२१ बैशाख २०८१, शुक्रबार

कुहिरो र सूर्योदय हेर्न तनहुँको मानुङकोट उक्लिदै आन्तरिक पर्यटक


मानहुँकोट फाइल फोटो

दमौली । चिसो मौसम सुरु भएसँगै कुहिरोले दमौली बजारलाई छोप्छ । घामको किरण सुरु भएसँगै कुहिरो विस्तारै फाट्छ । अनि दमौली बजार छर्लङ्ग देखिन्छ । साथमै देखिन्छ सुन्दर हिमश्रृङ्खला ।

चिसो मौसम सुरु भएसँगै आन्तरिक पर्यटक कुहिरो र सूर्योदय हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोट पुग्ने क्रम बढेको छ । पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भइरहेको मानुङकोटमा विस्तारै पर्यटकको चहलपहल बढ्न थालेको छ ।

मानुङकोटबाट कुहिरो, सूर्योदय र हिमालको मनोरम श्रृङ्खला देखिने भएकाले पर्यटकको चहलपहल बढेको व्यास नगरपालिका–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए। “जाडो महिनामा कुहिराले ढाकेको दमौली, सूर्योदय र हिमाल हेर्न पर्यटक मानुङकोट उक्लिने क्रम बढेको छ, दैनिक एक सयको हाराहारीमा पर्यटक मानुङकोट पुगिरहेका छन्,” श्रेष्ठले भने ।

मानहुँकोट
फाइल फोटो

मानुङकोटबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । व्यास नगरपालिका–३ शान्तिनगरका सौगातराज खनियाँले बिहान मानुङकोटबाट देखिने दृश्य अत्यन्तै लोभलाग्दो रहेको बताउनुभयो । “डाँडामा बसेर दमौली बजार ढाकेको कुहिरो हेर्दा आनन्द आउँछ, यहाँबाट देखिने दृश्य साँच्चै लोभलाग्दो छ”, उनले भने ।

मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर शहर झरेकापनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा विसं २०५२ सालमा मानुङकोट छाड्नुभएकी बसन्ती थापाले अहिले मानुङकोटमै होटल सञ्चालन गर्दै आएका छन् । मानुङकोटमा पर्यटकको चहलपहल बढेकाले दमौली छाडेर पुनः मानुङकोट उक्लिएको उनले बताए ।

मानुङकोट जाने सडक कालोपत्र भएको छ । अलैंचेबाट मानुङकोटसम्मको चार हजार तीन सय मिटर सडक कालोपत्र भएको हो । कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा एक सय ८० मिटर आरसिसी ढलान गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !