१२ श्रावण २०८१, शनिबार

धार्मिक अनुष्ठानले सकारात्मक सोच र सही मार्गमा हिँड्न प्रेरणा मिल्छ : उपराष्ट्रपति यादव


रामसहाय प्रसाद यादव

वीरगञ्ज, पर्सा । उपराष्ट्रपति रामसहायप्रसाद यादवले धार्मिक गतिविधिले मानवलाई सकारात्मक सोच र सही मार्गमा हिँड्न प्रेरित गरिरहेको बताएका छन् ।

वीरगञ्ज महानगरपालिका– १४ पीपरास्थित चिनी मिल परिसरमा आजदेखि सुरु भएको सीताराम नाम सङ्कीर्तन महायज्ञ १०८ कुन्ज एवं नौ दिवसीय श्री विष्णु महायज्ञको उद्घाटन गर्नुहुँदै उपराष्ट्रपति यादवले महायज्ञ, भूमिपुजनलगायतका धार्मिक अनुष्ठानले मानव मानवबीच सद्भाव कायम गर्न र मानवलाई सही मार्गमा हिँड्न प्रेरित गरिरहेको बताए ।

आपसी खिचातानी, मनमुटावलगायतका कारण समाजमा अशान्ति बढिरहेका बेला यस्तो धार्मिक अनुष्ठानले शान्ति, अमचयन र भातृत्व प्रबद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै महायज्ञले शान्ति कायम गर्न र पारस्परिक एकता प्रबद्र्धन होस् भन्ने कामनासमेत गरे ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले धर्मले सत्यको बाटोमा हिँड्न प्रेरित गर्ने गरेको बताउदै धर्मलाई जोगाउन धर्मगुरुको योगदान महत्वपूर्ण रहेको चर्चा गरे ।

कार्यक्रममा उपराष्ट्रपति यादवले महायज्ञ सफल बनाउन सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई दोसल्ला ओढाएर सम्मान गरे ।

वरिष्ठ कथावाचिका साधवी लक्ष्मी माता तथा अन्य कथावाचकद्वारा नौ दिनसम्म सञ्चालन हुने महायज्ञमा दश लाख श्रदालु भक्तजन सहभागी हुने अनुमान गरिएको महायज्ञ व्यवस्थापन समितिका संयोजक रामप्रवेशप्रसाद कुर्मीले जानकारी दिए । महायज्ञमा नौ दिनसम्म श्रीराम नाम जप, रामचरित्र मानष पाठ, कथा बाचन, रासलिलालगायतका धार्मिक सांस्कृतिक कार्यक्रम आयोजना हुने संयोजक कुर्मीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !