६ असार २०८१, बिहिबार

तनहुँको घिरिङमा व्यावसायिक अङ्गुरखेती


व्यावसायिक अङ्गुरखेती

दमौली, तनहुँ । तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–४ बाह्रबिसेमा गत वर्षदेखि व्यावसायिक रूपमा अङ्गुरखेती थालिएको हो । घिरिङ भाइन यार्ड एण्ड रिसर्च सेन्टरले ७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती गरेकामा पहिलो वर्ष नौ हजार किलो अङ्गुर उत्पादन भएको थियो ।

यस वर्ष २० हजार किलो उत्पादनको लक्ष्य रहेको सेन्टरका सञ्चालक कुमार कार्कीले जानकारी दिए । उनका अनुसार स्वीट्जरल्याण्डबाट प्रतिबिरुवा रु सात सयदेखि एक हजारसम्म खरिद गरी ल्याइएको थियो ।

उनले भने, “पहिलो वर्षमै राम्रो उत्पादन भयो, यो वर्ष उत्पादन बढ्ने विश्वास छ ।” अङ्गुरखेतीका लागि रु एक करोड ५० लाख लगानी भएको छ । यहाँ उत्पादित अङ्गुर धादिङमा पठाउने गरिएको छ ।

धादिङको थाँक्रे गाउँपालिका–१० जुङेखोला केवलपुरमा विगत १५ वर्षदेखि तीन सय रोपनी क्षेत्रफलमा ३० हजार बिरुवा लगाएर व्यावसायिक अङ्गुरखेती गरी वाइन उत्पादन हुँदै आएको कार्कीले बताउनुभयो । कम्पनीले धादिङमा रु ३८ करोड ५० लाखको लागतमा अङ्गुरखेतीसँगै ‘वाइन’उत्पादन गर्दै आएको हो ।

कार्कीले भने, “कम्पनीसँग हाल वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता छ ।” फार्ममा ३२ प्रजातिका अङ्गुरखेती गरिए पनि आठदेखि १० प्रजातिका अङ्गुरबाट मात्र मनग्य उत्पादन भएको उनले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !