धनुषा, २१ चैत । विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसका कारण देश लकडाउनमा रहँदा धनुषासहित तराई मधेसका जिल्लाका किसानलाई खेतमा लगाइएको गहुँ बाली भित्र्याउने चिन्ता बढ्न थालेको छ । यो समय किसानका लागि खेतमा व्यतित गर्ने भए पनि लकडाउनका कारण उनीहरू खेतसम्म पुग्नसक्ने अवस्था छैन । खेतमा गहुँ पाकेर झर्ने अवस्थामा पुगिसकेको किसानको भनाइ छ ।
देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन लकडाउन हुँदा मानिस घरबाहिर निस्कन नपाएपछि किसान खेतमा पाकेको गहुँबाली कसरी भित्र्याउने भन्ने चिन्तामा छन् । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ का वडाध्यक्ष समेत रहेका कृषक जिवछ मण्डलले भन्नुभयो, “खेतमा लगाइएको गहुँ, रहरी दाल र मसुरो पाकेर झर्ने अवस्थामा पुगिसक्यो कसरी भित्र्याउने भन्ने चिन्ता लाग्न थालेको छ ।”
उहाँले हिउँदमा भएको वर्षाले केही गहुँ नष्ट गरिसकेको भए पनि बचेको बाली भित्र्याउने समयमा देशमा भएको लकडाउनले झनै भोकमरी ल्याउने बताउनुभयो । मण्डलले भन्नुभयो, “अहिले खेतसम्म जान सक्ने अवस्था पनि छैन, विश्व नै विपत्तिमा छ । बाहिर निस्कन मिल्दैन । प्रशासनले कडाइ गरेको छ । घरमा खाना छैन, खेतको बाली भित्र्याउन पाइने हो कि होइन कुनै ठेगान छैन ।”
हिउँदमा बढी वर्षा भएका कारण किसानले लगाएको अन्न बालीमा पहिले नै ठूलो क्षति पुगेको थियो । बाँकी रहेको गहुँ पनि पाकेर खेतमै झर्ने अवस्थामा पुगेको किसानको गुनासो छ । धनुषा जिल्ला समन्वय समितिका सभापतिसमेत रहेका अर्का किसान रामदेव यादवले भन्नुभयो, “अझै पनि मौसमको कुनै भर छैन । अहिले कुन बेला मौसम खराब हुनसक्छ । त्यसैले कसैगरी गहुँ बाली भित्र्याउने व्यवस्था सरकारले गरिदिनु पर्छ ।”
यन्त्रले गहुँ काट्ने गरेको भए पनि किसानले डिजेल नपाएको गुनासो गरेका छन् । सरकारले नै डिजेलको बिक्री वितरणमा रोक लगाएको भन्दै आयल स्टोरहरुले डिजेल दिन नमानेको किसानहरु बताउँछन् । मेशिनले गहुँ काट्दा मानिस जमघट पनि नहुने र गहुँ पनि भित्र्याउन सकिने भएकाले सरकारसँग किसानलाई डिजेलको व्यवस्था गरिदिन आग्रह गरेका छन् ।
लकडाउनले छोएन भित्री ग्रामीण भेगलाई
अर्कोतर्फ भित्री ग्रामीण भेगका किसानलाई चाहिँ यो लकडाउनले छोएको देखिन्न । शहरी क्षेत्रका मानिस एकाध बाहेक घरभित्रै बसिरहेका छन् । यद्यपी शहरभन्दा भित्री ग्रामीण भेगका कृषि पेशामा आश्रितको दैनिकीमा खासै परिवर्तन आएको छैन ।
ग्रामीण भेगमा खेती किसानी गर्नेहरुलाई तरकारी गोडमेल गर्ने, गाईवस्तुको हेरचाह र उनीहरुको आहाराको जोहो गर्ने कामका लागि पनि घरबाहिर ननिस्केर उपाय छैन । किसानहरुले तरकारी र दूध सदरमुकाम लिएर बिक्री गर्न छोडेका छैनन् । अझ अहिले किसानहरूलाई चैतेबाली गहुँ, मसुरो, रहरीलगायतका बाली काट्ने चटारो छ ।
धनुषाका अधिकांश नगरपालिका र गाउँपालिका गाउँ देहातहरुमा किसानहरूले धमाधम आफ्नो खेतमा काम गर्दै कोरोना भाइरसको समेत चर्चा गरिरहेका भेटिन्छन् । क्षीरेश्वरनाथ नगरपालिका–१० दिगम्बरपुरका किसानहरु बुधबार बिहान खेतमा काम गर्दै कोरोना भाइरसको त्रास बारे चर्चा गर्दै भेटिए । उनीहरूमा कोरोना भाइरसको त्रास त छ तर तराईमा अहिले चैतेबालीको चटारोले कोरोनाको भय भुलाइदिएको छ । अहिले घर भित्र्याएन भने बालीनै नाश हुने र वर्षभरि कसरी खाने भन्ने चिन्ता किसानहरूमा छ ।
बुधबार बिहान खेतमा काम गर्न आएका मजदुरहरुले एकआपसमा फुसफुस कुरा गरिरहेका थिए ‘पुलिस सब आदमी सबके येना भीडभाड देख्तै त मारतै’ अर्थात ‘प्रहरीले मान्छेहरुको भिडभाड देखेपछि कुटपिट गर्छन् ।’ उनीहरूले खेतमा काम गर्न नगए के खाने, कसरी खाने चिन्ता व्यक्त गरिरहेका थिए ।
घरभित्रै थुनिएर बस्दा आफूहरूलाई वर्षभरि खान नपुग्ने भन्दै तराईका किसानलगायत दैनिकी मजदुरी गरी खाने श्रमिकहरु नियमितरूपमा काममा जुटेका छन् । कोरोनाको त्रास भए पनि उनीहरूको काम पहिले झैं चलिरहेको छ ।
ग्रामीण भेगका किसानहरुले दैनिक दूध पुर्याइरहेका छन् । तरकारी बेच्नेले पनि बजार हाट आएर बेचिरहेका छन् तर पहिलेको तुलनामा उनीहरु समूहमा भने हिँड्दैनन् । मास्क लगाउँछन् । त्रास उनीहरुमा पनि छ । पहिले जस्तो एकै ठाउँमा बसेर तरकारी बेच्दैनन्, बाटोमा डुलेर घरघर तरकारी बिक्री गर्ने गरेका छन् ।
वटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउतले भन्नुभयो, “बाध्यता छ । पशुवस्तुलाई आहारा खोज्नका लागि पनि घरबाट निस्कनै पर्यो ।” ग्रामीण भेगमा घाँस काट्ने, गाईबाख्रा चराउने, गोठालो जानेलगायतका कार्य जारी रहेको अध्यक्ष राउतले बताउनुभयो । उहाँले भन्नुभयो, “सबै मानिस त्रसित छन् तर सचेत पनि छन् । दैनिक नगरी नहुने काम पनि स्थानीयले गरिरहेकै छन् ।”
“शहरका मानिसलाई लकडाउनमा कसरी समय बिताउने भन्ने चिन्ता छ तर हामीलाई कहिलै काम पुग्दैन”, वटेश्वर–५ शान्तिपुरका शान्तिदेवी चौधरीले भन्नुभयो, “केटाकेटीको हेरचाह, खानपिन, घाँस काट्ने, बस्तुभाउ हेर्ने, तरकारी गोडमेल, दूध र तरकारी बेच्न बजार जाँदै ठिक्क हुन्छ । के को लकडाउन कामै पुग्दैन । आराम गर्ने फुर्सद पनि हुँदैन ।”