१ फाल्गुन २०८२, शुक्रबार

म्याग्दीमा ३१ करोड ६० लाखको सुन्तला उत्पादन


सुन्तला उत्पादन

म्याग्दी । यस वर्ष म्याग्दीमा रु ३१ करोड ६० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला म्याग्दीको प्रमुख नगदेबाली हो । ४३० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १० दशमलब पाँच मेट्रिक्टनका दरले चार हजार ५१५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि विकास कार्यालय, म्याग्दीले जनाएको छ ।

जिल्लाका विभिन्न ठाउँका बगँैचामा बाली कटानी गरेर सुन्तला उत्पादनको तथ्याङ्क सङ्कलन गरिएको कार्यालयका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिनुभयो । “४३० हेक्टर जमिनको बगैँचामा सुन्तला उत्पादन भएको छ,” उनले भने , “किसानले सरदर प्रतिकिलो रु ७० का दरले रु ३१ करोड ६० लाख मूल्य बराबरको सुन्तला बिक्री गरेका छन् ।”

म्याग्दीको ८३५ हेक्टर क्षेत्रफलमा सुन्तलाको बगँैचा रहेको छ । गतवर्ष ४२५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ११ दशमलव २५ मेट्रिक टनका दरले चार हजार ७८१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गत वर्ष रु ३४ करोड मूल्य बराबरको सुन्तला बिक्री भएको थियो ।

गत वर्षको तुलनामा पाँच दशमलव ५६ प्रतिशतले उत्पादन घटेको हो । यस वर्ष विभिन्न रोगकीराको सङ्क्रमण नभए पनि बोटमा दाना पातलो लागेकाले उत्पादन घटेको कार्यालय प्रमुख बाँस्तोलाले बताए ।

“यस वर्ष मौसमले साथ दिएको हो । रोगकीरा नदेखिएको र विपद्ले क्षति नगरे पनि यसपालि दाना कम लागेको छ”, बाँस्तोलाले भने “एक वर्ष अत्यधिक फल्ने र अर्को वर्ष कम दाना लाग्ने सुन्तलाखेतीको प्राकृतिक विशेषताका कारण उत्पादनमा असर परेको हो ।”

सुन्तलाखेती हुने जमिनको क्षेत्रफल र मूल्य बढे पनि उत्पादकत्वमा कमी आएको हो । गतवर्ष प्रतिकिलो रु ६५ का दरले सुन्तला बेचेका किसानले यस वर्ष प्रतिकिलो रु पाँच बढी मूल्यमा बिक्री गरेका छन् । राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेँडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा रहेका छन् ।

जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिनगायत बजारमा सुन्तला बिक्री भएको मङ्गला गाउँपालिका–३ भोर्लेनीका किसान ओम गिरीले बताउनुभयो । गिरीले आफ्नो बगँैचाबाट यस वर्ष रु ११ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको बताए ।

यातायात सुविधा भएकाले व्यापारी सुन्तला खरिद गर्न गाडी लिएर बगैँचामै आउने गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि विकास कार्यालय र स्थानीय तहको कृषि शाखाले सुन्तलाका बिरुवा वितरण, प्राविधिक तालिम, बगैँचा व्यवस्थापन, साना सिँचाइ र बजारीकरणमा सहयोग गर्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !