१४ पुस २०८१, आइतबार

९२ प्रतिशत रोपाइँ सकियो


धान रोपाइँ

चितवन । जिल्लामा हालसम्म ९२ प्रतिशत धान रोपाइँ सकिएको छ । यहाँका सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिकामा १० र माडी नगरपालिकामा ५ प्रतिशत रोपाइँ गर्न बांँकी छ ।

कृषि ज्ञान केन्द्र भरतपुरले दिएको जानकारी अनुसार पूर्वी चितवनका स्थानीय तहमध्ये राप्ती, खैरहनी रत्ननगर, कालिका नगरपालिका र इच्छाकामना गाउंँपालिकामा सबै रोपाइँ सकिएको छ ।

ज्ञान केन्द्रका प्रमुख राजन ढकालका अनुसार जिल्लाका सात स्थानीय तहमध्ये भरतपुर महानगरको धानयोग्य जमीनले झण्डै आधा क्षेत्रफल ओगटेको छ । भरतपुरकोे अन्य स्थानमा रोपाइँ सकिए पनि पश्चिम क्षेत्रमा मकै थन्क्याउन र धानको बीउनै ढिला राख्ने हुँदा रोपाइँमा ढिलाइ भएको हो । पूर्वी चितवनमा चैते धानपछि लगत्तै बर्खे धान लगाएर रोपाइँ शुरुआत गरिन्छ । धानपछि तरकारी लगाउने भएकाले चाँडै धान लगाउने चलन रहेको उहाँले जानकारी दिनुभयो ।

यही साउनको दोस्रो सातासम्म रोपाइँ सकिने अनुमान केन्द्रको छ । यसवर्ष वर्षात छिटो हुनु, मल बीउको अभाव खासै नभएकाले पनि रोपाइँ विगतका वर्षमा भन्दा चाँडो भएको उहाँको भनाइ छ । गत वर्षमा भदौको अन्त्यसम्म धान रोपाइँ हुने गर्दथ्यो ।

यहाँको खेतीयोग्य जमीनमध्ये वर्षभरि र मौसमी गरी ७२.७ प्रतिशत जमीनमा सहजै सिँचाइ पुगेको ज्ञान केन्द्रले जानएको छ । गतवर्ष २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा बर्खे र चैते गरी धान लगाइएको थियो । चैते धानको उत्पादकत्व प्रति हेक्टर ४ दशमलब २ मेट्रिक टन र वर्षेको ३ दशमलब ५२ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !