मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदै Nepalpatra मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदै
१३ मंसिर २०७९, मंगलबार

मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदै


अक्षय नवमी पर्व

महोत्तरी । महोत्तरीसहित मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदैछ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व आज मनाउन लागिएको हो । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व सामूहिक भोजन गरिने रमाइलो चाडबाडमा गनिन्छ ।

पर्वमा कार्तिक शुक्ल नवमीका दिन अमला (धातृृ) को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । पर्व विशेषमा बस्तीमा बिहानैदेखि युवापङ्क्ति सामूहिक भोजनको तयारीमा जुटेका छन् । यो पर्वमा घर नजिकै, बगैँचा वा वन क्षेत्रमै रहेको अमलाको रूखका फेदमा खानेकुरा पकाएर त्यहीँ खाने चलन छ ।

पर्वमा अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी)सहित साकाहारी खानेकुरा मात्र पकाउने र खाने परम्परा छ । पर्व विशेषले अब चिसो मौसम छिप्पिँदै जाने क्रममा खानेकुरामा अमलाको प्रयोग बढाउने सन्देश रहेको मैथिल संस्कृतिका जानकार बर्दिबास नगरपालिका–२ का पण्डित महेशकुमार झाले बताए ।

पर्वमा खासगरी किशोर र युवा वनभोजको चाँजोपाँजो मिलाउन व्यस्त देखिएका छन् । बर्दिबास नगर क्षेत्रका कारेघोप्टे, माईस्थान, टुटेश्वर, राइमण्डल, कालापानी र गौरीडाँडा वनपार्क नजिकका वन क्षेत्रका अमलाका रुखका फेदमा एकाबिहानै कैयौँ वनभोजका टोली पुगेका छन् । मिथिलामा आज (कार्तिक शुक्ल नवमी)को दिनलाई कुष्माण्ड नवमीसमेत भन्ने गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !