१३ पुस २०८१, शनिबार

सिक्टा आयोजना अन्योल बनेपछि बाँकेवासी निराश


Nepalpatra

४ पुस, बाँके । पश्चिम राप्ती नदीको पानीबाट सिँचाइ पु¥याई कृषि उत्पादनसँगै आर्थिक विकासलाई गति दिने उद्देश्यले सिक्टा सिँचाइ आयोजनाको निर्माण शुरु गर्दा समृद्धिका सपना देखेका बाँकेबासी अहिले निराश भएका छन् । बाँकेको समृद्धिका रुपमा लिइएको आयोजना सञ्चालनमा नआउँदै भत्किएपछि उनीहरुमा नैराश्यता छाएको हो ।

त्रिचालीस वर्षअघि निर्माणको चर्चा चलेको सिक्टाको निर्माण कार्य शुरु भएको १३ वर्ष मात्रै भयो । हालसम्म पनि निर्माणको चरणमै रहेको आयोजना परीक्षणका क्रममा भत्किएपछि बाँकेवासीमा अन्योलता छाएको छ । मनिकापुरका किसान नबुदिन यादव भन्नुहुन्छ – “नहरबाट पानी आउँछ र हामीले गरेको खेतीबाट आम्दानी बढ्ला भनेको त भत्केर पो गयो । अब कहिले बन्छ होला ? हामीले खेतबारीमा पानी हाल्न पाउने हो कि होइन, कुन्नी ?”

बाँकेको अगैयामा बाँध निर्माण गरी सिँचाइका लागि पानी लैजान दुई भागमा निर्माण अघि बढाइएको सिक्टा सिँचाइको नहर परीक्षणकै क्रममा भत्किएको छ । पानी लैजान राप्तीवारि ४५.२५ किलोमिटर र पारि ५३.५० किलोमिटर मूल नहर निर्माणकै चरणमा छ । मुख्य बाँधसहित वारिपट्टिको मूल नहरको काम पूरा भइसकेको छ । वारिपट्टिकै नहरमा पानी बगाएर परीक्षण गर्ने क्रममा ठाउँ–ठाउँमा भत्कियो । नहर भत्किएसँगै बाँकेबासीले देखेका सपनाहरु पनि भत्किएका छन् ।

राप्तीसोनारी–२ का वडाध्यक्ष मदन वलीले भन्नुभयो – “पानी लैजाने क्रममा समस्या आयो, नहर नै फुट्यो । आयोजनाको लापरबाही र ठेकेदारबाट कमजोर संरचना निर्माण हुँदा समस्या आयो । यसको जिम्मेवार को हुने ? अब आयोजनाको भविष्य के हुने ? राज्यले चित्तबुझ्दो जवाफ दिनुपर्छ ।” दायाँ भागको २० देखि ३५ किलोमिटर खण्डबाट पानी लैजाने क्रममा पहिलो पटक २०७३ असार १४ गते नहर भत्किएको थियो ।

वडाध्यक्ष वलीका अनुसार अधिकाँश मूल नहरको निर्माण कार्य सकिएको केही समयमै भत्किएको हो । “निर्माण शुरु गर्दा हामीले काम गुणस्तरहीन भयो भनेर आवाज उठाएका थियौं,” वलीले भन्नुभयो – “त्यतिबेला हाम्रो कुरालाई बेवास्ता गरियो । अहिले ठूलो समस्या आयो ।” मूल नहरको २४ किलोमिटर भाग जीर्ण भइसकेको छ । ठेकेदारले छड र अन्य निर्माण सामग्री पनि कमसल प्रयोग गरेको स्थानीय बासिन्दाको भनाइ छ ।

अहिलेसम्म यसको ५७ प्रतिशत मात्रै काम सकिएको छ । अझै ६३ प्रतिशत काम अधुरै छ । आगामी दुई वर्षभित्रै बाँकेका किसानका खेतबारीमा पानी पु¥याउने आयोजनाको लक्ष्य छ । निर्माण कार्यमा ढिलाइ भएपछि आयोजनाको लागत बढ्दै गएको छ । सिक्टाको मूल नहरको पानी धान्ने क्षमता ५० क्युसेक मानिएको छ । परीक्षण र बाढी आएका बेला उक्त नहर भत्किने गरेका कारण गुणस्तरमा प्रश्न उठ्ने गरेको हो ।

आयोजनाका अनुसार दायाँबायाँ दुवै मूल नहरको चुरे र फुटहिल क्षेत्रबाट दर्जनौं खोलानाला बगेका कारण वर्षामा नहरमा क्षति हुने गरेको छ । दायाँ मूल नहरको डिजाइन चरणमा नहरको रेखाङ्कन गर्दा चेनेज २० देखि ३५ किलोमिटरसम्म नहर अत्यधिक कटिङ तथा फिलिङमा रहेको जनाइएको छ । त्यसको विकल्पको अध्ययन गरी हालको रेखाङ्कन छनोट गरिएको आयोजनाको भनाइ छ । नहरको करीब ३५ किलोमिटर क्षेत्र राप्तीसोनारी गाउँपालिकामा पर्छ ।

राष्ट्रिय गौरवको उक्त आयोजनाको ४२ किलोमिटर सिटिसिई कालिका कन्स्ट्रक्सनले निर्माण गरेको हो । कालिकाले बनाएको नहरको खण्ड किसानको खेतमा पानी नपुग्दै भत्किएको छ । सर्वाधिक बिग्रिएको ०–३५ किलोमिटर खण्डको मूल नहरको अधिकाँश भाग बाँके राष्ट्रिय निकुञ्ज र चुरे क्षेत्रमा पर्छ ।

ठेकेदार कम्पनीले कमसल सामग्री प्रयोग गर्दासमेत अनुगमन र निगरानी गर्ने जिम्मा लिएको सिक्टा सिँचाइ आयोजना कार्यालयका इन्जिनियर र परामर्शदाताले बेवास्ता गरेको स्थानीय बासिन्दाको आरोप छ । हाल ३६ हजार हेक्टरमा धान खेती भइरहेको बाँकेमा यो आयोजना सम्पन्न भए त्यो बढेर ५० हजार हेक्टर पुग्ने विश्वास गरिएको थियो । आकाशे पानीको भर, मल, बीउ र जनशक्ति अभावले धान खेतीमा समेत ह्रास आएको बताइन्छ ।

मूल नहर परीक्षण गर्दा ढकेरीस्थित झिझरी खोलाछेउमा भत्केको पाइएको थियो । दुई वर्षसम्म नहर परीक्षण पनि बन्द भयो । यसवर्ष फेरि परीक्षण गर्न खोज्दा साउन ७ मा ढकेरी नजीकको चंगाई नालाछेउमा फेरि मूल नहर भत्कियो । पचास क्युमेक्स क्षमताको मूल नहरले १० क्युमेक्स पानी पनि थेग्न सकिरहेको छैन । सामान्य पानी थेग्न नसक्नुले निर्माणको गुणस्तरमाथि गम्भीर प्रश्न खडा भएको बाँकेवासीहरुले बताउँदै आएका छन् ।

निर्माणाधीन अवस्थामै रहेको आयोजना परीक्षणकै क्रममा भत्किएपछि यसको भविष्य अनिश्चित बनेको छ । सिक्टामा १३ वर्षको अवधिमा करीब ६० प्रतिशत मात्र कार्यप्रगति भएको आयोजनाले जनाएको छ । ब्यारेजदेखि पश्चिम मूल नहर सम्पन्न हुँदा हालसम्म १४ अर्ब ७० करोड रूपैयाँ खर्च भइसकेको छ । दोस्रो गुरुयोजनाअनुसार आर्थिक वर्ष २०७६/७७ सम्म आयोजना सम्पन्न हुँदा कुल लागत खर्च २५ अर्ब रुपैयाँ नाघ्ने सरकारी अनुमान छ ।

मूल नहर पटक पटक भत्किने समस्या दोहोरिएपछि बाँकेवासी मात्रै नभएर आयोजना कार्यालय पनि अन्योलमै छ । मूल नहरको निर्माण कालिका कन्स्ट्रक्सनले गर्दैआएको छ । उक्त कम्पनी पूर्वमन्त्री तथा ठेकेदार विक्रम पाण्डेको हो । वडाध्यक्ष वलीले भन्नुभयो – “गलत डिजाइनले नहर निर्माण गर्दा समस्या भएको हो । यसमा सरकारको गम्भीर ध्यान जानुपर्छ । निर्माणमा संलग्न सबै पक्षलाई छानविनको दायरामा ल्याउनुपर्छ ।”

समस्याको गहिराइमा पुगेर समाधान गर्नेतर्फ सरकार तथा राजनीतिक दल नै अग्रसर नदेखिएको स्थानीय बासिन्दाको आरोप छ । “राष्ट्रिय गौरवको सूचीमा राखिएको आयोजनाप्रति सरकारले नै बेवास्ता गरेको छ, नहर भत्किएपछि सरकारका तर्फबाट ठोस पहल हुन सकेको छैन,” नेपालगञ्ज–२० का वडाध्यक्ष कृष्ण कार्कीले भन्नुभयो – “ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले समिति बनाएर छानबिन गरी प्रतिवेदन पेश गरेको छ । त्यसमा अहिलेसम्म छलफल भएको हामीले सुनेका छैनौं ।”

समितिको प्रतिवेदनमा मूल नहरमा देखिएको समस्याको मुख्य कारण माटोको घुलनशीलता भएको उल्लेख गरिएको छ । सिँचाइसँग सम्बन्धित अन्य आयोजनामा यस किसिमको माटो नदेखिएको सन्दर्भमा डिजाइन तयार गर्दा अन्यत्र झैं माटो परीक्षण भए पनि घुलनशीलताको परीक्षण नगरिएको प्रतिवेदनमा उल्लेख छ । उच्च माटो कटिङ भएका र भरिएका ठाउँमा बर्खाको पानी पर्दा घुलनशील भाग पानीसँगै बगेर जाने पनि प्रतिवेदनले आँैल्याएको छ ।

खोलामा बग्ने पानीको तुलनामा बर्खाको पानीमा सोडियम (नून)को मात्रा बढी हुने र त्यसमा माटो घोल्न सक्ने क्षमता उच्च हुने भएकाले समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ । समस्या र समाधान समितिले प्रतिवेदन पेश गरे पनि समस्या समाधानको विषय बाहिर ल्याएको छैन ।

राष्ट्रिय गौरवको सूचीमा राख्ने तर, यसको अर्थ, महत्व र औचित्य के हो भन्नेमा सरकार सञ्चालक नै अनभिज्ञजस्तै देखिएको सिक्टा सिँचाइ आयोजनाका डिभिजनल इन्जिनीयर प्रकाशबहादुर कार्कीले बताउनुभयो । आयोजनामा देखिएको समस्याको समाधान यही हो भनेर अहिले नै भन्न सक्ने अवस्था नरहेको कार्कीको भनाइ छ । मूल नहर निर्माण गर्ने क्रममै स्थानीयस्तरबाट घुलनशील माटो प्रयोग नगर्न बारम्बार आग्रह गरिएको थियो ।

स्थानीयस्तरबाट आएको आवाजलाई आयोजनाले वास्ता गरेन । “हामीले त उतिबेलै नहरमा पटान गरेको माटो ठीक छैन, यसले भविष्यमा सिक्टालाई असफल बनाउँछ भनेका हौं,” ढकेरीका भाइराम वलीले भन्नुभयो – “हाम्रो कुरालाई वास्ता गरिएन । अहिले नहरको हालत हामीले भनेजस्तै भयो ।” पानी छाड्नेबित्तिकै भत्किने नहरले ढकेरी गाउँलाई उच्च जोखिममा पारेको छ । गाउँको सतहभन्दा माथि पटान गरिएको घुलनशील माटो बगेर नहर भत्किने जोखिम छ ।

पटान गरिएको माटो घुलनशील भएको र ठेकेदारले कमसल निर्माण सामग्री प्रयोग गरेका कारण नहरको संरचना कमजोर हुन पुगेको स्थानीय बासिन्दाको भनाइ छ । अगैयास्थित ब्यारेजदेखि ३५ किलोमिटरसम्म मूल नहरको संरचना जताततै चर्किएको छ । मूल नहरको दायाँ र बायाँ भित्ता चर्किएर दरार परेको प्रष्ट देखिन्छ । यिनै दरारबाट पटक–पटक नहर फुटिरहेको छ । राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित ब्यारेजदेखि ३५ किलोमिटर मूल नहरका अधिकाँश भाग चर्किएका छन् ।

मूल नहरका भिरालाहरू कतै चर्केका छन् भने कतै दबेर भासिएका छन् । सिक्टा आयोजनामाथि किसानको ठूलो भरोसा रहेकाले यसमा देखिएको अन्योल हटाउनुपर्ने राष्ट्रिय सिँचाइ जलउपभोक्ता महासङ्घ बाँकेका अध्यक्ष शालिकराम डाँगी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “पटक–पटक किन समस्या देखापर्छ ? यसको समाधान छिटोभन्दा छिटो हुनुपर्छ ।”

अष्ट्रेलियाली प्राविधिक टोलीले अध्ययन गर्ने
सिक्टा सिँचाइ आयोजनाको मूल नहर भत्किनाका कारणबारे अष्ट्रेलियाली प्राविधिक टोलीले अध्ययन थाल्ने भएको छ । अध्ययनका लागि अष्ट्रेलियाली प्राविधिक टोली केही दिनमै बाँके आउने भएको छ । नहरको गुणस्तर छानबिनको माग उठिरहेका बेला अध्ययनका लागि विदेशी प्राविधिक टोली आउन लागेको सिक्टा सिँचाइ आयोजनाका प्रमुख कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो ।

यसअघि नेपाल सरकारका सचिव र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको छुट्टाछुट्टै टोलीले नहर भत्किनाका कारणबारे अध्ययन गरिसकेको छ । जिल्लाका ६५ हजार भन्दा बढी किसानको भाग्य जोडिएको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना पटक पटक भत्किएपछि बाँकेवासीले छानविनको माग गरेका हुन् ।

आयोजनाको मूल नहरको १०० भन्दा बढी ठाउँमा कामै नलाग्ने गरी भत्किएको छ । पहिलो र दोस्रो चरणमा निर्माण गरिएको सिक्टा बाँधस्थल अगैयादेखि ढकेरीसम्मको ३५ किलोमिटर नहर कामै नलाग्ने गरी भत्किएसँगै आयोजना निर्माणमा भ्रष्टाचार भएको बाँकेबासीको आशङ्का छ । मूल नहरमा कतै जमिन प्वाल परेको छ भने कतै नहरका भिराला झरेको छ ।

नहरको अधिकाँश भागमा कुनै न कुनै समस्या रहेकाले सजिलै पानी बग्ने सम्भावना कम देखिएको छ । अष्टे«लियामा पनि घुलनशील माटोका कारण नहर भत्किने समस्या छ । “नेपाल र अस्ट्रेलियाको माटो र गुण उस्तै छ । उता यस्ता समस्या आउँदा सहजै समाधान भएका छन्,” आयोजना प्रमुख नेपालले भन्नुभयो – “अष्ट्रेलियाको प्राविधिक टोलीले अध्ययन गरेपछि आयोजनामा देखिएका समस्याबारे छलफल गर्छौं ।” (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !