११ बैशाख २०८१, मंगलबार

दृश्यावलोकनस्तम्भ निर्माणः जीवनस्तर उकासिने अपेक्षा


view-tower-Sketch

बनेपा । अग्लो ठाउँ, स्वच्छ हावापानी र मनोरम दृश्य नियाल्दै मौसमअनुसारको खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका यहाँका बासिन्दामा अब अर्को नयाँ आशा पलाएको छ । दृश्यावलोकनस्तम्भ वन्ने भएपछि अन्य व्यवसायबाट पनि जीवनस्तर उकास्न सजिलो हुने स्थानीयवासीको अपेक्षा छ ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ रजवासमाथि भूमेचुली डाँडामा दृश्यावलोकनस्तम्भ वन्ने भएपछि यहाँका बासिन्दामा उत्साह थपिएको हो । अग्लो स्थानबाट वरिपरिको दृश्य नियाल्न सकिने र वातावरणको दृष्टिले पनि स्वच्छ हावापानी भएको ठाउँ भएका कारण पर्यटन प्रवद्र्धनको क्षेत्रमा यसले ठूलो सहयोग पु¥याउने स्थानीवासीको विश्वास छ ।

वाग्मती प्रदेश सरकारको लगानीमा सो स्तम्भ निर्माण हुन लागेको हो । वाग्मती प्रदेशको मुख्य पर्यटकीय आकर्षणको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यका साथ यसको डिजाइन भएको छ । प्राकृतिक सौन्दर्य तथा जैविक विविधतालाई क्षति नपुग्ने गरी टावर निर्माण गरेमा यसले आर्थिक रूपमा समेत टेवा पुग्ने स्थानीयवासी चन्द्र लामाको भनाइ छ ।

“जिल्लाको मुख्य पर्यटकीय क्षेत्रको रूपमा स्थापित गर्न सके प्रकृतिप्रेमीहरूका लागि यो उत्तम गन्तव्य बन्न सक्छ”, उहाँले भन्नुभयो, “यहाँका बासिन्दाको मुख्य काम खेतीपाती गरेर जीवन निर्वाह गर्ने हो, बस्तुभाउ पालेर केही आम्दानी गर्ने र खुवा वनाउने ठाउँमा दूध बेचेर अलिअलि पैसा कमाउनेबाहेक अरु पेशा छैन । अब दृश्यावलोकनस्तम्भ वनेपछि पसल वा होटल व्यवसाय गरेर पनि जीविकोपार्जन गर्न पाउने सम्भावना बढेको छ ।”

उहाँले भन्नुभयो, “पहिला उत्पादन भएको चिज खाने र बाँकी रहेकोलाई बजारसम्म बेच्न जानुपर्ने बाध्यताको अन्त्य भई अब यहीको उत्पादन पर्यटकलाई बिक्री गरी आम्दानी गर्न पाउने सम्भावना बढेको छ ।”

दृश्यावलोकनस्तम्भ निर्माणका लागि प्रदेश सरकारले रु दुई करोड ६१ लाख २३ हजार बजेट विनियोजन गरिसकेको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले मङ्गलबार सो दृश्यावलोकनस्तम्भको शिलान्यास गर्नुभयो ।

सो अवसरमा मन्त्री नेपालले दृश्यावलोकनस्तम्भ निर्माण भएपछि यहाँ आउने आन्तरिक तथा वाह्य पर्यटकको व्यवस्थापनमा स्थानीय तहले विशेष ध्यान पु¥याउनुपर्ने बताउँदै घरवास सञ्चालन गरेर यहाँका बासिन्दाले आयआर्जन गर्न सकिने बताउनुभयो । स्थानीय उत्पादनको व्यावसायिक खेती गरेर यहाँ आउने पर्यटकलाई सोही उत्पादनको विभिन्न परिकार बनाएर खुवाउने र फर्केर जाँदा कोशेली लैजाने वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सो वडाका वडाध्यक्ष जनम तामाङले निर्माण हुने पूर्वाधारले रोशी गाउँपालिका–९ को मात्रै नभई छिमेकी महाभारत गाउँपालिकाका नागरिकको समेत आर्थिकस्तर वृद्धि हुने बताउनुभयो । आगामी वर्ष सम्पन्न हुने गरी निर्माण शुरु भएको सो स्तम्भले यहाँका पर्यटन प्रवद्र्धनका क्षेत्रमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास प्रदेश सरकारको छ ।

यसअघि पिन्थली गाउँमा गुम्बा निर्माणसँगै बुद्ध उद्यानसमेत निर्माण गरिसकेको छ । जिल्लाको डाँडापारि महाभारत गाउँपालिकाको बुढाखानी हुँदै फोक्सिङटार, वनखु, घर्तीछाप, गोकुले जाने मोटरबाटो पिन्थली हुँदै रजवास–भूमेचुली भएर जाने भएका कारण पनि सडक पूर्वाधारले जोडिसकेकाले पर्यटन प्रवद्र्धनमा यसले थप सहजता ल्याउने बताइएको छ । त्यससँगै भूमेचुली आसपासका गाउँमा समेत मोटरबाटो पुगिसकेका कारण त्यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !