२४ बैशाख २०८१, सोमबार

नवराज लम्सालको अग्नि महाकाव्यले बाजी मर्यो यो वर्षको मदन पुरस्कार

लम्साललाई मदन पुरस्कार, श्रेष्ठलाई जगदम्बा-श्री


लम्साललाई मदन पुरस्कार, श्रेष्ठलाई जगदम्बा-श्री

काठमाडौं । नवराज लम्सालको अग्नि महाकाव्यले यो वर्षको मदन पुरस्कार बाजी मारेको छ । मदन पुरस्कार गुठीले मदन पुरस्कार-२०७८ श्रेष्ठ सूचीमा छानेका ८ पुस्तकहरूमध्ये अन्य ७ वटा कृतिलाई पछि पार्दै लम्सालको अग्नि महाकाव्यले बाजी मारेको हो ।

यसैगरी जगदम्बा-श्री पुरस्कार बनारसबाट प्रकाशित हुने ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको शनिबार सम्पन्न साधारणसभाले सो निर्णय गरेको अध्यक्ष कुन्द दिक्षितले सामाजिक संजाल ट्वीटरमार्फत जानकारी दिएका हुन् ।

दुवै पुरस्कारको राशि जनही ४ लाख रुपैयाँ रहेको छ । दुवै पुरस्कार घटस्थापनाको भोलिपल्ट प्रदान गरिनेछ । यसवर्षकाे पुरस्कारका लागि गुठीलाई प्राप्त भएका २९९ पुस्तकमध्ये बढीमा १० पुस्तक छनाेट गर्न बनेकाे समितिले ८ पुस्तक छनाेट गरेकाे थियो ।

डा. नवराज लम्सालकाे ‘अग्नि’, डा. दामोदर पुडासैनी ‘किशोर’काे ‘ग्रीष्मको नीलो बतास’, वसन्त बस्नेतकाे ‘महाभारा’, दिपा मेवाहाङ राईकाे ‘यादको सन्दुक’, डा. नयनाथ पौडेलकाे ‘लिच्छवि लिपि’, प्रा. नीलमणि ढुङ्गानाकाे ‘व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश’, सुजित मैनालीकाे ‘सती: इतिहास र मीमांसा’ र पद्मसुन्दर जोशीकाे ‘हिति प्रणाली’ मदन पुरस्कार-२०७८ काे लागि ८ पुस्तक छनाेट भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !