६ जेष्ठ २०८१, आइतबार

सामूहिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै महिला


सामूहिक तरकारीखेती

स्याङ्जा, १५ जेठ । वालिङ नगरपालिका–१० स्थित बर्तुङ र राङ्दीका महिला सामूहिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै गएका छन् ।

गह्रौकालिका नागरिक सचेतना केन्द्रमा आबद्ध महिलाले सामूहिक तरकारी खेती थालेपछि उनीहरू आत्मनिर्भर बन्दै गएका हुन् । उनीहरुले २० रोपनी जमिनमा तरकारीखेती गरेका छन् । समूहमा आबद्ध महिलाले मौसमअनुसारको तरकारीका साथै काँक्रा, अदुवा, मुला, धनियाँ, बोडी, आलु लगाउने गरेका छन् । समूहकी सदस्य पेमा सुवेदीले महिलाले आफँै आत्मनिर्भर बन्नुपर्छ भनेर सामूहिक तरकारीखेती गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “तरकारीखेतीबाट भएको आम्दानीले आफूलाई चाहिएको सामान किनमेल गर्नाका साथै घर खर्चसमेत चलाउन सहज भएकाले महिलाले सामूहिक तरकारी खेती थालेका छन् ।” आम्दानी राम्रो हुनथालेपछि सामूहिक तरकारीखेतीतर्फ महिलाको आकर्षण बढ्दै गएको उहाको भनाइ छ ।

समूहमा आबद्ध भएर काम गर्दा सहज हुने भएकाले आफूहरु समूहमा आबद्ध भएर काम गरेको समहकी अध्यक्ष दुरबली एसकेले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई तरकारीखेतीका लागि आवश्यक पर्ने बीउबिजन वडा कार्यालयले दिने गरेको छ । हामीले उत्पादन गरेको तरकारी बेचेर त्यसबाट भएको आम्दानी समूहमै जम्मा गर्ने गर्छौं । वडा कार्यालयले विद्यालयको जग्गा भाडामा लिएर हामीलाई तरकारी खेती गर्न दिएको छ, यो सहयोगले महिलालाई पनि केही गर्नुपर्छ भनेर उत्साहित बनाएको छ ।”

वडा सदस्य लुकमाया एसकेले महिला एकजुट भएर समूहमा काम गर्दा बाँझो जमिनको पनि सदुपयोग हुने र आयआर्जन पनि गर्न सकिने भएकाले आफू पनि समूहमा आबद्ध महिलासँगै काम गर्ने गरेको बताउनुभयो । एक्लाएक्लै काम गर्दाभन्दा समूहमा काम गर्दा सहज हुने भएकाले महिला उत्साहित भएको उहाँको भनाइ छ । वडाले पूर्णामृत भवानी माध्यमिक विद्यालयको करिब ३० रोपनी जग्गा वार्षिक रु ५० हजार भाडामा लिएर गह्रौकालिका सचेतना केन्द्रमा आबद्ध दलित तथा आर्थिक अवस्था कमजोर भएका महिलालाई सामूहिक रुपमा तरकारीखेती गर्नका लागि निःशुल्क उपलब्ध गराएको वडाध्यक्ष अनन्तराज गैरेले बताउनुभयो । उहाँले भन्नुभयो, “वडालाई फलफूल र तरकारीमा आत्मनिर्भर बनाउने योजनाका साथ समूहमा काम गर्न चाहनेलाई हामीले सहयोग गर्दै आएका छौँ । समूहले उत्पादन गरेको तरकारीलगायत फलफूल बिक्री नभएको वडा कार्यालयले खरिद गर्छ, किसानलाई मर्का पर्न दिन्नौँ ।”

वडा कार्यालयले बीउबिजनका साथै प्राविधिक सहयोग र सिँचाइको समेत व्यवस्था मिलाइदिएपछि समूहमा आबद्ध भएर तरकारीखेतीको शुरुवात गरेका महिला थप उत्साहित भएका छन् । विद्यालयको बाँझो रहेको जमिनमा खनजोत गरेर तरकारीखेती शुरुवात गरेका महिलाले अहिले १५ रोपनी जग्गामा खेती गरेका छन् भने अरु जमिनमा रहेको घाँससमेत बिक्री गर्ने योजना रहेको समूहकी सदस्य पेमा सुवेदीले बताउनुभयो । अहिले यहाँ आधुनिक तरिकाले बोडी, करेला, भिन्डी, लौका, फर्सी, भन्टा, काँक्रा, धनियाँ, काउलीलगायतका तरकारीकोे खेती गरिएको छ । यहाँ उत्पादन भएको तरकारी नगरपालिकामा नै खपत हुने गरेको उहाँले बताउनुभयो ।

तरकारी खेती गर्न सो समूहलाई वडा कार्यालयले बीउ, मल, किटनाशक औषधि निःशुल्क रुपमा उपलब्ध गराउनुका साथै कृषि प्राविधिकलाई समय समयमा खटाउने गरेको छ । कार्यालयले व्यावसायिक तरकारीखेती गर्न इच्छुक महिला कृषक समूहलाई सहयोग गरेपछि यहाँका महिलाले सामूहिक तरकारीखेती गर्न थालेका हुन् । कृषि र पर्यटन विकासको नारा बोकेको वडा कार्यालयले तरकारी खेतीका लागि वडामा गठन भएका महिला समूहलाई सहयोग गर्दै आएको वडाध्यक्ष गैरेले बचाउनुभयो । उहाँले सामूहिक तरकारी खेती गर्ने महिलालाई आधुनिक कृषि प्रणाली र बेमौसमी तरकारीखेतीसम्बन्धी तालिमसमेत दिएको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !