२६ चैत्र २०८२, बिहिबार

अन्तत: पदमुक्त भए श्रममन्त्री दिपककुमार साह


दिपककुमार साह

काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई पदमुक्त गरेका छन् । विभिन्न विवादमा मुछिएका साहको विगत पनि विवादित पृष्ठभूमिको रहेको बुझिएकोले प्रधानमन्त्री बालेनले साहलाई मन्त्रीबाट हटाएका हुन् ।

प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार आज बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेको उनको सचिवालयले जनाएको छ । रास्वपा सभापति रवि लामिछानेले बिहीबार नै श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमती जुनु श्रेष्ठलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बिमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए ।

यसअघि बुधबार नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले यस विषयमा विस्तृत अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने प्रतिवेदन पार्टीसमक्ष पेस गरेको थियो । मन्त्री साहको यस्तो गतिविधिबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामा गम्भीर आँच पुग्ने देखिएको निष्कर्षसहित रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री शाहसमक्ष आयोगको प्रतिवेदनसहित सिफारिस पेस गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

साहको विगतदेखि नै विवादित छवि रहेको र अहिले मन्त्री बनेपछि पनि शंकास्पद काममा संलग्न भएको छनक पाएपछि प्रधानमन्त्रीले हटाएका हुन् । साह विगतमा एजुकेसन कन्सल्टेन्सीको विवादमा परेका व्यक्ति थिए । रास्वपाले आफ्ना सांसदलाई मन्त्रीमा पठाउँदा जुनसुकै बेला फिर्ता बोलाउन सक्ने भनेको थियो । अहिले अनुशासन समितिले छानबिन गरिरहेको र ‘राइट टु रिकल’ नीति अनुसार प्रक्रिया अघि बढाइएको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !