८ मंसिर २०८१, शनिबार

मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँ घोषणा


जलवायुमैत्री नमूना गाउँ

दमौली, ३२ साउन । तनहुँको ऋषिङ गाउँपालिका–५ सपाङ्दीलाई मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँ घोषणा गरिएको छ । कृषिको माध्यमबाट जनताको आर्थिक स्तर सुधार गर्ने र प्रत्येक स्थानीय तहलाई नमूना बनाउने उद्देश्य सहित गण्डकी प्रदेश सरकारको सहयोगमा सपाङ्दीलाई मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँ घोषणा गरिएको हो ।

उक्त गाउँलाई मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँ घोषणा गर्दै प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले ऋषिङमा स्थापना गरिएको कृषि गाउँ साँच्चिकै नमुना बन्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारले किसानलाई व्यावसायिक बन्न हौस्याएकाले मिहेनत गरेर नमुना बन्नुपर्ने उहाँको भनाई थियो । आर्थिक वर्ष ०७५/०७६ मा प्रदेश सरकारले शुरु गरेको यस कार्यक्रमा चालु वर्षमा प्रदेशका सबै स्थानीय तहमा विस्तार गरिने उहाँले जानकारी दिनुभयो ।

मन्त्री गुरुङले सजगता अपनाएर आर्थिक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । गुरुङले सजगता अपनाए कोरोनाबाट बच्न सकिने भएकाले सजगता अपनाएरै आर्थिक गतिविधिलाई चलायमान बनाउनुपर्ने धारणा राख्नुभयो । “केही ठाउँमा समुदायमा कोरोना फैलिसकेको छ । आफू कसरी बचिन्छ आफैले सोच्ने हो,” उहाँले भन्नुभयो, “सरकारको तर्फबाट यसअघि नै लकडाउन गरेर महामारीबाट बच्ने प्रयत्न ग¥यौँ । लामो समय गरिएको लकडाउनले देशको अर्थतन्त्र शिथिल बनाएको छ । अर्थतन्त्र चलायमान भएन भने फेरि अर्को संकट उत्पन्न हुन्छ ।”

मन्त्री गुरुङले गण्डकी प्रदेशका प्रत्येक जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आईसियु कक्ष स्थापना गर्न चालु वर्षको बजेटमा रकम विनियोजन गरिएको जानकारी दिँदै सरुवा रोगको उपचारका लागि लेखनाथमा छुट्टै अस्पताल बनाउने प्रकृया अगाडी बढाइएको बताउनुभयो ।

छनौट भएका गाउँको कम्तिमा पचास घरधुरीबाट एक÷एक जना सदस्य रहने गरि कृषि सहकारी वा समूह मार्फत त्यहाँको मौसम तथा हावापानी सुहाउने गरी पशुपालन, तरकारी खेती, कुखुरा, माछा तथा अन्य खाद्य तथा नगदेवाली उत्पादन गर्न सक्नेछन् ।

छनौट भएका प्रत्येक गाउँलाई पहिलो वर्ष ३० लाखका दरले अनुदान उपलव्ध गराउने र चौथो वर्षसम्म प्रत्येक वर्ष ५० प्रतिशत रकम घटाउँदै लगेर त्यसपछि स्थानीय तहलाई हस्तान्तरण गरिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

कार्यक्रम सञ्चालन गर्दा सहकारीले ज्ञान केन्द्र वा विज्ञ केन्द्र र एकाइको सहयोग लिई वातावरणमैत्री नमूना कृषि गाउँ स्थापनाका लागि जलवायु समानुकुलित प्रविधि, असल कृषि अभ्यास, पर्यावरणीय खेती, कृषि पर्यटन, दिगो कृषि यान्त्रीकीकरण, लैङ्गिक तथा सामाजिक समावेशीकरण, क्षमता विकास र सह सिकाई कार्यक्रमको वार्षिक कार्ययोजना बनाउनुपर्ने शर्त राखिएको छ ।

तीन पालिकामा लकडाउन
कोरोना जोखिम बढेपछि तनहुँका तीन वटा पालिकाले लकडाउन घोषणा गरेका छन् । बन्दीपुर, देवघाट गाउँपालिका र भानु नगरपालिकाले आ–आफ्नो पालिकाभित्र लकडाउन घोषणा गरेका हुन् ।

बन्दीपुर गाउँपालिकाले शुक्रबारदेखि भदौ ५ गतेसम्म अत्यावश्यक सेवा बाहेकका सबै पसल, बैङ्क तथा वित्तीय संस्था लगायत बन्द गर्ने निर्णय गरेको अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो ।

“स्थानीय स्तरमा तीव्र रुपमा फैलिएको कोभिड–१९ का कारण बन्दीपुर गाउँपालिकाभित्रका बजार, बस्ती उच्च जोखिममा रहेको छ,” उहाँले भन्नुभयो, “यसैलाई मध्यनजर गर्दै एक हप्ताका लागि सम्पूर्ण क्षेत्र बन्द गरेर लकडाउन घोषणा गरेका छौ ।” अध्यक्ष थापाले सम्पूर्ण नागरिकलाई न्यूनतम स्वास्थ्य मापदण्ड पालना गर्न, अति आवश्यक काम बाहेक अन्य काममा घर बाहिर ननिस्कन अनुरोध गरिएको जानकारी दिनुभयो । भानु नगरपालिकाले साउन २७ गतेदेखि भदौ २ गतेसम्म र देवघाट गाउँपालिकाले साउन २८ गतेदेखि भदौ ४ गतेसम्म पालिकामा लकडाउन गर्ने निर्णय गरेको छ ।

परीक्षणको दायरा बढाइयो
तनहुँको व्यास नगरपालिकाले समुदायस्तरमा कोरोना परीक्षणको दायरा बढाएको छ । जिल्लाका विभिन्न पालिकामा कोरोना सङ्क्रमित थपिएको र त्यसले जोखिम बढाएपछि व्यासले समुदाय स्तरका व्यक्तिहरुमा पनि कोरोना परीक्षण थालेको हो ।

नगरपालिकाले शनिबार एक सय दुई जनाको स्वाब सङ्कलन गरेको छ । जिल्ला प्रहरी कार्यालय, बालमन्दिर र भादगाउँ तीन ठाउँमा गरेर एक सय दुई जनाको स्वाब सङ्कलन गरिएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला प्रहरी कार्यालयका २७ जना प्रहरीको स्वाब सङ्कलन गरिएको छ । त्यस्तै व्यास–१ की ६९ वर्षीया वृद्धामा पोखरामा परीक्षण गर्दा कोरोना पुष्टि भएपछि उहाँको सम्पर्कमा आएका एपोलो अस्पतालका एक चिकित्सक र दुई स्वास्थ्यकर्मीको पनि स्वाब सङ्कलन गरिएको छ ।

उहाँका अनुसार भानु नगरपालिकामा गरिएको परीक्षणमा व्यास–१२ का एक कर्मचारीमा कोरोना पुष्टि भएपछि उहाँहरुको परिवार र होम क्वारेन्टिनमा बसेका व्यक्तिहरुको पनि स्वाब सङ्कलन गरिएको छ । “भानु नगरपालिका–१ का ३४ वर्षीय व्यक्ति दमौलीका विभिन्न ठाउँमा पुगेको पाइएकाले त्यो ठाउँ पहिचान गरी त्यहाँका व्यक्तिहरुको स्वाब सङ्कलन गरिएको छ,” उहाँले भन्नुभयो ।

तनहुँमा हालसम्म २६ जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएको छ । भानु नगरपालिकामा वडाध्यक्ष सहित २३, देवघाट गाउँपालिकामा दुई र बन्दीपुर गाउँपालिकाका एक जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !