११ मंसिर २०८१, मंगलबार

कोरोनाको बेवास्ता गर्दै मल किन्न लाइनमा


मल

धादिङ, १४ भदौ । रासायनिक मलको अभाव भएको बेला मागको एक चौथाइ मल धादिङ ल्याएर वितरण शुरु गरिएको छ । नीलकण्ठ नगरपालिका–३ मा रहेकोे नीलकण्ठ बहुउद्देश्यीय सहकारी संस्थामा ४२० बोरा रासायनिक मल ल्याएर वितरण शुरु गरिएको सहकारीका सञ्चालक सीतारामप्रसाद बर्माले जानकारी दिनुभएको छ ।

एक महिनाअघिदेखि युरिया नामक रासायनिक मल अभाव खेपिरहेका किसान मल लिनका लागि सहकारीले मल वितरण गर्ने क्षेत्र अगाडि भीड लागेका थिए । कोरोना भाइरसको जोखिमको समय भएको बेला भए पनि ठूलो सङ्ख्यामा किसान र व्यापारी जम्मा भएर मल बिक्री गरिएको थियो ।

एकै स्थानमा धेरै मानिस भीडभाड गर्दा कोरोना सर्छ भन्ने डर भए पनि किसान धान फलाउने अभिलाषाले कोरोनाको डर नमानी मल लिन आएका थिए । मास्क नलगाई लाइनमा तीन÷चार घण्टा बसेका किसानले एक बोरा मल तीन जना किसानका लागि पाएपछि किसान मल लिएर घर फर्किएका छन् ।

मल लिन आएका आधाजसो किसानले मल नपाएपछि रित्तै घर फर्किन बाध्य भएको गुनासो गरेका छन् । निषेधाज्ञा लगाइएको बेलामा धेरै मानिस भीडभाड गरेर मल वितरण गरिएको भए पनि अत्यावश्यक किसानसम्म रासायनिक मल नपुगेको किसानको गुनासो छ । सीमित मात्रामा मल आएका कारण कतिपय किसान खाली हात फर्कनुपरेको थियो ।

प्रत्येक वर्ष खेतीपातीको याममा किसानले मलको अभाव खेप्दै आइरहेका छन् । धादिङमा यही अवधिमा तीन हजार ९०० मेट्रिक टन मल आवश्यक रहेको नेपाल खाद्य संस्थान गजुरीले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !