गलेश्वर ९ भदौ । म्याग्दीको अधिकांश खेतीयोग्य जमिनमा अम्लीयपन बढ्दै गएको पाइएको छ ।
रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा प्राङ्गारिक पदार्थको कमी हुँदा अम्लीयपन बढेको हो । माटोबाट बालीले लिएको भन्दा बढी खाद्यतत्वको आपूर्ति हुन नसक्दा र माटोमा अम्लीयपन बढ्दा बाली बिरुवामा विभिन्न खाद्यतत्वको कमीका कारण उत्पादनमा समेत ह्रास आउन थालेको कृषि प्राविधिकहरुको भनाइ छ ।
माटो परीक्षण नगरी रासायनिक मलको जथाभावी र गोबर मलको घढ्दो प्रयोगले माटोमा अम्लीयपन बढ्दै गएको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो । “माटोमा अम्लीयपन बढ्दा फलफूल, तरकारी र अन्नबालीको उत्पादनमा वर्षेनी ह्रास आउने गरेको छ”, उहाँले भन्नुभयो, “माटोको उर्वराशक्तिमा दिगोपना ल्याउने र बिरुवाको सन्तुलित पोषण प्रक्रिया अपनाउने योजना बनाउनु आवश्यक भएको छ ।” उत्पादन बढी लिन र प्रयोग गर्न पनि सजिलो हुने भएकाले किसानले रासायनिक मलको प्रयोग अत्यधिक गर्ने गरेका छन् । जसले गर्दा माटोको ऊर्वरशक्तिमा ह्रास भई उत्पादनमा कमी आउँदै गएको उहाँको भनाइ छ ।
खेतबारीबाट बढी उत्पादन लिने उद्देश्यले जथाभावी रुपमा रासायनिक मलको प्रयोग गर्दा माटोमा अम्लीयपन बढ्दै गएको र यसले उत्पादनमा कमी आउनुका साथै अन्न तथा फलफूलको पोष्टिक तत्व समेत हराउदै जान थालेको आग्र्यानिक कृषिलाई प्राथमिकता दिँदै आउनुभएका म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो । अज्ञानताका कारण पहिला पहिला आफूले पनि रासायनिक मलको बढी प्रयोग गर्ने गरेको र पछि विस्तारै उत्पादन घट्दै जाँदा रासायनिक मलको प्रयोग कम गर्दै अहिले प्राङ्गारिक मलमात्र प्रयोग गर्न थालेको उहाँले बताउनुभयो । पहिला पहिला खेतबारीबाट बढी उत्पादन लिनका लागि गोठे मल तथा प्राङ्गारिक मलको प्रयोग हुन्थ्यो । तर हिजोआज किसानले गाईभैँसी पाल्न छोडेपछि गोठे मलको प्रयोग कम भएको छ । अहिले गोठे मलको विकल्पमा रासायनिक (युरिया, डिएपी) मलको प्रयोग बढ्न थालेपछि माटोमा अम्लीयपन बढ्नु र त्यसको प्रत्यक्ष प्रभाव कृषि उत्पादनमा परेको उहाँको भनाइ छ ।
कृषि प्राविधिक बानियाँका अनुसार प्राङ्गारिक र रासायनिक मलको सन्तुलित प्रयोगबाट मात्र माटोको उर्वराशक्ति र उत्पादन दिगो हुनसक्ने भए पनि यसतर्फ किसानले चासो दिन सकेका छैनन् । सकभर खेतवारीमा रासायनिक मल आफूखुसी प्रयोग गर्नु हुँदैन । प्रयोग गर्नैपर्ने भए प्राङ्गारिक र रासायनिक मलको सन्तुलन मिलाएर प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो । बिरुवालाई आवश्यक पर्ने नाइट्रोजन, फस्फोरस, पोटास, क्याल्सियम म्याग्नेसियम, सल्फर, नाइट्रोजन र सुक्ष्म तत्वका रुपमा रहेका फलाम, ताँबा, वोरोन, मोलिब्डेनम र क्लोरिनजस्ता खाद्यतत्वको आपूर्ति गर्न माटोमा प्राङ्गारिक पदार्थ हुनु आवश्यक रहेको उहाँले बताउनुभयो ।
माटोको अम्लीयपन हटाउन प्रतिकट्ठा खेतमा ८० किलोदेखि ९० किलो कृषि चुनको प्रयोग गरे माटोको अम्लीयपन हटाई तटस्थमा ल्याउन सकिने उहाँको भनाइ छ । उहाँका अनुसार सन्तुलन मिलाएर रासायनिक मलको प्रयोग गर्दा युरियामा ४० प्रतिशत नाइट्रोजन, डिएपीमा १८ प्रतिशत नाइट्रोजन र ४६ प्रतिशत फस्पोरस तथा पोटासमा ६० प्रतिशत पोटासियम तत्व प्राप्त हुन्छ । यसले माटोमा अम्लीयपना वृद्धि हुनबाट रोक्छ र उत्पादनमा सघाउ पुर्याउँछ । उहाँले भन्नुभयो, “जथाभावी रासायनिक मल प्रयोग गर्दा उल्टो परिणाम प्राप्त हुन सक्ने भएकाले किसानले प्राङ्गारिक र रासायनिक मलको सन्तुलित प्रयोगमा गम्भीर हुनुपर्छ ।”
माटोमा अम्लीयपन बढे उत्पादन स्वतः घट्ने कृषि प्राविधिकहरुको भनाइ छ । प्राविधिक मापदण्ड अनुसार तीन भाग युरियाको प्रयोग गर्दा दुई भाग डिएपी र एक भाग पोटास अनिवार्य हुन्छ तर पछिल्लो समयमा युरियाको मात्रा बढी प्रयोग गरेका कारणले माटोमा ऊर्वराशक्ति प्रत्येक वर्ष ह्रास हुँदै गएको उनीहरुले बताउनुभयो । जिल्लामा कुल खेतीयोग्य जमिनमध्ये ३ हजार ८ सय ९२ हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ । विगतमा खेतबारीमा हरियो मल, गोठे मल कम्पोष्ट मलको प्रयोग हुने गरे पनि अहिले रासायनिक मलको प्रयोग बिना खेती हुन छाडेपछि यो मल प्रयोग गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ ।