१५ फाल्गुन २०८२, शुक्रबार

निर्वाचनमा शान्तिसुरक्षाको प्रत्याभूति गरिएकाले ढुक्क भएर मतदान गर्नुहोस्ः मन्त्री अर्याल


ओमप्रकाश अर्याल

वीरगञ्ज, पर्सा । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा शान्ति सुरक्षाको प्रत्याभूति गरिएकाले ढुक्क भएर मतदान गर्न सबैलाई आग्रह गरे ।

पर्सा र बारा जिल्लामा ‘निर्वाचनको सुरक्षाको वर्तमान अवस्था, चुनौती र समाधान’ विषयक छलफल कार्यक्रममा गृहमन्त्री अर्यालले ढुक्क भएर मतदान गर्ने वातावरण तयार पारिएको बताए । “प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका विषयमा आवश्यक छलफल गरेका छौँ । निर्वाचनमा सुरक्षाको प्रत्याभूति दिनेगरी हामीले सम्पूर्ण तयारी गरेका छौँ”, उनले भने, “यहाँका स्थानीय प्रशासन तथा सुरक्षा निकायले निर्वाचनको लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउनुभएको छ ।”

गृहमन्त्री अर्यालले बारा र पर्सा जिल्लामा निर्वाचन लक्षित सुरक्षाका विषयमा चुनौती नभएको दाबी गर्दै भएका चुनौती विस्तारै कम हुँदै गइरहेका उल्लेख गरे । “यहाँ देखिएका कतिपय सुरक्षा चुनौतीलाई जिल्ला सुरक्षा समितिले रोकथाम गर्दै आइरहेको छ”, उनले भने ।

गृहमन्त्री अर्यालले कानुन उल्लङ्घन गर्नेलाई अहिलेको अन्तरिम (नागरिक) सरकारले कानुनको दायरामा ल्याउने प्रतिबद्धता जनाए । “कानुन उल्लङ्घन गर्नेलाई कानुनी दायरामा ल्याउनेमा कुनै शङ्का छैन । यसबारे यसअघि रौतहटको स्थानीय प्रशासनले देखाइसकेको छ”, उनले भने , “निर्वाचन लक्षित सुरक्षा व्यवस्था प्रभावकारी पारिएकाले पनि जनताले ढुक्क भएर मतदान गर्ने अवस्था तयार भइसकेको छ ।”

गृहमन्त्री अर्यालले निर्वाचनको मतदान गर्ने केही दिन मात्र बाँकी रहेकाले सो अवधिसम्म शान्तिसुरक्षा चुस्तदुरुस्त गराउन थप पहल भइरहेको जानकारी दिए ।

“निर्वाचनको दिन पनि प्रभावकारी हामीले शान्तिसुरक्षाको प्रत्याभूति गराउन र भयरहित मतदानको वातावरणमा तयार गर्न सरोकार भएका निकाय प्रतिबद्धताका साथ लागिरहनुभएको छ”, उनले भने, “वर्तमान सरकारले प्रशासनिक सुशासन कायम गर्नुका साथै अब निर्वाचनमार्फत राजनीतिक सुशासन कायम गर्नेतर्फ अग्रसर छ । अब राजनीतिक सुशासनको जग बसाल्ने छौँ ।”

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्राले दुवै जिल्लामा निर्वाचनको शान्तिसुरक्षाको अवस्था र चुनौतीका विषयमा जानकारी गराएका थिए । त्यसैगरी पर्साका प्रहरी प्रमुख नरेशराज सुवेदी र बाराका प्रहरी प्रमुख नरेन्द्र कुँवरले जिल्लामा निर्वाचनको तयारी र शान्तिसुरक्षाको विषयमा गृहमन्त्रीलाई जानकारी गराएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु