९ असार २०८१, आइतबार

कृषिवस्तु बजारीकरण गर्न आकस्मिक ढुवानी सेवा


विमला केसी

सुर्खेत, ९ वैशाख । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि तथा पशुपक्षीजन्य वस्तु बजारीकरणका लागि आकस्मिक ढुवानी सेवा सञ्चालन गर्ने भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीको अध्यक्षतामा सोमबार बसेको बैठकले आकस्मिक ढुवानी सेवा सञ्चालनको निर्णय गरेको हो । कोरना भाइरसको रोकथाम तथा नियन्त्रणार्थ नेपाल सरकारले गरेको बन्दाबन्दीले किसानको उत्पादन सहजै बजारीकरण नहुने समस्यालाई सम्बोधन गर्न मन्त्रालयले आकस्मिक ढुवानी सेवाका निम्ति दुईवटा गाडी सञ्चालन गर्ने निर्णय गरेको सहकारीमन्त्री केसीले जानकारी दिनुभयो ।

“हामीले यहाँका (तरकारी, दूध, अण्डा, मासु) व्यापारी तथा जिल्ला प्रशासन सुर्खेतलाई राखेर यो निर्णय गरेको छौँ”, मन्त्री केसीले भन्नुभयो, “अब किसानले उत्पादन गरेका तरकारी, दूध, अण्डा र मासुजन्य वस्तुको बजारमा सहज आपूर्ति हुनेछ । यसबाट उत्पादक, व्यापारी र उपभोक्ता सबैले लाभ लिनेछन् ।” उहाँले अत्यावश्यक काममा सहजीकरण गर्न प्रशासनलाई अनुरोध गरिएको जनाउनुभयो ।

बन्दाबन्दीले किसानको उत्पादन बजारमा नपुग्दा कुहिएर उनीहरु मारमा पर्ने, यता उपभोक्ताले खान नपाउने अवस्थालाई ध्यानमा राखेर मन्त्रालयले अण्डा, तरकारी, दूध र मासु व्यापारीलाई सहजै किसानसँग सम्पर्क राख्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । व्यापारीसँग सहज पहुँच नभएका र कारणवश उत्पादित वस्तु बजार पु¥याउन नसकेका किसानको सहजीकरणका लागि पशुपक्षी तथा कृषि विकास निर्देशनालयको गाडीले आकस्मिक ढुवानी सेवा दिने उहाँको भनाइ थियो ।

यसका लागि दुवै निर्देशनालयमा र्यापिड रेस्पोन्स सेन्टर तत्काल बनाएर काम थालनी हुने भन्दै मन्त्री केसीले भन्नुभयो, “यो निर्णय कार्यान्वयनका लागि पशुपक्षी तथा कृषि उपजमा देखापरेका समस्या समधान गर्न मन्त्रालयका निमित्त सचिव हरिप्रसाद पण्डित संंयोजकत्वको गठित कार्यदललाई निर्देशन दिइएको छ । उक्त कार्यदलले विभिन्न बाली तथा तरकारीका बीउ सङ्कलन र भण्डारण गर्नमा समेत सहयोग गर्नेछ ।” उहाँका अनुसार बन्दाबन्दीका कारण भोलिको खाद्य सङ्कटलाई रोक्न र बाली भित्र्याउने समयलाई नचुकाउन किसानलाई सामाजिक दूरी कायम गरेर खेतबारीमा काम गर्न अनुरोध गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !