२ जेष्ठ २०८१, बुधबार

ओलीविरुद्ध मोर्चाबन्दीको तयारी, खनाल भन्छन्, “एमसीसी बजेटबाट हटाइएन भने बजेट फेल गरिदिन्छौँ”


एमसीसी

काठमाडौं, जेठ १७ । एमसिसी परियोजनाअन्तर्गत प्राप्त हुने पाँच अर्ब ७२ करोड रुपैयाँ वैदेशिक अनुदान बजेटमा समावेश भएसँगै नेकपाभित्र ठुलो विवाद चर्किएको छ । आर्थिक वर्ष २०७७-७८ को बजेटमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) घुसाइएपछि नेकपाकाभित्र पनि बहुमत एमसीसीको विपक्षमा रहेका छन् ।

एमसीसीबारे कुनै छलफल नगरी बजेटमा समावेश गरेको भन्दै एमसीसीको विपक्षमा रहेका सचिवालय सदस्यहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका छन् । वरिष्ठ नेता झलनाथ खनालले बजेटमा एमसीसीको कुरा जोडेको ओलीसँग जवाफ माग गरिने समेत बताए ।

खनालले भने, “एमसिसी परियोजनाअन्तर्गत वैदेशिक अनुदान प्राप्त हुने रकम तोकेरै बजेटमा आउनु गम्भीर आपत्तिजनक छ, त्यसकारण हामीले छलफलका लागि अपर्झट केन्द्रीय सचिवालयको बैठक बोलाउन माग गरेका हौँ। शनिबार बस्ने बैठकमा छलफल गरेर एउटा टुंगोमा पुग्छौँ । एमसिसी यथास्थितिमै मान्ने, पालन गर्ने वा अनुमोदन गर्ने भन्ने प्रश्नै छैन । नीति तथा कार्यक्रममा भएको पनि प्रधानमन्त्रीले लागू हुँदैन भनेपछि मात्र हामीले मानेका थियौँ, त्यसकारण अब हटाउनुको विकल्प छैन, हटाइएन भने बजेट फेल हुन्छ।”

एमसीसीबारे ब्याक नभए पुनः ओलीविरुद्ध मोर्चाबन्दीको लागि असन्तुष्ट नेताहरुबीच अनौपचारिक छलफल सुरु भइसकेको एक नेताले बताए । ९ सदस्सीय सचिवालयमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलमात्रै एमसीसीको पक्षमा रहेको बताइन्छ ।

\


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !