५ मंसिर २०८१, बुधबार

कविता : बालुवाटारको मन्त्री र मन्दिरमा चढाएको बोको


रामचन्द्र तिम्सिना

कसले किन कुन स्वार्थमा बनायो नियम ?
कसले किन कुन स्वार्थमा चलायो चलन ?
थाहा छैन मलाई,
मानवलाई देवता र जन्तुलाई भगवान् !!

रीति थियो कि कु-रीति ?
बडो फसाद छ भक्तालुलाई,
नियम नमानौं वीर पुर्खा रिसाउने,
नियम मानौं भावी पुस्ता रिसाउने !!

चुट्न पिट्न नहुने,
मार्न काट्न पनि नहुने बोको ,
गाली गलौज र बिरोध गर्न नहुने मन्त्री,
देवीको प्रसाद र भगवानको आशीर्वाद …….
बडो फसाद भक्तालुलाई,
स्यालले पनि नखाने, बाघले पनि नलाने !!

नामै काफी छ मान्यवर ,
“मन्दिरको बोको´´…र,
“बालुवाटारको मन्त्री´´…
उट्पट्याङ्गको हद पार गर्छ,
खाडीमा अलपत्र नेपाली छोड्छ,
निगमलाई घाटा, जनतालाई पीडा बाढ्छ !!
बडो फसाद छ भक्तालुलाई,
बेईमान गर्न जान्दैन भनेको नि मान्दैन !!

देवी रिसाए एउटा बिध्न,
बोको रिसाए अर्को बिध्न,
मन्त्री रिसाए झन अर्को बिध्न,
बडो फसाद भक्तालुलाई,
छोरी चेली भन्दैन, नियम कानुन मान्दैन !!

आफै ठुस्स गनाएर बस्छ,
बाहिर सुगन्ध सुंघ्दै हिड्छ,
मन्दिरको खादैन,
बिदेश डुल्न छोड्दैन,
बडो फसाद छ भक्तालुलाई,
मारौं धर्म नासिने, नमारौं नियम मासिने !!

डर लाग्छ कतै,
गति छाडा बोको र,
गति छाडा मन्त्रीले गर्दा,
आस्था प्रती बितृस्णा जाग्ने पो होकी,
मेरो भन्नू यत्ती छ मान्यवर …..
चढाएको बोको भित्र भगवान ,
बनाएको मन्त्री भित्र मानवता सवार होस !!

रामचन्द्र तिम्सिना
(आवाज)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !