१९ बैशाख २०८१, बुधबार

थुलुङ दूधकोशीमा उत्पादित कफी विश्वमा नै उत्कृष्ट


कफी खेती

सल्लेरी, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा उत्पादन भएको कफी विश्वमा नै उत्कृष्ट रहेको अध्ययनले जनाएको छ । इको हिमाल नेपालकै पहलमा यहाँ उत्पादित कफी बेलायत र अष्ट्रेलिया लगायतका राष्ट्रमा नमुना परीक्षणका लागि पठाउँदा उत्कृष्ट प्रमाणित भएको इको हिमाल नेपालका कार्यकारी प्रमुख नारायण ढकालले बताए ।

नमुना परीक्षणका क्रममा कफीको नतिजा उत्कृष्ट पाएपछि कृषकलाई थप हौसला बढेको कार्यकारी प्रमुख ढकालको भनाइ छ । केही वर्षअघि बारीमा लगाइएको कफीको बोट नष्ट गर्न थालेका कृषकले पुनःनयाँ बिरुवा लगाउन थालेका स्थानीयवासी कृषक नेतकुमार राईले बताए । आफूले केही बोट कफी नष्टको अनुभव सुनाउँदै उनले स्थानीय सरकारले बजारीकरणको जिम्मा लिएपछि सहज हुने र ढुक्कसँग खेती गर्ने वातावरण सिर्जना भएको सुनाए ।

थुलुङ दूधकोशीले पालिकामा नै कफी प्रशोधन गर्ने भएपछि यहाँका कृषक खुसी भएका छन् । गाउँपालिका प्रवक्ता कार्कीका अनुसार अहिले कफी प्रशोधन गर्ने मेसिन खरिदलगायत अन्य संरचना निर्माणको तयारी तीव्र पारिएको छ । करिब रू ७० लाखको लागतमा उक्त परियोजनाको कार्य भइरहेको उनको भनाइ छ ।

उपकरण खरिदमा गाउँपालिका र द ग्लासियर ट्रष्ट बेलायतको लगानी हुनेछ भने अन्य तालिमलगायतमा इको हिमाल नेपालको भूमिका रहने बताइएको छ । यसरी आफ्नै पालिकामा कफी प्रशोधन हुने भएपछि स्थानीयवासी कृषक हर्षित भएका छन् । यसअघि आफूले उत्पादन गरेको कफीले बजार पाउने निश्चित नहुँदा खेतीतर्फ आकर्षण नभएको जनाउँदै देउसाका अगुवा कृषक युवराज राईले थुलुङ दूधकोशीले कृषितर्फ चालेको कदमले उत्साह पैदा भएको बताए ।

कृषिमा राम्रो सम्भावना भए पनि सरकारको ध्यानदृष्टि नपुगेका कारण विदेश पलायन हुनेदर बढिरहेका बेला स्थानीय सरकारको एकपछि अर्को कदमले गर्दा आफूलाई जापान जाने अवसर प्राप्त हुँदा बेवास्ता गरेको उनले सुनाए । अध्यक्ष राईले राम्रो कफी उत्पादन गर्ने कृषकलाई पुरस्कार दिने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !