देश परिवर्तन भएन तर नेतृत्व भने पटक पटक परिवर्तन भए न देशमा विकास भयो नत देशले कोल्टो नै फेर्यो । बहुमत नआएकाले देशमा विकास भएन भन्नेहरूले अनन्त बहुमतको सरकार बनायर छाडे तर शक्तिशाली प्रधानमन्त्री हुँदा पनि नत उद्योग नै खुले नत वेरोजगार नै हटेर गयो ।
नेपालमा आर्थिक समृद्धि हुन्छ वा देशले कोल्टे फेर्छ भनेर हामी नेपाली आशावादी भएका थियौं तर निरास बाहेक केहि प्राप्त हुन सकेन । विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तनपश्चात् ‘अब चाहिँ केही हुन्छ’ जस्तो देखिन थालेतापनि आशा निराशामा परिणत भयो।
अहिले हामीलाई ‘जुन जोगी आए पनि कानै चिरेको’ अर्थात् जुनसुकै व्यवस्था र व्यक्तिले शासन गरेपनि परिणाम उही र उस्तै भन्ने लाग्न थालेको छ । राजनीतिक संघर्ष र परिवर्तनले लामो चक्रव्यूह पार गरिसक्दा पनि हाम्रो देश विकासको मार्गमा किन अगाडि बढ्न सकेन?
नेपालभन्दा धेरै पछाडि प्रजातान्त्रिक प्रक्रिया वा राजनीतिक स्वतन्त्रता कायम गरेका देशहरू आज कहाँबाट कहाँ पुगिसके। तर, हामीले तात्विक परिवर्तन गर्न नसक्नाका कारण के-के हुन् ? पञ्चवर्षीय योजनालगायत योजनाबद्ध विकास र विधिको शासनलाई नेपालले अवलम्बन गरको आधा शताब्दीभन्दा बढी भइसक्यो । तर, देश किन समृद्ध हुन सकेन?
हाम्रो देश समृद्ध नबन्नुका पछाडि हाम्रा आ-आफ्नै तर्क र दृष्टिकोण छन्। तर, ‘यो देश नेताले गर्दा उँभो लागेन’ वा ‘यो देशले इमानदार नेता नै जन्माउन सकेन’ भन्ने दृष्टिकोण चाहिँ समान दृष्टिकोण होभन्दा खासै फरक छैन । यसको कारण के हो? के यो सबैको पछाडि राजनीतिक नेतृत्व मात्र जिम्मेवार छ? के नेपाल गरिब राष्ट्रका रूपमा रहिरहनुका पछाडि नेताहरू मात्र जिम्मेवार छन्? के नेताले प्रयत्न गर्नेबित्तिकै देश बन्ने र उसले प्रयत्न नगर्दा नबन्ने हुन्छ?
पञ्चायत ढलेपछि पनि दरबार र नागरिकबीच राजनीतिक शक्ति संघर्ष चलिरहेका कारण समग्र देश विकास निर्माणमा जुट्न नसकेको निष्कर्ष निकाल्यौँ र राजतन्त्रलाई बिदाइ गर्यौँ। राजतन्त्रको अन्त्यपश्चात् अस्थिर सरकार हुनु नै समस्या रहेको अर्काे निक्र्याैल निक्ल्यो र आज पूर्ण बहुमतको सरकारले देशको शासनसत्ता सञ्चालन गरिरहेको छ। पूर्ण बहुमतको सरकार निर्माणले छोटो समय पार गर्दा नगर्दै आज हामी ‘योबाट पनि केही हुँदैन’ भन्न थालिसकेका छौँ के यो दुखद होइन ?
जनआन्दोलनपछि समाप्त पारिएका उधोग खोल्नेतर्फ कसैको ध्यान पुग्न नसक्नु,युवा बेरोजगार हटाउन नसक्नु , देशमा टेक्निकल शिक्षाको विस्तार हुन नसक्नु, विकासको बजेट फ्रिज गराउनु जस्ता कामले अन्तर्राष्ट्रिय स्तरमा समेत मगन्ते सरकारको रूपमा देखिनु दु:खद हो भन्दा खासै फरक देखिएन ।
नेता अर्काे ग्रहबाट आएको मानिस होइन । ऊ यहीँको भूगोल, सांस्कृतिक सेरोफेरो र चिन्तनबाट उत्पादित अगुवा हो । नेता असफल हुनुमा उसको मात्र दोष छैन । हाम्रो सामाजिक संस्कार र संस्कृति पनि जिम्मेवार छन् । यो देशको विकास नेताका कारणले नभएको हो वा हामीले बोक्दै आएको संस्कार र चिन्तनले हो ?
जो र जस्तोसुकै आशा गरिएको मानिस पनि सत्तामा पुगेपछि औसत, सामान्य वा आम प्रतीत हुनाको कारण के हो? हामीसँग के संस्कार छ, जसले आलोचना मात्र होइन, निरन्तर अविश्वास सिर्जनाको आधार तयार पार्छ? नेतामा अग्रसरता भएन, ‘भिजन’ भएन र उनीहरूले इच्छाशक्ति देखाएनन् भन्ने हामी सबैको मुख्य गुनासो हो।
नेताको विषयमा सबैभन्दा बढी आलोचना गरिने पक्ष नै उसमा भिजन भएन भन्ने नै हो । यो भनाइमा सत्यता पनि छ । तर, उक्त भिजन नहुने वा इच्छाशक्ति नहुने नेता कसरी उत्पादित भए? यस्ता व्यक्ति, जसलाई हामी सपना र योजना नभएका भन्छौँ, नेता बन्नुको पछाडि के कस्ता कारण जिम्मेवार छन? यो विषयमा हामीले दृष्टि पुर्याउन जरुरी छ।
यस्ता नेता उत्पादनमा हाम्रो संस्कार र संस्कृतिकै महत्वपूर्ण भूमिका रहँदै आएको छ । नेताहरू असफल हुनुमा उनीहरूको मात्र दोष छैन। हाम्रो सामाजिक संस्कार र संस्कृति पनि जिम्मेवार छन् । व्यक्तिको सफलता र असफलतालाई लिएर संसारभर विभिन्न शोध र अनुसन्धान भएका छन् । व्यक्ति किन असफल वा सफल हुन्छ भन्ने विषयमा आधारित यस्ता अनुसन्धानले विभिन्न तथ्य उजागर गरेका छन् ।
सवैभन्दा ठूलो कुरा हामीले नेतृत्व चुन्दा नै गलत गरेको देखिन्छ । एउटा नेताले चुनाव लड्दा एक करोड सम्म खर्च गरेको सुन्न सकिन्छ । चन्द पैसाको लोभमा हामिले मतदान गरेका छौं यो नै सवैभन्दा ठूलो भुल देखिएको छ । लगानी गरेर गएको नेताको भिजन भनेकै कमाउनु रहेको हुन्छ ।
हामीले विकास किन भएन भन्ने तर्क त प्रस्तुत गरेव तर विकास नहुनुको प्रमुख कारण तर्फ पुग्न सकेनौं ।
हामी नेपालीकै श्रम र पसिनाले मलेसिया र खाडी राष्ट्रहरू निर्माण भएका हुन् भन्दा अत्युक्ति नहोला। यसरी हेर्दा हामीसँग दक्षता नभएको हो त? पक्कै पनि होइन। त्यसो हो भने कमी भएको के त? इच्छाशक्ति अर्थात् हामी देश बनाउन सक्छौँ भन्ने मनोविज्ञान। साहस वा कतिपय अवस्थामा दुस्साहसबिना यथास्थिति तोडिँदैन।
यदि हामीले हाम्रा युवालाई देश विकासमा लगाउन सकेको भए मलेसिया र खाडि मुलुक जस्तै नेपालको पनि विकास पक्कै हुने थियो तर यहाँ नेतृत्वले खर्च गरेको उठाउदै ठिक हुदै छ । देशको सिमित करले अनावश्यक भार धान्न सकि रहेको छैन । तिन करोड नेपाली लाई १०० जना सान्सद भए पुग्ने देशमा अन आवस्यक भार थुपारेको देखिन्छ ।
विकासोन्मुख देशले पहिलो प्राथमिकता देशको विकासमा लगाउन सक्नुपर्छ । तर यहाँ देशले धान्न नसक्ने भार थुपार्दै जानुलाई देश समबृधि होइन समाप्त पार्ने जस्ता क्रियाकलाप भविष्यमा सुरू हुदैछ । अनावश्यक खर्चले देश धरासायी हुने खतरा बढ्दै छ । यहि अवस्था देशमा विद्धमान रहे देश समाप्त हुने खतरा बढ्नेछ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।