खोटाङ । रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा पर्ने ऐतिहासिकस्थल डुम्रेकोटगढी र कोटगढीको संरक्षण शुरु गरिएको छ । करीब ३०० वर्षअघि बाइस–चौबिसे राज्यको पालामा किराँत वङ्शीय शासकहरुले राज्य सञ्चालन गरेको उक्त थलोलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उक्त गढीहरुको संरक्षण एवम् स्तरोन्नतिको काम शुरु गरिएको हो ।
ऐतिहासिक स्थलको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाभित्र पर्ने सबै गढीको संरक्षण एवम् स्तरोन्नतिको काम शुरु गरिएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताउनुभयो । “किराँती राजाहरुले शासन सत्ता सञ्चालन गरेको ऐतिहासिकस्थलहरुको संरक्षणले भावी पुस्तालाई पनि इतिहासका बारेमा जानकारी गराउन सकिन्छ”, उहाँले भन्नुभयो, “ऐतिहासिक एवम् पर्यटकीय क्षेत्रका रुपमा रहेको डुम्रेकोटगढी र कोटगढीको संरक्षण र प्रवद्र्धनले आगामी दिनमा गाउँपालिकाको पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।”
छिमेकी जिल्ला सोलुखुम्बुसँग सिमानामा जोडिएको उक्त ठाउँमा रहेको गढीको मुख्य भागमा रहेको बङ्कर, इनारलगायतको अवशेष अझै पनि देख्न सकिन्छ । वरिपरि सल्लाको जङ्गलले घेरिएको उक्त ठाउँलाई दृश्यावलोकन गर्ने ठाउँका रुपमा समेत विकास गर्न सकिने वडाध्यक्ष ज्ञानबहादुर पाण्डेले बताउनुभयो । गढी संरक्षण गर्न गाउँपालिकाबाट करीब रु नौ लाख बजेट खर्च गरिसकिएको छ । “हामी निर्वाचित हुनासाथ गढीको संरक्षण शुरु गरिएको हो”, उहाँले भन्नुभयो, “पर्यटनको केन्द्रविन्दुका रुपमा विकास नगरुन्जेलसम्म लगानी गर्ने लक्ष्य राखिएको छ ।”
राणाकालमा पूर्व ३ नं क्षेत्रअन्तर्गत डुम्रेकोटगढीमा किराँती राजाहरुले राज्य गरेको स्थानीय वृद्धवृद्धाहरुले बताएका छन् । पञ्चायतकालमा उक्त कोटगढी भएको क्षेत्र सोलुखुम्बुमा पर्दथ्यो ।
भग्नावशेषमात्र रहेको उक्त कोटगढीमा प्रवेशद्वार, पदमार्ग, घेराबारलगायत भौतिक संरचनाहरु निर्माण गरिएसँगै पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक अवलोकनका लागि आउन थालेको स्थानीय बासिन्दाले बताएका छन् । किराँती राजाहरुले प्रयोग गर्दै आएका हातहतियारसमेत रहेको उक्त ठाउँबाट तत्कालीन भूमि सुधार अधिकृत गोपाल कोइरालाको टोलीले त्यहाँ भएका तोपलगायत अन्य सामग्री लिएर गएको स्थानीय बासिन्दा भीम पाण्डेले बताउनुभयो ।
डुम्रेधारापानीमा पिउने पानीको अभाव भएकाले उक्त कोटगढीमा नदीको पानी ल्याएर भण्डारण गर्न इनार निर्माण गरिएको देखिन्छ । त्यहाँ अवलोकन गर्दा त्यसको अवशेष अझै पनि यथावत् छ । उक्त ठाउँमा उस्ता–उस्तै उचाइका दुईवटा अग्ला डाडाँहरु छन् । यसमध्ये एउटा कोटगढी र अर्को सुलिडाँडा हो ।
वरिपरि गाउँबस्तीले घेरिएको कोटगढीमा अहिले ठूलाठूला सल्लाका रूखहरु छन् । उत्तिकै उचाइमा रहेको सुलिडाँडा चाहिँ नाङ्गो छ । कोटगढीको टुप्पोमा करीब १० मिटरको गोलाकार बङ्करजस्तो इनार छ ।
तत्कालीन समयमा कोटगढीमा निर्माण गरिएका इनारमा सेनाहरुले दूधकोशीको पानी बोकेर भण्डारण गर्ने गरेको स्थानीयले बताएका छन् । स्थानीय बासिन्दा एवम् उक्त गाउँपालिकाका कार्यपालिका सदस्य पुण्यकुमारी मगरका अनुसार पछिसम्म त्यो इनार अचम्मकोे थियो । डुम्रेकोटगढी तथा कोटगढीबीच एकापसमा सम्बन्ध रहेको देखिन्छ । यीमध्ये डुम्रेकोटगढीमा बस्ने राजा तथा सैनिकका लागि आवश्यक पर्ने पानी भण्डारण गर्न कोटगढीमा इनार निर्माण गरिएको जनाइएको छ ।
तत्कालीन समयमा उक्त कोटगढीमा दशैँको फूलपातीको दिन हातहतियार सरसफाइ गर्ने गरिएको बताइएको छ । फूलपातीमा सरसफाइ गरिएको हातहतियारलाई नवमीमा गोरुको बलि दिने गरिएको थियो ।
डुम्रेकोटगढीमा किराँत राईहरुको पौराणिक कथाहरु समेटिएका किंवदन्तीहरु रहेको ऐँसेलुखर्क गाउँपालिकाका स्थानीय बासिन्दा एवम् उक्त गढीको अध्ययनकर्ता लवकुमार राईको भनाइ छ । दश स्थानीय तह रहेको जिल्लामा अन्य स्थानीय तहले पनि ऐतिहासिक तथा पर्यटकीयस्थलहरुको संरक्षण तथा स्तरोन्नतिको काम गरिरहेका छन् ।