रावण विद्वान थिए, शिवका भक्त थिए, पराक्रमी थिए। उनको देश सुनैसुनले सजिएको स्वर्ग र आनन्दित थियो तर उनको दर्दनाक अन्त्य भयो, त्यो पनि सामान्य राजा रामको हातबाट ! रावणको अन्त्यबाट सबैभन्दा बढी दु:खी राम भएका थिए । यस्तो ज्ञानी विद्वानको अन्त्य युगकै लागि ठूलो क्षति हो भन्ने कुरा रामले बुझेका थिए । रावणको एकमात्र अक्षम्य त्रुटी सिताहरण थियो, जसले उनको काल निम्त्याएको थियो ।रावणले सिताप्रति कुनै दुर्ब्यवहार गरेका थिएनन्, बाटिकामा लगेर ससम्मान राखेका थिए।
मृत्युशैयामा रावण रहदा रामले लक्ष्मणलाई रावणको छेउमा गएर अन्तिम ज्ञान लिएर आउ भनी अह्राए। लक्ष्मण रावणसमक्ष पुगे । रावणसंग उनले भने- ‘ल अब तिमी मर्ने नै भयौ, मलाई तिम्रो भएको केही ज्ञान देउ ।’ रावणले अशिष्ट तरिकाले लक्ष्मण प्रस्तुत भएको लागेर अर्को पट्टि मुन्टो फर्काए र लक्ष्मणसंग केही बोलेनन् ।
रावण केही नबोली बसेर केही शिक्षा नपाए पछि लक्ष्मण फर्केर रामलाई सबै कुरा सुनाए । अनि राम आफै रावणसमक्ष पुगे, रावणको पाउ समाउदै ‘हजुरले मलाई केही ज्ञान दिनुपर्यो’ भनेर विनम्र अनुरोध गरे । रामको सम्मान पाएर रावण खुशी हुदै भन्न थाले, “तिमीजस्तो सत्पुरूषसंग दुष्मनी गर्नको साटो दोस्ती गरेको भए आज मेरो यो हालत हुने थिएन ।
मान्छे बिग्रने बेलामा मित्रलाई शत्रु र शत्रूलाई मित्र ठान्छ। जब सत्य बुझ्छ, उसको अन्त्य नजिक आईपुगेको हुन्छ। प्राण जाने अन्तिम क्षणमा तिमीलाई मैले यति मात्र भन्न सकें, यो याद गर्नू”, भन्दै रावणले अन्तिम सास लिए ।
मानव इतिहासमा सायद मानवजातिका निम्ति रावण जस्तो महाविद्वान, महापराक्रमी, महाशिवभक्तको अकाल मृत्यु जतिको ठूलो खति केही भएन होला। रावणले यी सबै पराक्रम साधना, ध्यान, त्याग, तप, गुरूभक्ति, तपस्या, लगन, अध्ययन र अनुशासनबाट आर्जन गरेका थिए। तर पनि उनको दु:खद अवशानले मानवजातिलाई समेत ठूलो खति हुन पुगेको मान्न सकिन्छ ।
*भीम उपाध्याय नेपाल सरकारको पूर्वसचीव हुनुहुन्छ ।