९ पुस २०८१, मंगलबार

म्याग्दीमा धनियाँ खेतीबाट वार्षिक तीन लाखभन्दा बढी आम्दानी


धनियाँ खेती

गलेश्वर । दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक रु तीन लाखभन्दा बढी आम्दानी गर्छन् । बेनी नगरपालिका–२ खबराका नारायण कार्कीले आफ्नो घर अगाडिको खेतमा व्यावसायिक रुपमा गरेको धनियाँ खेतीबाट राम्रै आम्दानी गरेका हुन् ।

कार्कीले डेढ रोपनी जग्गामा धनियाँ खेती गरेका छन् । धनियाँको साथमा ब्रोकाउली, बन्दा, टमाटर, काउली, गाँजर, केराउलगायतका तरकारी खेती गरेका कार्कीले धनियाँ बेचेर मात्र एकै मौसममा रु डेढ लाखभन्दा बढी आम्दानी भएको बताए । हिउँद र वर्षा गरी दुई सिजनमा तरकारीका साथै धनियाँ खेती गरिन्छ । सात सयको बीउ र चार हजार बराबरको श्रम खर्चेर धनियाँ खेती गरेका कार्कीले खेती विस्तार गर्ने योजनामा रहेको सुनाए ।

म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिल नजिकै कार्कीले पसल र तरकारी खेती गरेका छन् । लभ्लीहिलमा आन्तरिक पर्यटकको वृद्धिसँगै कार्कीको कृषिउपजको पनि त्यतिकै बिक्री बढ्ने गरेको छ । लभ्लीहिलमा आएका युवायुवती, गृहिणी र लोग्नेमान्छेले समेत बारीबाट नै ताजा तरकारी आफैँ टिपेर लैजाने गरेका कार्कीले बताए । “अहिले अरु तरकारी सकिएको छ, तर धनियाँ भने प्रशस्तै छ”, कार्कीले भने ।

कार्कीले धनियाँको एउटा मुठोलाई रु २० देखि ३० सम्ममा बिक्री गर्दै आएका छन् । कार्कीको खेतबाट नै दैनिक ५० देखि ८० मुठा धनियाँ बिक्री हुने गरेको छ भने बाँकी नजिकको बेनी बजारमा लगेर बिक्री गर्दै आएका छन् ।

असिनाले हिउँदेबाली र तरकारीखेती नष्ट

शुक्रबार परेको भीषण असिनाले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा भित्र्याउने बेलाको हिउँदे बाली र तरकारी खेतीमा ठूलो क्षति पुर्याएको छ ।

अन्नपूर्ण गाउँपालिका–७ हिस्तानलगायत उत्तरी म्याग्दीका विभिन्न गाउँमा दिउँसो परेको बाक्लो असिनाले पाक्नै लागेको हिउँदेबाली नाश गरिदिएपछि किसान चिन्तित भएका हुन् । म्याग्दीको उच्च लेकाली क्षेत्रमा वर्षासँगै परेको असिनाले खेतीबालीमा क्षति पुर्याएको किसानले बताएका छन् ।

हिउँदे खडेरीमा दुःखले हुर्काएको बाली असिनाले चुटेर नष्ट गरिदिएको हिस्तानका कृषक रमेश पुर्जाले बताए । शुक्रबार ३ बजेतिर हिउँजस्तै जम्ने गरी असिना परेको र खेतबारीमा पाक्नै लागेको बाली सबै नष्ट गरिदिएको उनको भनाइ छ ।

खेतबारीमा लगाएको गहुँ, तोरी, केराउ, जौ, उवालगायत भित्र्याउने समय भएका हिउँदेबालीमा असिनाले क्षति गरेको छ । भर्खरै उम्रदै गरेको मकै, सिमी, आलु, काँक्रो, घिरौलालगायतका तरकारी र बालीका बिरुवामा समेत क्षति पुगेको कृषक देवी पुनले बताए ।

त्यसैगरी सुन्तला जातका फलफूल र केरा खेतीमा पनि असिनाले क्षति पु¥याएको छ । असिनाले गरेको क्षतिको विवरण सङ्कलन भइरहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । गएको असोज अन्तिम साता परेको वर्षापछि कात्तिक, मङ्सिर, पुस र माघ महिनाभर वर्षा नभएका कारण सिँचाइको सुविधा नभएका ठाउँमा गरिएको गहुँ, आलु, जौ, फापरलगायतको खेती भने राम्रोसँग फस्टाउन नपाएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताए ।

अलिअलि भएको बाली समेत असिनाले नष्ट गरिदिँदा किसानहरु मारमा परेको उनले बताए । जिल्लामा सिँचाइ सुविधा पुगेको झन्डै पाँच हजार हेक्टर जमिनबाहेक अधिकांश स्थानका कृषक भने वर्षाको भरमा निर्भर रहनुपर्ने अवस्था छ ।

कृषि ज्ञान केन्द्रका अनुसार खडेरीका कारण हिउँदे खेती उत्पादनमा ३५ देखि ४५ प्रतिशतसम्म कमी आएको छ । सबैभन्दा बढी तेलहन बालीमा असर परेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । त्यसबाहेक गहुँ, फापर, जौलगायत मौसमी तथा बेमौसमी तरकारीबालीमा समेत असर परेको छ ।

विगत वर्षमा तीन-चार पटक हिमपात भइसक्ने म्याग्दीका उच्च लेकाली क्षेत्रमा यो वर्ष भने चैत लागिसक्दा पनि हिमपात हुन सकेको छैन । जिल्लाका गुर्जा, मुदी, टोड्के, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका उच्च लेकाली क्षेत्रमा हिमपात नहुँदा पशुपालक कृषकलाई समस्या भएको छ ।

बुकी र खर्कमा हिमपात नभएपछि घाँस पलाउन नसक्दा पशुपालक कृषकलाई समस्या भएको हो । समयमा नै हिमपात नहुँदा लेकाली क्षेत्रमा लगाइएको आलुलगायत हिउँदेबालीको उत्पादनमा ह्रास आएको छ भने पशुलाई चरनको समेत समस्या हुने देखिएको किसानले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !