बागलुङ । कालीगण्डकी बचाऔँ अभियानले कविता शृङ्खला ‘नदी सप्तक’ सुरुआत गरेको छ । अभियानले कालीगण्डकीमाथि रचिएका कवितालाई ‘पोस्टर कविता’का रुपमा अनलाइन सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत शृङ्खलाबद्धरुपमा सम्प्रेषण गर्न थालेको हो ।
अभियान कालीगण्डकी नदीमाथि भइरहको अवैध दोहनविरुद्ध सङ्घर्षरत छ । दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेले विसं २०१५ मा लेखेको कविता ‘कालीगण्डकी’बाट ‘नदी सप्तक’ कविता शृङ्खला सुरुआत गरिएको अभियानकर्मी आरके अदिप्त गिरीले बताउनुभयो । मन्दक्रान्ता छन्दमा लेखिएको उक्त कवितामा कालीगण्डकीको वैभव र महिमा वर्णन छ ।
शनिबारदेखि सुरु भएको कविता शृङ्खलामा सयभन्दा बढी कविका रचना समावेश हुने अभियानले जनाएको छ । यसअघि कालीगण्डकी संरक्षणमा सिर्जनामार्फत ऐक्यबद्धता जनाउन अभियानले देशभरबाट कविताको आह्वान गरेको थियो ।
प्राप्त कवितालाई डिजिटल माध्यमको सहारामा जनस्तरमा प्रसार गरिने अभियानकर्मी गिरीको भनाइ छ । कालीगण्डकी नदीमाथि भइरहेको चरम दोहन रोक्न अभियानले रचनात्मक तवरले दबाब बढाइरहेको छ ।
कविका जीवन्त रचनाले नदीसहित प्राकृतिक सम्पदा संरक्षणको मुद्दालाई सिर्जनशील ढङ्गले मुखरित गर्ने अभियानको विश्वास छ । “कविताको आफ्नै शक्ति छ, यो कला र भावनाको संयोग मात्र होइन, कविता जागरण हो, आन्दोलन हो”, अभियानकर्मी गिरीले भन्नुभयो ।
मुलुकका दिग्गज कवि, लेखकका आवाजलाई राज्ययन्त्र र दोहनकारीसम्म पु¥याउनु ‘नदी सप्तक’ कविता शृङ्खलाको उद्देश्य रहेको उहाँको भनाइ छ । कालीगण्डकी नदीमाथि चलिरहेको विनाशलीलाको विरोधमा हरेक सचेत नागरिक जुर्मुराउनुपर्ने स्थिति आएको अभियानले जनाएको छ ।
हरेकखाले परिवर्तनका क्षणमा कवि, लेखकका योगदानको गौरवपूर्ण स्थान रहेको भन्दै अभियानकर्मी गिरीले कालीगण्डकी संरक्षणमा जोडिएर सर्जकले अर्को महत्वपूर्ण अभिभारा निभाएको टिप्पणी गर्नुभयो ।
यही अभियानमा समर्थन जनाएर प्रसिद्ध कवि श्रवण मुकारुङले रचेको ‘ए कालीगण्डकी…’ बोलको गीत अहिले ‘रेकर्डिङ’को चरणमा छ । मुकारुङकै सङ्गीत रहेको उक्त गीतमा गायक कर्ण दासले स्वर दिँदै हुनुहुन्छ ।
देशभरका प्रतिनिधि स्रष्टाका कालीगण्डकी पक्षधर कवितालाई पछि ‘नदी सप्तक’ कृतिमा सङ्ग्रहित गर्ने योजना अभियानले बनाएको छ । कालीगण्डकी संरक्षणमाथि लेखिएका कविता, गीत बौद्धिक सम्पत्तिका रुपमा भावी पुस्तासम्म बाँचिरहने अभियानकर्मी गिरीले बताउनुभयो ।
कालीगण्डकी नदीले बेहोरेको सङ्कटलाई बाहिर ल्याउन र अभियानप्रति जनमत बटुल्न काव्यको सहारा लिनुपरेको जनाइएको छ । यहाँका नदी र पर्यावरणप्रेमी स्वयंसेवी युवाको पहलमा अभियान अगाडि बढिरहेको छ ।
अभियानले बालुवा, गिटी उत्खननका नाममा कालीगण्डकीमाथि चलिरहेको दोहनको चक्र सबै मिलेर तोड्नुपर्ने बताउँदै आएको छ । यथाशक्य चाँडो नदीलाई प्राकृतिक लयमा नफर्काउने हो भने कालीगण्डकीको अस्तित्व नै नामेट हुने अभियानकर्मीको तर्क छ ।
पारिस्थितिक प्रणालीमै धक्का पुग्नेगरी मनपरी किसिमबाट भइरहेको दोहनले मानव जाति र प्रकृतिमाथि सङ्कट निम्ताइरहेको उनीहरु बताउँछन् । गिटी, बालुवाका लागि खानीको विकास गर्नुपर्ने, ‘ड्याम’ बनाएर सङ्कलित नदीजन्य पदार्थलाई प्राधिकरणमार्फत वितरण गर्न सकिने अभियानकर्मी गिरीको भनाइ छ ।
धार्मिक, साँस्कृतिक, जैविक र प्राकृतिक विविधतासँगै मानिसको जीविकासँग पनि कालीगण्डकी नदी जोडिएको छ । ठूला उपकरणको सहायतामा भइरहेको उत्खननले नदीलाई प्राकृतिकस्वरुपमा बिघ्नबाधा सिर्जना गरिरहेको छ । राज्यको उचित र कठोर नीति नहुँदाको फाइदा उठाउँदै मनपरी ढङ्गले कालीगण्डकीमाथि दोहनको चक्र चलिरहेको छ । दोहनमा राज्य संयन्त्रकै संरक्षण रहेको अभियानकर्मीको आरोप छ ।
विश्वमै दुर्लभ शालिग्राम पाइने एकमात्र नदी भएकाले कालीगण्डकी धर्मप्रेमीका लागि पनि पवित्रस्थल मानिन्छ । हिमालय क्षेत्रको दामोदरकुण्ड, मुस्ताङको मुक्तिक्षेत्र हुँदै दक्षिण बग्ने कालीगण्डकी देशको मध्य भागको प्रमुख नदी प्रणाली हो ।
मुक्तिनाथदेखि देवघाटसम्म कालीगण्डकी तटमा रहेका दर्जनौँ तीर्थस्थलले यसको धार्मिक महत्व एवं साँस्कृतिक पाटोलाई दर्शाउँछ । कालीगण्डकी सभ्यता बोकेको नदी हो ।