बेझाड, १३ पुस । केराखेतीबाट मनग्य आम्दानी हुने भएपछि पाल्पाका कृषक व्यावसायिकरूपमा केराखेतीमा आकर्षित हुन थालेका छन् । बजारमा केराको माग बढ्न थालेपछि बाँझो रहेका जग्गा सदुपयोग हुने भन्दै यहाँका कृषकले व्यावसायिक तवरबाट केराखेती शुरु गरेका हुन् ।
रामपुर नगरपालिका–६ मैदानबारी बस्ने लोकनाथ ढकालले राम्रै अन्नबाली उत्पादन हुने जग्गामा केरा लगाउनुभएको छ । उहाँले डेढ वर्षअघिदेखि व्यावसायिक तरिकाले केरा लगाउनुभएको हो । राम्रै धान उत्पादन हुने करीब नौ रोपनी जग्गामा उहाँले मालभोग, जिनाइन र उइलियम जातको ९०० बोट केरा लगाउनुभएको छ । यो वर्ष कृषि शाखाबाट अनुदानमा ५०० बोट केरा लगाएको ढकालले जानकारी दिनुभयो । “रामपुरमा बाहिरबाट ठूलो परिमाणमा केरा भित्रिएको छ, यहाँको उत्पादन नहुँदा बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ, यो देखेर अन्नबाली राम्रै उब्जनी हुने जग्गामा केरा लगाउन थालेको छु”, उहाँले भन्नुभयो ।
नगरपालिका–५ बस्ने सोमबहादुर सेनले एक हजार ५०० बिरुवा केरा लगाउनुभएको छ । खाली रहेको जग्गा सदुपयोग गर्दै तीन वर्षअघिदेखि व्यावसायिकरूपमा केरा लगाउन थालेको उहाँले बताउनुभयो । सेनले २० रोपनी क्षेत्रफलमा केरा लगाउनुभएको छ । यो वर्ष पनि विस्तार गर्ने उहाँको योजना छ । “जग्गा सुदपयोगमा आउने, आम्दानी पनि हुने हुँदा बाँझै रहेका जग्गामा केरा लगाएको छु, उत्पादन विस्तारै हुन थालेको छ, केराखेतीका लागि चितवन, बुटवललगायतका क्षेत्रमा पुगेर अध्ययन गरेर आएको छु, अझ व्यवसाय बढाउँदै जानेछु”, उहाँले भन्नुभयो ।
धान, मकैजस्ता अन्नबालीको तुलनामा केराबाट राम्रो आम्दानी लिन सकिने कृषक बताउँछन् । नगरपालिका क्षेत्रमा करीब ५०० रोपनी क्षेत्रफलमा केराखेती गरिएको छ । व्यावसायिकरूपमा यहाँका २५ कृषकले केरा लगाएका छन् । नगरपालिका–३ को रजघरा, ५ को गौडाहान, ६ को मैदानबारी क्षेत्रमा व्यावसायिकरूपमा कृषकले केराखेती शुरु गरेका छन् । व्यावसायिकताको हिसाबले एक कृषकले कम्तीमा चार रोपनी क्षेत्रफलमा २०० बोटदेखि बढीमा २० रोपनी क्षेत्रफलमा एक हजार ५०० बोटसम्म केरा लगाएको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार शाखाले यस वर्ष आठ हजार ५०० र गत वर्ष तीन हजार ५०० केराका बिरुवा कृषकलाई अनुदानमा वितरण गरेको छ ।
“रामपुर क्षेत्रले जिल्लाकै केराखेतीका लागि सम्भावना बोकेको छ, बिक्रीका लागि बजार सहज, भौगोलिक भू–बनोट मिलेको हँुदा केरा लगाएर कृषकले मनग्य आम्दानी गर्न सक्छन्”, उहाँले भन्नुभयो । कृषि शखाले कृषकलाई पूर्ण ढुवानी अनुदानसहित तन्तु प्रजननबाट उत्पादित गरिएको बिरुवा ५० प्रतिशत अनुदानमा उपलब्ध गराउँदै आइरहेको छ । यो क्षेत्रका लागि उत्तम मानिएको जीनाइन, उइलियम हाइब्रिड, रगुस्ता, मालभोग जातको केरा कृषकले लगाएका छन् ।
फालिएका जग्गा सदुपयोगमा आउने हुँदा पनि पछिल्लो समय कृषकले व्यावसायिक तवरबाट केरा लगाउन थालेका हुन् । कृषि शाखाले केराखेती सम्बन्धमा स्थलगतरूपमा प्राविधिक सेवा दिन थालेपछि कृषकले व्यवसाय बढाउँदै गएका छन् । कृषि र पर्यटनको नारा बोकेको नगरपालिका–६ ले फलफूलमा केराखेतीलाई प्राथमिकता दिएको छ । यस वडालाई आलु पकेट क्षेत्रसँगै अब केराको पकेट क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको नगरपालिकाका प्रवक्ता तथा वडाध्यक्ष हुमनाथ न्यौपाने बताउनुहुन्छ ।
“तरकारीमा आलु, फलफूलमा केरा, मासुजन्यमा बाख्रा, किराजन्यमा मौरीपालन कार्यक्रमलाई अगाडि सारेका छौँ, केरा पकेट विस्तारका लागि यो वर्ष प्रस्तावना बनाएर काम गर्ने योजना छ”, उहाँले भन्नुभयो । कृषि ज्ञानकेन्द्र पाल्पाले केरा क्षेत्र विस्तार प्रोत्साहन अनुदान कार्यक्रम यो वर्ष जिल्लामा सञ्चालन गर्दैछ । यस वर्ष कम्तीमा २० रोपनीदेखि १०० रोपनी क्षेत्र विस्तार गर्ने लक्ष्य रहेको ज्ञान केन्द्रका प्रमुख शिव अर्यालले बताउनुभयो ।
प्रदेशबाट केरा क्षेत्र विस्तार प्रोत्साहन अनुदान कार्यक्रमका लागि ज्ञान केन्द्रलाई रु पाँच लाख रकम प्राप्त भएको उहाँले बताउनुभयो । “कम्तीमा २० रोपनीको क्लष्टरमा केरा लगाएको हुनुपर्ने, एउटा बगैँचा कम्तीमा पाँच रोपनी र एक क्लष्टरभित्र २० रोपनी हुनुपर्नेछ, जग्गा भाडामा कम्तीमा १० वर्षसम्म सम्झौता भएको, बाँझो रहेको खेतीयोग्य जग्गामा खेती गर्नेलाई प्राथमिकता दिइनेछ”, उहाँले भन्नुभयो ।
केराको जात, रेखाङ्कन, खाडलको तयारी, मलखाद व्यवस्थापन, बगैँचा व्यवस्थापन प्राविधिक मापदण्डअनुसारको हुनुपर्नेछ । सिँचाइ सामग्री खरीदका लागि झार गोड्ने औजार उपकरण, विषादी छर्कने स्प्रेयर, बिरुवा रोप्नका लागि रेखाङ्कन, खाडलको तयारी र मलखादका लागि बिरुवा खरीद र बिरुवा ढुवानीका लागि निलकाँडा, बास र असुरोको छेकबार बनाउनुपर्नेछ । अन्तरबाली खेती गरेको अवस्थामा आवश्यक मलखाद, बेर्ना, विषादी पनि दिन सकिने ज्ञान केन्द्रले जनाएको छ ।