![इरानद्वारा वेल्स पराजित](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2022/11/Iran-World-Cup.jpg?fit=1024%2C538&ssl=1)
काठमाडौँ । इरानले वेल्सलाई पराजित गर्दै कतारमा जारी फिफा विश्वकप फुटबलमा पहिलो जित दर्ता गराएको छ । कतारको अहमद बिन अलि स्टेडियममा आज भएको खेलमा वेल्सलाई २–० गोल अन्तरले हराउँदै इरानले पहिलो जित दर्ता गरेको हो ।
इरानको जितमा रौजबेह चेस्मी र रामिन रिजाइनले समान एक एक गोल गरे । दुबै गोल खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा भएको थियो ।
खेलको ९८औँ मिनेटमा चेस्मीले गोल गर्दै इरानलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको १०१औँ मिनेटमा रामिनले गोल गर्दै इरानलाई २–० को जित दिलाए ।
यस्तै खेलको ८६औँ मिनेटमा वेल्स १० खेलाडीमा समेटिएको थियोे । इरानका तारेमी मेहदीलाई पेनाल्टी क्षेत्रबाहिर फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले वेल्सका गोलकिपर वायन हेनेसीलाई रातो कार्ड दिँदै मैदान बाहिर पठाएका थिए ।
यस जितसँगै इरानले दुई खेलमा तीन अङ्क जोडेको छ । इरानले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ । पहिलो खेलमा इरान इङ्ग्ल्यान्डसँग ६–२ ले पराजित भएको थियो ।
वेल्सले दुई खेलमा एक अङ्क जोडेको छ । वेल्स पहिलो खेलमा अमेरिकासँग एक–एक गोलको बराबरीमा रोकिएको थियो ।