३१ भाद्र २०८१, सोमबार

आज १५९औँ मोती जयन्ती मनाइँदै


मोतीराम भट्ट

काठमाडौँ । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५९औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए ।

नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए । यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुआत भएको हो । दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद्लगायत विभिन्न संस्थाले कार्यक्रम आयोजना गर्दैछन् ।

यसै अवसरमा राष्ट्रिय समाचार समिति (रासस) ले आजदेखि नेपाली समाचार सेवा औपचारिक रुपमा २४सै घण्टा सञ्चालनमा ल्याउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सेवाको आज औपचारिक शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । राससले यही भदौ ११ गतेदेखि परीक्षणका रुपमा नेपाली समाचार सेवाको २४सै घण्टा सञ्चालन गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !