८ जेष्ठ २०८१, मंगलबार

बिबाहिता सुन्दरी


कविता
Suman Pratibimba
`प्रतिबिम्ब´ सुमन

यो माटोको कसम,

साच्चै ! मलाइ तिमी मन पर्यो ।

ढाटेको हौन,

ती उकाली, ओराली, भञ्ज्याङ् चौतारी काट्ने साहारा नै तिमी बन्यौ ।

अझ भनौ,

तिमी भन्दा तिम्रो कल्पना नै साहारा बन्यो मेरो लागि ।

 

मान्छेको मन पनि कस्तो है ?

कतै एकै नजरमा बस्ने, कतै अनायसै घृणा जाग्ने ।

त्यस्तै,

मेरो मनले मलाइ नै च्यालेन्ज गर्दै भनेको थियो कि,

`तैले उसलाइ मन पराउछ्स ।´

र इमान्दारीताका साथ भन्नू पर्दा,

म पनि तिमी प्रती लुब्द नभएको हैन ।

 

म मूर्ख,

तिम्रो सुकोमल हात समाउदै कल्पनामै उकाली चड्दै थिए,

तिनै हातको साहारामा थामिदै ओरालो नझरेको पनि हैन,

अझ आत्मिय त भञ्ज्याङ् काट्दै,

छेवैको चौतारीमा तिम्रो काखमा मेरो टाउको अडिएको,

र तिमले मेरो कपाल सुम्सुम्याएको पल थियो ।

 

बिरबलले नभेटेको मैले,

हाम्री प्यारी छोरिले `बाबा मामुले कुटि ।´

भन्दै मलाइ पोल लगाएको,

र तिमलाइ आँखा झिम्क्याउदै तिनैजना अङ्गालोमा बेरिएको सम्म सम्झन भ्याएछु ।

 

तर,

जब तिमलाइ त्यो उकालिमा कसैको हात समाएर,

रमाउदै हिडेको देखे,

अनि तिम्रो सुशील ओठबाट फुत्किएको कुटिल आवाज सुने,

आफ्नै `श्रीमान´ लाई  `ज्वाइँ´ शब्दले सम्बोधन गर्दै भन्दै थियौ :

`ज्वाइँ मेरो हैन आमाको हात समाउनुस गार्हो हुन्छ उकाली चड्न ।´

 

तब छागाबाट खसे जस्तो भए,

र मेरा सबै सपनाहरुलाइ तिलान्जली दिदै सम्झे,

तिमी त सिन्दुर पोते नलाएकी `बिबाहिता सुन्दरी´ रैछेउ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !