२२ बैशाख २०८१, शनिबार

कविता – ~ सचिवालय बैठक ~


रामचन्द्र तिम्सिना

बेलायती रक्सी,
जर्मनी परफ्युम,
अमेरिकी र भारतिय एजेण्डा टेबुलमा सजाएपछि
बल्ल शुरु हुनेछ सचिवालय बैठक !!

भागबण्डामा किनबेच हुनेछ राष्ट्रियता,
डलरमा साटिनेछन स्वाभिमान,
गुट र उपगुटमा बिभक्त हुनेछन् दर्शन,
चाकडी र चाप्लुसिवादसंग लिलाम हुनेछन् सिद्धान्त,
अनि शुरु हुनेछ सचिवालय बैठक !!

गुप्तचरी र जासुशिको योजनामा,
प्रचण्ड र माकुने मनाउन,
माफिया, तस्कर रिझाउन र नागरिक रुवाउने योजना सहित,
शुरु हुनेछ सचिवालय बैठक !!

कर्णालीको बहस हुनेछ रातारात,
खाद्यान्न संकट बारे होईन सत्ता संकट बारे !
चीन, जापान, बेल्जियम र अरबको चर्चा हुनेछ,
बिकास र समृद्धिका लागि होईन राजदूत नियुक्तिबारे !
नुवाकोट, धादिङ, रसुवा अनि रोल्पा, रुकुम र जाजरकोटको बहस हुनेछ
आर्थिक बिकासको होईन राजनीतिक नियुक्तिको !!

दिनकै हुन्छ दिनकै हुनेछ ,
सत्ता केन्द्रित बहस,
सत्ता केन्द्रित एजेन्डा,
सत्ता केन्द्रित भागबण्डा,
बिदेशी ह्विस्किको चुस्कीसंगै,
शुरु हुनेछ सचिवालय बैठक !!

प्रचण्डलाई जुँगाको ताउ लगाउन,
माकुनेको अंशबण्डामा भाउ लगाउन,
ओलिको दम्भ र बामदेवको घमण्ड संगै
शुरु हुनेछ सचिवालय बैठक !!

मार्क्स, लेनिन र माओको सिद्धान्त गोजिमा बोकेर
पुँजिवादी संस्कारसंगै,
शुरु हुनेछ सचिवालय बैठक !!
अन्त्य हुनेछ सचिवालय बैठक !!

रामचन्द्र तिम्सिना
(आवाज)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !