२ कार्तिक २०८१, शुक्रबार

कविता – नेताको अपमान नगरिदिनुस्


रामचन्द्र तिम्सिना

सजाईएका हुन वा मिल्काईएका
प्रेमले दिएका हुन वा घृणाले
सुकेका हुन वा आला
स्वदेशीले दिएका हुन वा बिदेशीले
चोरले दिएका हुन वा सज्जनले
आहा,
जति त्यो हड्डिमा छ अरुमा कहाँ …

कुकुर शब्द जति घृणित छ
त्यति नै प्यारो पनि छ
मालिक चिन्ने पुच्छर हल्लाउने
अपरिचितलाई भुक्ने
आदेशको शिरोधार्य गर्ने
इमान जमान नबेचेको
खुल्लामा बसेर पनि बन्धन रुचाउने…

केही बुझक्कडहरुले नेतालाई
कुकुरसंग तुलना गरेको पनि देखियो
मत भन्छु कुकुरमा जति इमानदारीता नेतामा हुँदैन !
तसर्थ बिन्ती छ,
तुलना गरेर कुकुरको बेइज्जत नगराईदिनुस !

एउटै हड्डिमा लुछाचुडी गर्ने
केही व्यबहार मिल्न गए पनि,
पुर्खौं देखिको कुकुर प्रतिको सम्मान उच्च छ !
एउटा गुण राम्रो छ कुकुरले आफ्नालाई टोक्दैनन र भुक्दैनन,
नेताले आफ्नालाई पनि छोड्दैनन !
तसर्थ बिन्ती छ,
तुलना गरेर अपमान नगराईदिनुस !!

पुच्छर हल्लाउने, सुंघ्ने र लुकाउने लक्षण दुबैमा पाईन्छ,
तथापी कुकुरसंग नेताको तुलना हुनै सक्दैन,
यी जन्मजातका पशु हुन,
तुलना गरेर लज्जित नतुल्याई दिनुस !!

भाग पुगुन्जेल लुच्छन
नपुगे झगड्छन यो बैज्ञानिक कारण नै हो,
तर आफ्नो घरमा अरुलाई प्रवेश नदिने
कुकुरको जुन बफादारिता छ त्यो बफादारिता नेतामा छैन !
तसर्थ बिन्ती छ,
तुलना गरेर बफादारिता नखोसिदिनुस !!
तुलना गरेर अपमान नगरिदिनुस !!

रामचन्द्र तिम्सिना
(आवाज)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !