
काठमाडौँ । प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ लाकार्पण गरिएको छ । पाणिनि बुक्सद्वारा प्रकाशित सो पुस्तक आज यहाँ आयोजित कार्यक्रममा लोकार्पण गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पुस्तक सत्य लिखतमा आधारित रहेको बताए । आफू पनि एक साक्षी भएकाले उक्त पुस्तक कुनै उपन्यास वा कथा नभएको र यसमा कुनै बनावटी कुरा नभएको उनको भनाइ थियो ।
“हुन त आफ्नै श्रीमतीको प्रशंसा गर्यो भन्ने पर्ला तर म ढुक्कका साथ भन्न सक्छु, यो पुस्तक २४ क्यारेटको छ । यसको सत्यताबारे कसैले चुनौती दिन सक्दैन”, प्रधानमन्त्री ओलीले भने, “मेरो हुतीले बालकोटमा हाम्रो घर बन्न सक्ने पनि थिएन । त्यो सबै राधिकाको कमाई र मेहनत हो । त्यो घर पनि ट्रष्टका नाममा दान गरिसकिएको छ । मेरो त सानो हुँदा आफूूले खनजोत गर्ने गरेको झापाको खेत पनि बाढी पहिरोले बगाइसकेको छ । राधिका नहुने हो भने म अहिलेसम्म यसरी बाँच्न सक्ने थिइनँ ।”
देश र जनताको अधिकारका लागि ज्यानको पर्वाह नगरी हिँडेको आफूू जस्तो मान्छेका बारेमा आर्थिक विषयमा अनेक अफवाह फैलाइएको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा लोकतान्त्रिक गणतन्त्रको प्राप्तिलाई आफूले सफलता मानेको बताए । “जेलबाट चप्पल लगाएर निस्किएको एउटा कैदी प्रधानमन्त्री भयो भनेर होच्याउनेहरू पनि छन् । सायद तिनीहरू श्रीपेच लगाएका मान्छेले आफूूलाई रैती बनाएको देख्न चाहन्छन् । जनताको छोरो प्रधानमन्त्री भएको देख्न चाहँदैनन्”, उनले भने, “मलाई धेरैले माया र साथ दिन्छन् । मैले लोभ गर्ने हो भने साथीहरूले घर सम्पत्ति जोड्न सहयोग गर्छन् तर मलाई कुनै लोभ छैन । मसँग जे छ, त्यो देश, पार्टी र राज्यको सम्पत्ति हो ।”