२१ बैशाख २०८१, शुक्रबार

नेपालले आयरल्याण्ड ‘ए’ लाई ७१ रनले हरायो


कुशल मल्ल फाइल फोटो

काठमाडौँ । नेपालले आयरल्याण्ड ‘ए’ लाई ७१ रनले हराएको छ । नेपालले आयरल्याण्डको ‘ए’ टोलीलाई ७१ रनले पराजित गर्दै टी–२० शृङ्खलाको दोस्रो खेलमा विजयी हासिल गरेको हो ।

यो जितसँगै नेपालले आयरल्यान्ड ‘ए’ सँग दुबै खेलको टी-२० सिरिज पनि जितेको हो । जितका लागि नेपालले दिएको १९९ रनको चुनौती पछ्याएको आयरल्याण्ड ‘ए’ १८.३ ओभरमा १२७ रनमा अल आउट भयो ।

आयरल्याण्डका लागि स्टेफन डोहेनीले सर्वाधिक २६ रन बनाए । उनले १३ बलमा चार चौका र एक छक्का प्रहार गरे । यस्तै मोर्गन टपिङ्गले २१, केड कारमाइकलले १८ तथा कप्तान निल रकले १७ रन बनाए ।

नेपालको जितका लागि सोमपाल कामी र कुशल मल्लले ३/३ विकेट लिए भने करण केसी, कुशल भुर्तेल र विवेक यादवले १/१ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९८ रन बनाएको थियो ।

नेपालका लागि गुल्शन झाले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३२ बल खेल्ने क्रममा एक चौका र चार छक्का प्रहार गरे ।

त्यसैगरी, कुशल मल्लले १३ बलमा एक चौका र चार छक्काको सहयोगमा ३४, कप्तान रोहितकुमार पौडेलले २४ बलमा पाँच चौकाको मद्दतमा ३३, कुशल भुर्तेलले २५, सन्दीप जोराले २१, अनिल साहले १२ तथा आशिफ शेखले ११ रन बनाए ।

बलिङतर्फ आयरल्याण्ड ‘ए’ का म्याथ्यु फस्टरले तीन, बेन ह्वाइटले दुई तथा फिन ह्यान्ड र गेभिन होईले एक एक विकेट लिए ।

यसअघि पहिलो खेलमा पनि नेपालले आयरल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !