काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रहरी परिसर कार्यालय, काठमाडौंको निरीक्षण गरेका छन्। उनले आज प्रहरी कार्यालयको निरीक्षण गर्दै जिम्मेवार र पारदर्शी भएर जनहितमा काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए। उनलाई उच्चपदस्थ प्रहरी कर्मचारीले स्वागत गरेका थिए।
गृहमन्त्री गुरुङले निरीक्षणपछि प्रहरीलाई समाजमा शान्ति, सुरक्षा, अमनचयन कायम गर्नरगराउन आफ्नो भूमिका जिम्मेवारीपूर्वक बहन गर्न निर्देशन दिए। प्रहरीले कर्तव्यपालना गर्ने क्रममा कुनै पनि तहबाट हस्तक्षेप नहुने बताउँदै उनले आपराधिक गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरीले प्राप्त गरेको कुशलताको प्रशंसा गरे।
गृहमन्त्री गुरुङले आमनागरिकसँगको सम्बन्धलाई थप सुमधुर बनाउँदै नागरिक र प्रहरीबीच मित्रवत् सम्बन्ध कायम राख्न शिष्ट बोली, वचन र व्यवहार आवश्यक पर्नेमा जोड दिए।
उनले नागरिकका समस्या समाधान गर्न शिष्टताका साथ लाग्नुपर्ने बताए। समाजले प्रहरीप्रति हेर्ने दृष्टिकोणलाई सकारात्मक परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले त्यसका लागि उत्कृष्ट सेवा प्रवाह महत्वपूर्ण माध्यम रहेको धारणा राखे।
नागरिकको सेवालाई केन्द्रमा राखेर प्रहरीले सेवा उपलब्ध गराउन सुझाव दिँदै गृहमन्त्री गुरुङले विभिन्न प्रकारका विपद् व्यवस्थापनमा प्रहरीले अग्रपङ्क्तिमा रहेर भूमिका निर्वाह गरिरहेको र आगामी दिनमा पनि गर्नुपर्ने बताए। उनले प्रहरीलाई थप आत्मनिर्भर र सशक्त बनाउन साधनस्रोतयुक्त बनाउनुका साथै समयानुकूल आवश्यक तालिमको व्यवस्थापन गर्दै जाने प्रतिबद्धता जनाए।













