६ असार २०८१, बिहिबार

आज ‘तमु ल्होसार’ पर्व मनाइँदै, सरकारले दियो सार्वजनिक विदा


तमु ल्होसार पर्व

काठमाडौँ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।

तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।

तमु ल्होसारका अवसरमा गण्डकी प्रदेश र विभिन्न स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । नेपाल सरकारले तमु ल्होसारका अवसरमा आज बिहीबार पुस १५ गते सार्वजनिक बिदा दिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयद्वारा आज साँझ प्रकाशित सूचनामा जनाइएको छ । तमु ल्होसारका अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिने निर्णय सरकारले गरेको मन्त्रालयको सूचनामा जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु