१० मंसिर २०८१, सोमबार

कोरोनाको कहर-पशुपालक कृषकमा असर


पशुपालन फार्म

तानसेन, २५ चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) को सङ्क्रमण फैलिन नदिनका लागि सरकारले लागू गरेको लकडाउनका कारण पशुपालक कृषक मारमा परेका छन् । लकडाउनका कारण जिल्लामा उत्पादन हुने दुग्धजन्य पदार्थ बिक्री भएको छैन भने पशुलाई खुवाउने दाना आयातमा समस्या भएको छ । पाल्पा जिल्लामा व्यवसायिक रुपमा पशुपालेका कृषकले दुहेको दुध पशुलाई नै खुवाउन बाध्य भएका छन् ।

रामपुर नगरपालिका— ८ मा नागिनी एग्रो एण्ड रिसर्च सेन्टर सञ्चालक नरनारायण अर्यालले भैंसी दुहेर दुध भैंसीलाई नै खुवाउन बाध्य भएको गुनासो गर्नुभयो । करिव १० महिनाअघि व्यवसाय थाल्नुभएका अर्यालको रिसर्च सेन्टरमा अहिले ५९ वटा भैंसी छन् । यसअघि दैनिक २ सय ४० लिटरसम्म दुध बिक्री गरेका अर्यालले अहिले दाना अभावमा दैनिक एक सय ९० लिटर दुध उत्पादन भएपनि बिक्री गर्न समस्या रहेको बताउनुभयो । रु. एक करोड ४० लाख मूल्य बराबरको आम्दानी गरेर भैंसी पालेका अर्यालले सञ्चालन गरेको डेरी समेत दिनभरि खोल्न नपाउँदा दुध बिक्रीका लागि समस्या परेको बताउनुभयो ।

रामपुर नगरपालिका— ५ का जिवनाथ ढुङ्गानाको उन्नत गाई फर्ममा ठूलासाना गरी १० वटा गाई छन् । गाउँका अन्य कृषकबाट समेत दैनिक ५ सय लिटर दुध सङ्कलन गरेर आफ्नै डेरीबाट बिक्री गरेपनि अहिले रोकिएको उहाँको भनाइ छ । यसअघि नै दानाको जोहो गरिसकेकाले दानाभन्दा चोक्कर र बरानको अभाव भएको उहाँले बताउनुभयो ।

पाल्पाको तिनाउ गाउँपालिका डुम्रेमा रहेको सहकारीमा आवद्ध कृषकलाई पनि दाना अभावका कारण समस्या भएको छ । डुम्रे दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडका व्यवस्थापक तथा गाईपालक कृषक गोपाल जिसीले दाना अभाव भएर दुध उत्पादन घटेको तर बिक्रीका लागि भने समस्या नभएको बताउनुभयो । २६ वटा गाई पाल्नुभएका कृषक जिसीले सहकारीमार्फत जम्मा भएका दुध पोखरा पुर्याउने व्यवस्था मिलाएको जानकारी दिनुभयो । सहकारीमा आवद्ध ५०० सदस्यमध्ये धेरै पशुपालनमा आवद्ध छन् । यसवाहेक निजी ढङ्गले पशुपाल्नेलाई दाना पाउनै गाह्रो छ । २०६८ सालमा फर्म दर्ता गरेर सञ्चालनमा ल्याएको सहकारीले जिल्ला तथा जिल्ला बाहिरसमेत दुध बिक्री गर्दै आएको छ ।

जिल्ला भेटेनरी तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख डाक्टर चन्द्रबहादुर रानाले जिल्लामा ३ सयको हाराहारीमा दुग्धजन्य पशुपालक कृषक रहेको बताउँदै यसअघि ८ हजार लिटर दुध उत्पादन हुने बताउनुभयो । उहाँका अनुसार अहिले केही सहकारीमार्फत पशुपालक कृषकले कास्कीको पोखरामा दुध पठाउने गरेका छन् । दैनिक रुपमा करिव २९ सय लिटरसम्म दुध पोखरा जाने गरेकोमा अहिले दाना र सुख्खा घाँसको अभावमा उत्पादन घटेको छ । “अहिले जिल्लामा जम्मा ६ हजार लिटरको हाराहारीमा दुध उत्पादन हुन्छ, उत्पादन भएको दुध बिक्रीका लागि बजार नखुलेपछि कृषक मारमा परेका छन्”, केन्द्रका प्रमुख डाक्टर रानाले भन्नुभयो ।

दाना नपाउँदा मर्न थाले कुखुरा
तुलसीपुरः दाङको तुुलसीपुरमा दाना नपाउँदा ब्रोइलर कुखुरा मर्न थालेका छन् । सरकारले कोरोना भाइरस (कोभिड–१९)लाई दृष्टिगत गरि लकडाउन गरेपछि सप्लायर्सले दाना उपलब्ध नगराउँदा कुखुरा मर्न थालेको तुलसीपुरका किसान राजेन्द्र पोखरेलले बताउनुभयो ।

“चैत ११ गतेदेखि दाना ढुवानी हुन सकेको छैन् । त्यसले गर्दा कुखुराले दाना पाएका छैनन्”, उहाँले भन्नुभयो, “दाना नपाउँदा कुखुरा मर्न थालेका छन् ।” यस अघि चैत १७ गते तुलसीपुर उपमहानगरपालिका, सप्लायर्स र किसानबीच भएको बैठकले किसानलाई सप्लायर्सले दाना आपूर्ति गर्ने भन्ने सम्झौता भएपनि त्यो कार्यान्वयन नहुँदा किसान मारमा परेको उहाँको भनाइ छ । “दाना आपूर्ति नहुँदा केही दिन घरमा रहेको चामल, मकै कुटाएर खुवाउने गरियो, त्यो पनि सकियो”, उहाँले भन्नुभयो, “अहिले हामी पानी खुवाइरहेका छौं, त्यसले कति दिन टिक्नु, केही मरिसके, बाँकी रहेकालाई पनि स्थानीयवासीमा बाँड्न थालेका छौं ।”

सप्लायर्ससँग एकसय रुपैयाँ किलोका दरले कुखुरा लैजाने र सोही अनुसार दाना उपलब्ध गराउने सम्झौता भएको अर्का किसान बसन्त पौडेलले बताउनुभयो । “सप्लायर्सहरुले एकसय किलो माग गरेका थिए, सोही अनुसार सम्झौता गरियो” उहाँले भन्नुभयो, “ पछि एकसय रुपैयाँ किलोका दरले पनि लिन आएनन्, अहिले नगद भएपछि मात्रै दाना उपलब्ध गराउने, उधारो उपलब्ध नगराउने भन्दै आएका छन् ।” लकडाउनको समयमा व्यवसाय पनि नहुँदा नगद पैसा पनि दिन नसकिने अवस्था रहेको र सप्लायर्सले कुखुरा पनि नउठाउँदा किसानहरु मारमा परेको उहाँको भनाइ छ ।

ब्रोइलर कुखुरा ४० देखि ४५ दिनसम्म उठाइसक्नु पर्ने भएपनि अहिलेसम्म पनि नउठ्दा निःशुल्क वितरण गर्ने गरेको किसानको गुनासो छ । अहिले तुलसीपुर क्षेत्रमा करिब ३५ हजार तयारी कुखुरा रहेको किसान पोखरेलले बताउनुभयो । कुखुरापालक किसान अहिले पलायन हुने अवस्थामा रहेको समेत उहाँको भनाइ छ । अहिले सप्लायर्सहरु पनि बाँडिने गरेकाले समस्या भएको उहाँले बताउनुभयो । “तुलसीपुरमा ३०÷३५ वटा सप्लायर्स छन्, ती सप्लायर्सका पनि आ–आफना किसान छन्”, उहाँले भन्नुभयो, “ती सप्लायर्सले आफ्ना किसानहरुबाहेक अरुलाई उपलब्ध नगराउने कार्य पनि भएको छ ।”

सप्लायर्सले भने आफूहरुलाई उत्पादन कम्पनीले नै दाना उपलब्ध नगराएको गुनासो गरेका छन् । तुलसीपुर कुखुरा व्यवसायी सङ्घका अध्यक्ष तारा पौडेलले भन्नुभयो, “हामीले लकडाउनको अवस्थामा नगद कारोबार गर्न सक्दैनौं, किसानबाट चल्ला लिएपनि बिक्री हुने अवस्था छैन्, तर दाना उत्पादन कम्पनीले नै हामीलाई दाना उपलब्ध नगराउने भएपछि किसानसम्म दाना पु¥याउन समस्या भएको छ ।” उहाँका अनुसार प्रशासनले दाना बोक्ने गाडीलाई पास दिएको भएपनि कुखुरा बोक्ने गाडीलाई पास नदिँदा पनि समस्या उत्पन्न भएको छ । दाना उत्पादक कम्पनीले आफूहरुले जिल्लामा जति पनि दाना उपलब्ध गराउन सक्ने बताउँदै आएको छ । दाङ पोल्टि फर्मका प्रबन्ध निर्देशक धनेश्वर वलीका अनुसार अहिले जिल्लामा आवश्यक पर्ने जति दाना उत्पादन छ । आफूले उधारो कारोबार नगर्ने भन्दै नगद आए जति पनि दाना उपलब्ध गराउन सक्ने उहाँको भनाइ छ ।

किसानको माग अनुसार उपमहानगरपालिका, किसान र सप्लायर्सबीच कुखुरा ढुवानीमा सहजता ल्याउने, विहान ६ देखि ८ र साँझ ४ देखि ६ बजेसम्म मासु पसल खुल्ला गर्ने सहमति भएको तुलसीपुर उपमहानगरपालिकाका आर्थिक समितिका संयोजक माधव वलीले बताउनुभयो ।

दाङमा बाली भित्र्याउने चटारो
लमही : यतिखेर किसानलाई बाली भित्र्याउने चटारो छ । मसुरो, गहुँ, जौ, तोरीलगायतका बाली भित्र्याउन किसानहरु खेतबारीमै व्यस्त हुने गरेका छन् । ‘‘लकडाउनमा घरमै बस्नुपर्ने हो, खेतबारीमा बाली पाकेको छ, बाली स्याहानुपर्ने बाध्यता छ’’, स्थानीयवासी मोहन वलीले भन्नुभयो ।

परिवारका सवै सदस्य मास्क लगाएर लकडाउनको पालना गर्दै खेतीवाली स्याहार्न व्यस्त भएको उहाँको भनाइ छ । “लकडाउनको समयमा समूहमा भन्दा पनि दूरी कायम राखेर खेतवारीमा काम गरिरहेको छौं”, उहाँले भन्नुभयो । तुलसीपुर उपमहानगरपालिका— १० का किसान कमला चौधरीले अहिले मसुरो र तोरी बाली स्याहार्न व्यस्त हुनुहुन्छ । ‘‘खाली समय सदुपयोग पनि हुने र खेती स्याहार्नु पर्ने भएकाले मास्क लगाएर भएपनि काम गरेका छौं ।’’ चौधरीले भन्नुभयो ।

सबैै परिवार घरमा जम्मा हुँदा खेती स्याहार्न सहज हुने भएकाले लकडाउनको समयमा पनि बाली भित्र्याउन लागेको किसान चन्द्रा वलीेले बताउनुभयो । ‘‘जोखिम त छ, जोखिम भएपनि खेतवारीमा बाली पाकेको छ,सङ्क्रमणको त्रासमा पनि बाली भित्र्याउनु पर्ने समस्या छ’’ उहाँले भन्नुभयो ।

त्यस्तै अन्य पशुपालक किसानलाई पनि गाई, भैंसीलाई घाँस खुवाउनका लागि लकडाउनको समयमा पनि खेतवारीमा जानुपर्ने वाध्यता छने । ‘‘गाई भैंसीलाई घाँसपात गर्नुपर्छ, जोखिम भएपनि खेतबारीमा जानुपर्ने वाध्यता छ’’ स्थानीयवासी रिता पुनले भन्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !