मट्टीतेलको आडमा
धिपधिप बल्थ्यो
नाकबरी कालो मुस्लो पस्थ्यो
कहिले कापी किताब,
कहिले ओछ्यान पोल्थ्यो !
आफू मधुर भएर पनि
चहकिला देखिन्थे हरफहरु !
गहकिला भेटिन्थे लाईनहरु !!
सुन्दर लाग्थ्यो कथा अनि
सुनौला लाग्थे निबन्धहरु !!
याद अझै ताजै छ
भुगोलको नक्सा छाप्न काम आउँथ्यो मट्टीतेल
चप्पलको फित्ता जोड्न काम आउँथ्यो टुकी !
याद आउँछ झलझली
आफू भर-रात जाग्राम रहेर
सुताउँथ्यो मलाई घरीघरी !!
खैर,
अब त जमाना फेरिएछ
मेरो प्यारो टुकीसंगै
मेरा बचपनहरु पनि
इतिहास बनेछन् !!
टुकिका सहाराले कोरिएका प्रेमपत्रहरु सुली चढेछन् !
ती रंगिन प्रेमिल शब्दहरु शहिद बनेछनन् !!
मैले पढेका अक्षर र सिकेका ज्ञानहरुले आत्महत्या गरेछन् !!
साच्चै हो साथी,
झुपडीमा तिम्रो रोशनीद्वारा आर्जेका ज्ञानहरु शहिद बनेछन् !
सत्य, निष्ठा र कर्तव्यका पाठहरुले आत्महत्या गरेछन् !!
रामचन्द्र तिम्सिना
(आवाज)