी केन्द्र खोलेर आफूले हासिल गरेको ज्ञान मार्फत गाउँ घरका किसानहरुलाई सक्दो सहयोग गर्ने र कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान का बिद्यार्थीहरुलाई पनि भोलिको लागि आँफै नमुना बनेर प्रस्तुत गर्ने ।

कुन माटोमा कस्तो खेती कसरी गर्नु पर्छ देखी लिएर पशु पंक्षि सम्बन्धी पनि यथेस्ट ज्ञान हासिल गरेका थिए उन्ले । आफ्नो यस योग्यता-प्रतिभालाई नेपाली माटोमा खर्च गर्न चाहन्थे रामशरण ।

१ बर्षमा अमेरिकाबाट फर्किए पछी आफ्नो सपना पुरा गर्ने बचन दिएर उ आमा, बा, भाई, गाउले सँग बिदाबरी भएर हिड्यो । अमेरिका फर्कने बेलामा काठमाण्डौ हुँदै फर्कनु पर्ने थियो । जसै काठमाण्डौ आए उनलाई कृपा गरेर अमेरिका पठाउन सहयोग गर्ने परिवार ले आफ्नै भान्जी शितलसँग विवाह को प्रस्ताब राखे । रामशरणले टार्न सकेनन । काठमाण्डौबाट अचानक खबर आयो पण्डितबाजेलाई । अहिले नै बिहा गर्ने थाहा पाएर बुढा बुढी बाल्ल परे ।

गाउँघर कै कन्या रोजेर धुम धाम ले विवाह गराउँला भन्ने सपना काठमाण्डौको बबरमहल को क्षणिक कागजमा टुङिने भो । पण्डित बाजे खिन्न भए , बज्यै खङ्रङ भाईन । पण्डित बाजेले मनको पिर लाई अनुहारमा आउन नदि सम्झाउँदै भने “हेर बुढी ! पढे लेखेको छोराले पढे लेखेकी बुहारी रोज्यो, अब आफूसँगै लान्छ रे, उता बसुन्जेल सगै बस्न, उस्को खुशीमा हामी खुशी हुनु पर्छ ‘ । पण्डितनी बज्यैले भनिन “यतिका थोरै दि ‘ना कसरी भ्याम्ला त सरदाम जुटाउन !” पण्डित बाजेले भने “ हामी आसिक दिन मात्रै जाने हो काठमाण्डौ, सबै उतैकाले बन्दोबस्त गरी सके रे !, कोर्ट म्यरिजमा त सरदाम के चाहियो र ! ”

पण्डितनी बज्यैले भनिन , “ कोट मारिज भन्या कोट ला’ र गर्ने हो हजुर ?”, “अदालत जस्तो ठाउँ मा गर्ने बे लाई त्यस्तो भन्छन” बुढाले भने ।

“ ए …… !” बुढी झन गलिन् । “ यत्रा घर आँगन हुना हुनै चोर- पुलिसका ठाममा बे ! …… ” पण्डितनी बज्यैले आशु खसालिन ।

विवाह सिद्धियो । रामशरण – शितल अमेरिका गए ।

बर्ष बित्यो, २ बर्ष बित्यो, ३ बर्ष बित्यो, ४ बर्ष लाग्यो छोरा बुहारी आएनन् । यसै बिचमा जुम्ल्यहा नाती नातिना जन्मेको खबर आयो । अहिले उनिहरुले उतै बैक बाट ऋण झिकेर घर पनि किनेछन । ‘ छोरो उतै फस्यो’ पण्डित बाजे ले बुझे ।

बेला बेलामा छोराले पैसा त पठाए, तर त्यो पैसाले पण्डित परिवारमा खुशी ल्याउन सकेन, न्यास्रो मेट्न सकेन । झन जुम्ल्याहा नाती नातिनाको मुख देख्न नपाउदाको पिर आफ्नै ठाउँ मा थियो ।

छोराको सपना ‘ बागबानी फार्म ‘ बनाउने बगैचा पनि झाडिले भरिँदै गएको थियो । जङल भएको बगैचा हेर्दै बुढा झोक्राउँथे । बज्यै को पिरको सिमाना थिएन । आशु नझारेको दिन हुँदैनथ्यो ।

एउटा छोरा आँखा नदेख्ने अन्धो, अर्को बुढेश कालको सहारा अमेरिकामै नै बस्ने छनक बुझेर पण्डित बाजे भित्र भित्रै गल्दै गएका थिए ।

दिन नजिक आईपुगेको महशुस गरे पण्डित बाजेले । एक दिन एकान्त मा छोरा हरीशरण लाई बोलाएर भने “कान्छा ! साना ! अहिले सम्म त तेरो दाह्री, कपाल मैले नै खौरिएँ, लङौटी मैले फेर्ने काम मैले गरे बाबु, अब मेरा शेखा पछी तलाई हेर्ने बुढी आमा मात्रै हुन्छिन, म त थल्ली सकेँ बाबु , मेरो सेखा पछी नारायणी नदी नजिक छ, हाम फालेस, उतै भेटौँला बाबु – छोरा ” । हरीशरणले कुरा बुझ्यो । बुढी आमाको बोझ नबनिदे भन्न खोजेका थिए बा ले ।

नभन्दै केही दिन पछी पण्डित बाजेले प्राण त्यागे । १३ दिने किर्या सिद्दिए को भोली पल्ट् १४ औं दिनको दिन गाउँ बाट हरी शरण हराए । गाउँ ले हरुले जहाँ तही खोजे भेट्टाएनन् । बर पिपलका पातहरु ले हाबामा सररर दु:ख प्रकट गरे । साइलिले कसैले नदेख्ने गरी आशुको थोपा झारी ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !