काँचुली फेर्दै रुपन्देहीको मर्चवार Nepalpatra काँचुली फेर्दै रुपन्देहीको मर्चवार
१५ मंसिर २०७९, बिहिबार

काँचुली फेर्दै रुपन्देहीको मर्चवार


रुपन्देहीको मर्चवार

भैरहवा । रुपन्देही जिल्ला नेपालमा सम्पन्न जिल्लाहरू मध्ये एक हो । अन्र्तराष्ट्रिय विमानस्थल, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, विशेष आर्थिक क्षेत्र, मुलुककै दोस्रो ठूलो भन्सार नाका, औद्योगिक क्षेत्र, ठूला ठूला बाटोले रुपन्देहीलाई सम्पन्नतातर्फ डोहोर्याएको छ ।

रुपन्देही जिल्ला सम्पन्नउन्मुख हुँदा जिल्लाकोे दक्षिणी क्षेत्र मर्चवार अपेक्षाकृत रूपमा विकास हुन सकेको छैन । प्रधानमन्त्री, गर्भनरदेखि प्रधानन्यायाधीशसम्म रहेको मर्चवार क्षेत्रमा अपेक्षाकृत विकास नहुनुमा यहाँको राजनैतिक नेतृत्व तथा शिक्षा प्रमुख कारण रहेको यहाँका स्थानीयवासीको ठम्याइ छ ।

मर्चवारबाट विजयी हुने तत्कालीन सांसदहरूले मर्चवारको विकासमा भन्दा सत्ता प्राप्तिमै बढी जोड दिएका थिए । फलस्वरुप अरुको तुलनामा मर्चवार समयमै उँभो लाग्न सकेन ।

विसं २०७४ मा भएको स्थानीय तह, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि मर्चवारमा विकासले विस्तारै काँचुली फेर्दैछ । स्थानीय तहहरूको प्रयास तथा सङ्घीय एवं प्रदेश सरकारमा रहेका सांसदहरूको प्रयासले मर्चवारमा पछिल्लो समय विकासले गति लिएको छ । प्रतिनिधिसभा सदस्य प्रमोदकुमार यादव, प्रदेशसभा सदस्य अष्टभुजा पाठक एवं वसिउद्दीन खाँको प्रयासमा अहिले मर्चवारमा विकास देखिन थालेको छ ।

निवर्तमान प्रतिनिधिसभा सदस्य प्रमोदकुमार यादवका अनुसार गुरवनिया–सेमरा चार लेनको बाटो, झुलनीपुर–अजमा पक्की बाटो र रमवापुर–भुवरी पक्की बाटोले अहिले मर्चवारलाई तीन तर्फबाट प्रवेशको बाटो खोलेको छ । यसले बनगाई हुँदै मर्चवार जाने एक मात्र बाटो भएकामा अहिले मर्चवारवासीलाई लुम्बिनीलगायतका स्थानमा सहज पहुँच पुर्याउने यादवले बताए ।

यसबाहेक मर्चवार क्षेत्रमा यसअघि हिलाम्य हुने प्रत्येक पालिकाका बाटोहरूलाई पक्की बाटोदेखि पिसिसी गरिएको उनले बताए । मर्चवारमा सहज पहुँचका लागि पक्की पुलहरू निर्माणको क्रममा रहेका यादवले जानकारी दिए । दानो नदीमा ठाउँ ठाउँमा झोलुङ्गे पुलको निर्माण गरिएको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनको भनाइ छ ।

स्तरीय अस्पतालको अभावमा मर्चवारका जनता भैरहवा, बुटवललगायतका ठाउँमा पुग्नु पर्ने बाध्यता रहेको थियो तर अहिले सम्मरीमाईमा आँखा अस्पताल निर्माणको अन्तिम चरणमा रहेको लुम्बिनी प्रदेशका निर्वतमान प्रदेशसभा सदस्य पाठकको भनाइ छ । साथै पालिकास्तरीय हेल्थपोष्टहरू पनि निर्माण भइरहेको उहाँले जानकारी दिए । यसका साथै मर्चवारकै विभिन्न स्वास्थ्य संस्थाहरूमा २४ घण्टे प्रसूतिको व्यवस्था गरिएको उनले बताए ।

शिक्षित मर्चवारको परिकल्पान गर्दै मर्चवारको केन्द्र मझगावामा रहेको विद्यालयमा प्राविधिक शिक्षासहितको उच्च शिक्षाको सुरुआत भएको छ । लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुदमन्त्री वसिउद्दिन खाँले इतिहासमै मर्चवार क्षेत्रमा शिक्षा क्षेत्रले अहिले उच्च प्राथमिकता पाएको बताए ।

“आधुनिक कलेज भवनहरूको निर्माण गरिएको छ । यससँगै प्रत्येक पालिकामा रहेका विद्यालयको भौतिक संरचना निर्माणको साथै गुणस्तरीय शिक्षाका लागि शिक्षकको क्षमता अभिवृद्धि, आधुनिक शैक्षिक सामग्रीको व्यवस्थापन गरिएको छ”, खाँले भने ।

मर्चवारमा सबैभन्दा बढी समस्याको रूपमा रहेको कृषिको विकासको लागि पनि सङ्घीय सांसद यादव, प्रदेशसभा सदस्यहरु पाठक र खाँमार्फत यसको सुधार भएको स्थानीयवासी बताउँछन् । मर्चवारमा मर्चवार लिफ्ट सिँचाइ रहेकोमा अहिले यसको क्षेत्र विस्तार भएको र यसको सुविधा पनि थपिँदै गएको स्थानीयवासी मुकेश यादवले बताए ।

निर्वतनमा सांसद यादवका अनुसारसुमेरगढमा पनि लिफ्ट सिँचाइको काम अगाडि बढेको छ । उनले कृषकहरूमा स्थानीय तहमार्फत कृषि बोरिङ वितरण गरिएको छ । यससँगै दीर्घकालीन सिँचाइका लागि बुटवलबाट आएको नहरलाई मर्चवारको मूल नहरमा जोड्न पनि सफल भएको बताए । यादवले मर्चवारको धार्मिक पर्यटनमा महत्व राख्ने महत्वपूर्ण स्थानहरु मर्चवारी मन्दिर, कोटहीमाई मन्दिर, देउरवा बाबालगायत दर्जन बढी स्थलहरूलाई पुनः निर्माणसँगै यसको विकासमा पनि पर्याप्त लगानी गरेको बताए ।

“मर्चवारमा रहेका धार्मिक एवं पर्यटकीय स्थलहरूको विकास तथा पुनः निर्माणमा यसअघिका सांसदहरूले पर्याप्त ध्यान दिन सक्नुभएन”, यादवले भने, “मर्चवारी देवीकै नामबाट मर्चवारको नाम रहेको छ । तर यसका भवनहरु जीर्ण छन् । अहिले यसको गुरुयोजना बनाई बहुवर्षीय योजनाअन्तर्गत बृहत् काम हुने क्रममा रहेको छ । यज्ञशाला, धर्मशाला निर्माण गरिएको छ । सुनसान हुने मर्चवारी मन्दिरमा चहलपहल हुने गरी काम गरेका छौँ ।”

मर्चवारी देवीसँगै यस क्षेत्रमा रहेका विभिन्न मठमन्दिर, मस्जिदमा आवश्यकताअनुसारको सहयोग गरेको उनले बताए । अहिले प्रतिनिधि सभा सदस्यको लागि नेपाली कांग्रेसबाट उम्मेदवारसमेत रहेका यादव सङ्घ र प्रदेशको निर्वाचनको केही समयपछि नै कोभिडको सन्त्रासका कारण जुन अनुपातमा काम हुनु पर्ने हो त्यो हुन नसकेको बताउनु हुन्छ । तर कोभिडपछिको डेढ वर्षमा नै मर्चवारको समग्र विकास देखिने गरी काम गरेको उनको दावी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !