१९ बैशाख २०८१, बुधबार

सन्दीपको मुद्दा सर्वोच्चमा हेर्दाहेर्दैमा, भोलि पनि सुनुवाइ हुने


सर्वोच्च अदालत र सन्दीप लामिछाने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ । लामिछानेको मुद्दामा सर्वोच्चमा सोमबार पनि सुनुवाई हुने भएको हो । आज आइतबार सरकारी वकिल र पीडितका वकिलको बहस सकिएतापनि सन्दीपका वकिलको बहस नसकिएपछि भोलि सोमबार पनि सुनुवाई हुने भएको हो ।

सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले उक्त मुद्दाको सुनुवाइ आज बन्द इजलास गरेको थियो । लामिछानेसँग सम्वन्धित दुई रिटको आज सर्वोच्चमा सुनुवाइ बन्द इजलासमा भएको थियो ।

लामिछाने विदेश जान पाउने वा नपाउने भन्ने टुंगो भोलि मात्र लाग्ने भएको हो । लामिछानेले आफूलाई विदेश जान अनुमति दिनुपर्नेलगायत माग गर्दै दिएको निवेदन र लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने भन्ने दुवै रिटमाथि सर्वोच्चमा आज सुनुवाइ भएको थियो ।

यसअघि शुक्रबार सर्वोच्चले लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिएको थिएन । जिल्ला अदालत काठमाडौंले थुनामा पठाएका लामिछानेलाई उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

धरौटी बुझाएर खेलमा फर्किएका सन्दीप राष्ट्रिय टिममा फर्किएतापनि उच्च अदालतले विदेश जान भने प्रतिबन्ध लगाउने आदेश दिएपछि उनी सर्वोच्च अदालत गएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !