८ असोज, काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका डिफेन्डर रवीन श्रेष्ठले चार वर्षपछि हुन लागेको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल गुमाउने भएका छन् ।
नेपाल पुलिस क्बलसँग आबद्ध श्रेष्ठ २०७४ वैशाखमा एएफसी एशियन कप छनोट खेलमा फिलिपिन्ससँग खेल्ने क्रममा हल्चोक मैदानमा घाइते भएका थिए । त्यतिबेला उनको ग्रान्डी अस्पतालमा घुँडाको शल्यक्रिय गरिएको थियो । त्यसपछि निरन्तर मैदान बाहिर रहेका उनी १८औँ एशियन खेलकूद प्रतियोगिताको तयारीका लागि थाइल्याण्ड गएको टोलीमा समावेश थिए । थाइल्याण्डमा त्यहाँको यु–२३ टोलीसँगको खेलमा उक्त चोट पुनः बल्झिएपछि उनी मैदान बाहिर रहँदै आएका छन् ।
घुँडाको चोटका कारण उनले यसपटकको लिग गुमाउने नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले बताउनुभयो । पुलिस क्लबले असोज १३ गतेदेखि शुरु हुने लिगका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा बुझाएको अन्तिम खेलाडी नामावली सूचीमा श्रेष्ठको नाम समावेश छैन ।(रासस)