७ बैशाख २०८१, शुक्रबार

एमसिसी नेपालको हितमा छ : कमल थापा


कमल थापा

रुपन्देही, ६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) आयोजना नेपालको हितमा रहेको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष थापाले एमसिसीको देशको हितमा रहेपनि नागरिकमा अनेक आशङ्का पैदा भएकाले सरकारले आधिकारिक धारणा बाहिर ल्याउनुपर्ने बताउनुभयो । “सम्झौताप्रति भ्रम उत्पन्न भएको छ, त्यो चिर्ने काम सरकारले गर्नुपर्छ । उहाँले भन्नुभयो, “एमसिसी संसद्मा पारित हुने विषय ठूलो नभएपनि आधिकारिक धारणासहित कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो ।

अध्यक्ष थापाले नागरिकको अपेक्षाअनुसार सरकारले काम गर्न नसकेपनि पाँच वर्षसम्म कायमै रहने बताउनुभयो । “विगतमा अस्थिरताबाट जनता वाक्क भएका छन् । सरकार ढाल्ने कुरामा जनताको रुचि छैन”, अध्यक्ष थापाले भन्नुभयो, “जनतालाई स्थिर सरकार चाहिएको छ ।”

विगतको निर्वाचनमा भोग्नुपरेको पराजयबाट पाठ सिकेर कमजोरी हटाउँदै पार्टीलाई देशको अग्रणी संस्थाको रुपमा अघि बढाउने अभियानमा लागेको बताउदै अध्यक्ष थापाले पार्टीलाई हिन्दू राज्य र राजसंस्थासँग मात्रै जोडेर नहेर्न आग्रह गर्नुभयो । उहाँले राष्ट्रिय एकता, शान्ति र स्थायित्वका लागि साझा संस्थाको रुपमा राजसंस्था आवश्यक रहेको निष्कर्ष पार्टीको रहेको जनाउँदै राजसंस्थालाई राजनीतिक विवादमा तान्न नहुने धारणा राख्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !