४ चैत, काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्र्रसाद अधिकारी गत वर्ष चैत २ गते सिंहदरबारमा आफ्नो पदबहालीका क्रममा भन्दै हुनुहुन्थ्यो, पर्यटन क्षेत्रमा प्रभावकारी सुधार ल्याएरै छोड्छु । मन्त्री अधिकारीले आफ्नो पहिलो नीतिगत निर्णय ‘सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने र निर्माणाधीन पोखरा, भैरहवा र निजगढ अन्तर्राष्ट्रिय निर्माणको प्रभावकारी निर्माण अघि बढाउने’ भनी गर्नुभयो । मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै प्रतिबद्धतानुरुप मन्त्री अधिकारी अहोरात्र खटिनुभयो ।
आयोजनास्थलको प्रत्यक्ष निरीक्षण, तल्लो तहदेखि उपल्लो तहका पदाधिकारीसँग बारम्बार छलफल र ताकेताले परिमाणात्मक गति लिएको थियो तर फागुन १५ गते पर्यटन क्षेत्रमै पर्ने तेह्रथुमको चुहानडाँडा विमानस्थल निरीक्षण तथा सम्भाव्यता अध्ययनपछि काठमाडौँ फर्कने क्रममा ताप्लेजुङको फुङ्लिङस्थित तारेढुङ्गा भीरमा भएको हेलिकप्टर दुर्घटनामा परी पर्यटनमन्त्री अधिकारीसहित सात जनाको निधन भयो ।
नागरिक उड्डयन क्षेत्रको विकास तथा सुधारकै सिलसिलामा मन्त्री अधिकारी हामीबाट टाढा भए पनि वर्तमान सरकार गठनको एक वर्षका अवधिमा पर्यटन क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको छ जसमा मन्त्री अधिकारीको अतुलनीय योगदान छ । मन्त्री अधिकारीको निजी सचिवको भूमिकामा काम गर्नुभएका पर्यटन मन्त्रालयकै उपसचिव दीपक थापाको अनुभवमा मन्त्री अधिकारी अन्यन्त दूरदर्शी, विकासप्रेमी, क्रियाशील र जुझारु हुनुहुन्थ्यो । उहाँ हरेक क्षण मन्त्रालयको काम, मातहतका निकाय र सञ्चालित आयोजनाबारे दैनिक विवरण लिनुहुन्थ्यो । ‘टिमवर्क’ मा रहेर सबै तहका कर्मचारीलाई समान व्यवहार गर्ने कार्यशैलीले पनि मन्त्री अधिकारीको कार्यकालमा आयोजनाको उल्लेख्य प्रगति भएको छ ।
एक वर्षका अवधिमा पूर्वाधार विकाससँगै नीतिगत सुधारमा पनि पर्यटन क्षेत्रले फड्को मारेको छ । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले मुलुकको पर्यटन क्षेत्रको प्रभावकारी विकास प्रवद्र्धनका काम अघि बढाएको छ । मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले वर्ष दिनमा मन्त्रालयले नीतिगत पक्ष, पूर्वाधार विकास र संस्थागत सुधारमा विशेष गति लिएको बताउनुभयो ।
राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारिता र पर्यटकीय सेवा सुदृढीकरणमा पनि उल्लेख्य प्रगति देखिन्छ । पर्यटन मन्त्रालयअन्तर्गत पाँच राष्ट्रिय गौरवका आयोजना(भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र बारास्थित दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तथा पशुपति क्षेत्र विकास कोष र लुम्बिनी विकास कोष) छन् ।
नागरिक उड्डयनमा उपलब्धि
मुलुकको एक मात्र अन्तरराष्ट्रिय त्रिभुवन विमानस्थलको स्तरोन्नति प्रभावकारी बनेको छ । विसं २०७४ फागुन ३ सम्म १० प्रतिशत प्रगति थियो भने एक वर्षका अवधिमा ३० प्रतिशत थपिएर ४० प्रतिशत प्रगति भएको छ । विमानस्थल सञ्चालन अवधि दैनिक चार घण्टा वृद्धि गरी २२ घण्टा कायम गरिएको छ । इतिहासमै पहिलो पटक विमानस्थलको धावनमार्ग कालोपत्रे (रनवे रिह्याब) को काम यही चैत १८ देखि शुरु हँुदैछ ।
गौतमबुद्ध विमानस्थलको प्रगति एक वर्षअघि करीब २६ प्रतिशत थियो । यस अवधिमा करीब ४१ प्रतिशत प्रगति भई ६७ प्रतिशत पुगेको छ । सन् २०१९ को जून महीनामा परीक्षण उडान तथा सेप्टेम्बरदेखि व्यावसायिक सञ्चालनमा ल्याउने गरी काम अगाडि बढेको आयोजनाले जनाएको छ ।
पोखरा विमानस्थल निर्माण तोकिएको समयभन्दा अगाडि सन् २०२० सम्म सम्पन्न गर्ने गरी काम अघि बढेको छ । उक्त विमानस्थलको करीब ४ प्रतिशत प्रगतिबाट एक वर्षका अवधिमा २७ प्रतिशत प्रगति भएको छ ।
त्यस्तै निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन स्वीकृत भई विमानस्थलाई आवश्यक ११० बिघा जग्गामध्ये ६५ बिघा जग्गा अधिग्रहण सम्पन्न भएको छ । विमानस्थलको चार किल्ला तोकी तारबारको काम भइरहेको छ ।
छ विमानस्थलमा रात्रिकालीन उडान
मन्त्रालयका अनुसार एक वर्षमा धनगढी र चन्द्रगढी विमानस्थलमा रात्रिकालीन उडान शुरु भई विराटनगर, सिमरा, भैरहवा, नेपालगञ्जसमेत गरी ६ आन्तरिक विमानस्थलमा रात्रिकालीन उडान सेवा सञ्चालन भएको छ ।
नेपालबाट हुने अन्तरराष्ट्रिय उडानका लागि आवश्यक हवाई मार्गका लागि भारतसँग भएको वार्तानुरुप थप हवाई मा उपलब्ध हुने गरी सहमति भएको र यसको प्राविधिक पक्ष अध्ययन गर्न दुवै पक्षबाट प्राविधिक टोली गठन भई काम अघि बढेको छ । नेपाल वायुसेवा निगमको इतिहासमै पहिलो पटक दुई वाइड बडी जहाज भित्र्याएर व्यावसायिक सञ्चालनमा ल्याइएको छ । निगमको आन्तरिक उडानमा प्रभावकारी सुधार प्रारम्भ भएको छ ।
द्विपक्षीय हवाई सम्झौता
नेपाल र कम्बोडियाबीच काठमाडौँमा द्विपक्षीय वार्ता भई दुवै पक्षबाट प्रतिहप्ता १४ उडान गर्न पाउने गरी नयाँ हवाई सेवा सम्झौता भएको छ । यो समेत गरी नेपालले हालसम्म ३९ मुलुकसँग हवाईसेवा सम्झौता गरिसकेको छ । नेपाल अन्तरराष्ट्रिय नागरिक उडड्यन सङ्गठन (आइकाओ) को गम्भीर सुरक्षा चासोको सूचीबाट सन् २०१८ २० जुलाइदेखि हटेको छ । युरोपेली सङ्घको कालोसूचीबाट हटाउन प्रभावकारी पहल भइरहेको छ ।
पर्यटनमा प्रगति
नेपाल भ्रमण वर्षको प्रवद्र्धनात्मक अभियान सञ्चालनका लागि मूल र कार्यक्रम कार्यान्वयन समिति गठन तथा सचिवालयको स्थापना भएको र राष्ट्रिय कार्यक्रम संयोजकको नियुक्ति भइसकेको छ ।
यस अवधिमा पर्यटकको आगमन वृद्धि भई झण्डै १२ लाख पुगेको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कानुसार सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् जुन सन् २०१७ को तुलनामा २४.७७ प्रतिशतले बढी हो । अध्यागमन विभागको पछिल्लो विवरणनुसार सन् २०१९ का दुई महीना जनवरी र फेब्रुअरीमा दुई लाख १६ हजार २१४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
सम्पदा पुनःनिर्माण एक वर्षअघि ९८ वटा मात्र भएको थियो भने यस अवधिमा ११४ थप सम्पदा पुनःनिर्माण भएका छन् । वर्ष दिनमा थप आठ तारे होटल थपिएका छन् । त्रिभुवन विमानस्थललाई परम्परागत संस्कृति र आधुनिकता झल्कने गरी ‘बुटिक’ विमानस्थलको रुपमा विकास गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । काठमाडौँ उपत्यकाभित्रका भूकम्पपछि क्षतिग्रस्त विश्वसम्पदामा सूचीकृत सम्पदा सर्वसाधारण र पर्यटकका लागि पुनःनिर्माण गरी खुला गरिएको छ ।
सय नयाँ पर्यटकीय गन्तव्य छनोट गरी प्रवद्र्धन थालिएको छ । आन्तरिक तथा अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धन प्रभावकारी बनाइएको छ ।
नीतिगत सुधारतर्फ
पर्यटन र सांस्कृतिक नीतिलाई समयानुकूल परिमार्जन गर्न मस्यौदा तयार भएको छ । नेपाल नागरिक उड्डयन ऐन तर्जुमा गर्न मन्त्रिपरिषदबाट स्वीकृति लिई काम अघि बढेको छ । पर्यटन ऐन मस्यौदालाई अन्तिम रुप दिइएको छ ।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानलाई मानित विश्वविद्यालयका रुपमा विकास गर्न आवश्यक विधेयकको मस्यौदा तयार भई मन्त्रिपरिषदमा पेश भएको छ ।
हवाई यातायातमा यात्रु बीमा दायित्वलाई एकीकरण गर्नेसम्बन्धी महासन्धि सङ्घीय संसद्बाट अनुमोदन भई २०१८ डिसेम्बर १५ देखि लागू भएको छ । सोअनुरुप अन्तरराष्ट्रिय उडानका यात्रुको क्षतिपूर्ति बीमा साविकको २० लाखबाट वृद्धि भई एक करोड ६० लाख कायम भएको छ । यसबाट नेपाली यात्रुले पनि विदेशी यात्रुसरह क्षतिपूर्ति प्राप्त गर्ने सुनिश्चित भएको छ ।
पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७५, हेलिप्याड निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७५, जारी भई लागू भएको छ । विगत वर्षका तुलनामा पर्यटन क्षेत्रको आयमा उल्लेखनीय वृद्धि भई करीब रु एक अर्ब आम्दानी भएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ । (रासस)