नवलपुर, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा चिया खेती सुरुआत गरिएको छ । गैँडाकोट–१८ को बसेनी गाउँमा परीक्षणको रूपमा चिया खेती सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले १८ वडा रहेको यस पालिकाको पहाडी क्षेत्रमा पर्ने बसेनी गाउँमा परीक्षणका लागि सात हजार ५०० चियाको बिरुवा लगाइएको बताए । पहाडी क्षेत्र भएकाले यहाँको भूगोल र हावापानी उपयुक्त भएकाले परीक्षणका लागि चिया खेती सुरु गरिएको उनको भनाइ छ । “गैँडाकोटको यो १८ नम्बर वडा पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण स्थान हो” उनले भने, “यसै वर्षदेखि यहाँ पूर्वाधार विकास गरेर भविष्यमा बसेनीलाई पर्यटकीय गाउँको रूपमा विकास गर्ने नगरको योजना छ ।”
गैँडाकोट नगर उपप्रमुख शान्ति कोइरालाले गैँडाकोट नगरपालिका प्राकृतिक रूपमा सुन्दर र हावापानीले विविधताले भरिपूर्ण पालिका भएको बताए । हाल व्यक्तिगत र सामुदायिक रूपमा बसेनीमा चिया खेती गरिएको उनको भनाइ छ । “अहिले हामीले परीक्षणका रूपमा चिया खेती सुरु गरेका छौँ” उनले भने, “यसले राम्रो उत्पादन दियो र स्थानीय आकर्षित भए भने हामीले खेती बिस्तार गर्ने योजना बनाएका छौँ ।”
गैँडाकोटमा पर्ने पूर्वपश्चिम राजमार्गबाट आधा घण्टाको दूरीमा नै चिसो हावापानी र बाह्रै महिना जाडो हुने क्षेत्र रहेको भन्दै उनले गर्मी र जाडो दुवै हावापानी भएकाले यहाँ पर्यटकीय सम्भावना रहेको बताए । बसेनीमा चिया खेती गरेर पर्यटकलाई आकर्षित गर्ने योजना रहेको कोइरालाको भनाइ छ । बसेनीमा चिया बगान, सुन्तला खेती बिस्ता, घरबास(होमस्टे)सञ्चालन गरी पर्यटकीय क्षेत्र बनाउने अवधारणाअनुसार आफूहरू अगाडि बढेको उनले बताए।
गैँडाकोट नगरपालिका कृषि विकास शाखा प्रमुख राजुप्रसाद शर्माले गैँडाकोटको बसेनीमा चिया उत्पादन गरेर बिक्री गर्नभन्दा पनि पर्यटकीय दृष्टिकोणले खेती गरिएको बताए । यसैवर्षदेखि यहाँ होमस्टे निर्माण गर्ने योजना रहेको जनाउँदै शर्माले होमस्टेमा आउने पर्यटकलाई लक्षित गरेर उपहारका लागि चियाको ब्राण्डिङ गरिने बताए । चिया बगान हेर्न इलाम नै जानुपर्ने अवस्थाको अन्त्य गर्न र यहाँको पर्यटन प्रवर्द्धन गर्न चिया खेती सुरु गरिएको उनको भनाइ छ ।
“अहिले यस क्षेत्रबाट ठूलै सङ्ख्यामा पर्यटक इलाम जाने गर्नुभएको छ” उनले भने, “इलाम जाने पर्यटकलाई गैँडाकोट भित्र्याउने र उहाँहरूलाई घरमा जाने बेलामा उपहार दिने गरी चियाको खेती सुरु गरेका छौँ ।” गैँडाकोटमा आएर बस्ने पर्यटकलाई ‘मायाको चिनो’स्वरूप गैँडाकोटको चिया र स्थानीय उत्पादन कोसेली पठाइउने योजना रहेको शर्माले सुनाउनुभयो । जिल्लाकै विकट गाउँको रूपमा रहेको यस वडामा पछिल्लो समय विकास निर्माणका पूर्वाधार निर्माण हुँदै गएपछि आवागमन समेत सहज भएको उनको भनाइ छ ।
गाउँमा गरिएको चिया खेतीको सुरुआती तरणमा बसेनी टोल सुधार समितिले रेखदेख गर्ने र वडा कार्यालयले संरक्षण गर्नेगरी खेती सुरु गरिएको शर्माले बताए। उत्पादन सुरु भएपछि र स्थानीय खेतीमा आकर्षित भएपछि चिया खेती उपभोक्ता समूह बनाएर चिया बगान नै उनीहरूलाई हस्तान्तरण गर्ने लक्ष्य रहेको शर्माको भनाइ छ । अहिले सुरु गरिएको चिया खेतीबाट दुई वर्षभित्र उत्पादन लिन सकिने अपेक्षा गरिएको उनले बताए ।












